Jankari Kendra
२३ भाद्र २०८३, मंगलवार
Worldlink

जनताको समस्या बुझ्न भेष बदलेर घुम्थे राजा महेन्द्र

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७४, कार्तिक, २३
जनताको समस्या बुझ्न भेष बदलेर घुम्थे राजा महेन्द्र

काठमाडौँ । राजा महेन्द्र जनताका गुनासा एवं समस्या सुन्न र बुझ्न कहिलेकाहीँ आफैँ पनि सडकमा निस्किन्थे ।

प्रशासनिक निकाय र कर्मचारीले जनतालाई दु:ख दिएको उनलाई पटक्कै मन पर्दैनथ्यो । विसं २०१९ भदौ महिनाको कुरा हो । म राजदरबारको संवाद सचिवालयमा काम गर्थें । कार्यालयका हाकिम आफू नजिकका मानिसहरूलाई सतर्क रहन नेवारी भाषामा खासखुस गरिरहेका थिए । आफू हाकिमको नजिकको मानिस परिएन, फेरि मलाई नेवारी भाषा बोल्न आउँदैनथ्यो, बुझ्न पनि त्यति राम्रोसँग बुझ्दिनथेँ । त्यस दिन डराएको र बडो अनुशासित ढंगले कर्मचारीहरू आ–आफ्नो काममा खटिएका थिए ।

वास्तवमा अघिल्लो दिनको राजा महेन्द्रको कदमले उनीहरूलाई झस्काएको रहेछ । प्रशासन त्यतिबेला जनताको नजरमा अलिक बदनाम थियो । विभिन्न किसिमका गुनासा र उजुरी परेपछि राजा महेन्द्रले नेपाल प्रहरीका आईजीपी जीबी याकथुम्बालाई हटाएर उनको ठाउँमा ढुण्डीराज शर्मालाई नियुक्त गरेका थिए । यसो गर्दा पनि तल्लो तहमा व्याप्त भ्रष्टाचार कम नभएको उजुरी राजाकहाँ परिरहेका थिए । असनबाट राजदरबारतर्फ फर्किंदै गरेका राजाको मनमा लागेछ, आफैँ यसो परीक्षण र निरीक्षण किन नगर्ने ?

त्यही सोचेर अघिल्लो राती ११ बजे राजा महेन्द्र कार्यालयको काम सकेर ‘मुड फ्रेस’ गर्न भनेर आफैँले मोटर चलाएर दरबारबाहिर निस्किएका रहेछन् । यसको जानकारी दरबारको सम्बन्धित निकायलाई पनि थिएन । चिसो हावा खाँदै टुँडिखेल, नयाँसडक, इन्द्रचोक हुँदै असनबाट उनी राजदरबारतर्फ फर्किंदै रहेछन् । राजा आफ्नो मोटरको हेड लाइट निभाएर बिस्तारै असनबाट अगाडि बढिरहेका थिए ।

गणेशस्थानमा सेन्ट्री बसेका प्रहरीले गाडी रोकेछन् । सेन्ट्रीले अगाडिको बत्ती बाल्न भनेछन् । राजाले नम्र हुँदै आफ्नो मोटर बिग्रिएकाले बनाउँदा बनाउँदै राती भयो, आज यत्तिकै भयो, भोलि बत्ती बनिहाल्ने भएकाले छाडिदिन आग्रह गरेछन् । तर पनि ती प्रहरीले मानेनछन् ।

राजाले खल्तीबाट १० रुपियाँ झिकेर तिनको हातमा थमाउने प्रयास गरेछन् । तर, प्रहरीले त्यो रकम लिनै मानेनछन् र नजिकै अन्नपूर्ण मन्दिरको दक्षिणमा रहेको प्रहरी चौकीका हबल्दारलाई खबर गरेछन् । प्रहरी हबल्दार आएर कुराकानी गर्न थालेपछि सेन्ट्री बसेका प्रहरी किनारा लागे । राजाले चाहिँ १० होइन, २० रुपियाँ हातमा थमाइदिएछन् । पैसा पाउनासाथ प्रहरी हबल्दारले सेन्ट्री बसेका प्रहरीलाई ‘छोड्दे, जान दे’ भन्दै चौकीतर्फ फर्किएछन् ।

त्यसपछि राजा मोटर हुइँकाएर राजदरबार पुगे । तत्काल आईजीपी ढुण्डीराज शर्मालाई फोन सम्पर्क गरी ‘अहिले नै तिमी अन्नपूर्ण मन्दिरको दक्षिणमा रहेको प्रहरी चौकीमा गई त्यहाँ कार्यरत प्रहरी हबल्दारलाई जागिरबाट हटाऊ’ भन्ने निर्देशन दिए ।

साथै, असनमा सेन्ट्रीमा बसेको इमानदार प्रहरीलाई प्रोत्साहनस्वरूप एक तह बढुवा गर्न पनि निर्देशन दिए । प्रहरी आईजीपी शर्माले सोहीबमोजिम गरी दरबारमा जाहेर गरेपछि भोलिपल्ट कर्मचारी वृत्तमा खलबली मच्चिएको थियो । राजा महेन्द्रले आमनागरिकको भेषमा छड्के गरिरहेको थाहा पाएपछि कर्मचारी वृत्त अत्तालिनु स्वाभाविक पनि थियो ।

राजा महेन्द्र दण्ड–सजाय र पुरस्कारको सवालमा नमुना राजा नै थिए । असल र इमानदार राष्ट्रसेवकलाई उनले पुरस्कार, विभूषण, बढुवा र नगद बक्सिस मात्र होइन, घर, घडेरी र खेतीयोग्य जमिन पनि थुप्रो बाँडेका थिए ।

ईश्वरी ज्ञवालीद्वारा प्रस्तुत रेवतीरमण खनालको स्मरण,नेपाल साप्ताहिकबाट

Top Changing Nepal

युट्युब सट्स