सुन तस्करीको नयाँ रुट नाथुला
काठमाडौं २० जेठ । नेपालमा साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्यामा संलग्नहरू पक्राउ परेपछि संगठित सुन तस्कर गिरोहले वैकल्पिक मार्ग प्रयोग गरेको छ ।
नेपालमा उच्च तहका प्रहरी अधिकृत नै समातिएपछि र पछिल्लो समय सीमा क्षेत्रमा समेत कडाइ थालिएपछि अन्तरदेशीय गिरोहले चीन–भारत व्यापारका लागि १२ वर्षअघि सञ्चालनमा आएको सिक्किमको नाथुला मार्ग प्रयोग गरेको हो । भारत, सिलिगुडीमा शुक्रबार बरामद ३२ किलो सुन नाथुला हुँदै चीनबाट भित्रिएको भारतको केन्द्रीय राजस्व गुप्तचर विभागले दाबी गरेको छ ।
भारतीय प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएअनुसार सुनसहित प्रवीण समराव फदम, धनाजी साहेव राव बाबर र अक्षय हरिदास पक्राउ परेका छन् । तस्करीमा संलग्न तीनै जना महाराष्ट्रका बासिन्दा हुन् ।
उनीहरूले कम्मरमा बाँधिएको विशेष किसिमको पेटीभित्र सुन लुकाएर महाराष्ट्र लैजान लागेका थिए । भारतीय गुप्तचर विभागको दाबीअनुसार तस्करले विगतमा नेपाल हुँदै सुन भारत पुर्याउँथे तर नेपाल सरकारले कडाइ गरेपछि वैकल्पिक मार्ग रोजेका हुन् ।
भारतीय सुरक्षा निकायले नाथुला मार्गबाट पहिलोपटक सुन तस्करी भएको दाबी गरेको छ । भारतीय सुरक्षा अधिकारीलाई उद्धृत गर्दै सिलिगुडीबाट प्रकाशित अखबारले जनाएअनुसार यसअघि चीनबाट भुटानको बाटो हुँदै भित्रिएको सुन गुप्तचरले बरामद गरेको थियो । २०१५ को मे अन्तिम साता बागडुग्रा विमानस्थलका अध्यागमन अधिकारीले तीन किलो सुनसहित चण्डीगढका अंकुर सोनी र अमित बर्मालाई पक्राउ गरेका थिए ।
अधिकारीहरूले सुन तस्करले बैंककबाट ल्याएको सुन बागडुग्रा हुँदै दिल्ली पुर्याउन खोजेको बताएका थिए । पक्राउ परेकामध्ये बर्माको ट्राभल हिस्ट्री केलाउँदा उनले बारम्बार बैंकक–बागडुग्रा उडान गरेको भेटिएको थियो ।
स्रोतका अनुसार पश्चिम बंगालको दोस्रो ठूलो सहर सिलिगुडी सुन तस्करीको ‘ट्रान्जिट’ हो । सिलिगुडीमा सुन संकलन गरेर भारतको अन्य सहरमा पठाइन्छ । भारतबाट सिंगापुरलगायत देशमा समेत सुन तस्करी हुने गरेको भारतीय सञ्चारमाध्यमले दाबी गरेका छन् ।
गत वर्ष भारत, चीन र भुटानको त्रिदेशीय विन्दु दोक्लममा भारत–चीन द्वन्द्वपछि केही समय अवरुद्ध बनेको नाथुला मे १ बाट सञ्चालनमा आएको थियो । जुन ११ देखि कैलाश मानसरोवरको यात्रासमेत खुल्ने अधिकारीहरूले बताएका छन् । ‘सिल्क रुट’ को रूपमा बहुचर्चित नाथुला नाका करिब ४४ वर्षपछि सन् २००६ जुलाई ६ तारिखदेखि सञ्चालनमा आएको थियो ।
भारत–चीन युद्धअघि नाथुला हुँदै भारतले डटपेन, घडी, अन्न, सुती कपडा, खाने तेल साबुन, भवन निर्माण सामग्री आदि चीन पठाउँथ्यो । उताबाट रेशम, सुन, चाँदी, बहुमूल्य पत्थर आदि ल्याउँथ्यो । हाल भारतले फलाम, नुन, पशुजन्य पदार्थलगायत ४५ वटा वस्तु चीन निर्यात गर्दै आएको छ । चीनले भारततर्फ ऊन, हर्बल, इलेक्ट्रोनिक उपकरणलगायतका वस्तु पठाउँदै आएको छ । कान्तिपुरबाट
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना
रेमिट्यान्स अब सिधै इसेवा खातामा प्राप्त गर्न सकिने

