विदेशी औषधि परीक्षण गर्ने प्रयोगशाला नेपालीको ज्यान
काठमाडौं २४ जेठ । विदेशमा उत्पादित नयाँ–नयाँ भ्याक्सिन र औषधिको प्रभावकारिता जाँच्न नेपालीलाई प्रयोग गर्ने गरिएको छ । बर्सेनि हजारभन्दा बढी संघसंस्थाले नेपालीमाथि अनुसन्धान गर्दै आएकोमा केही औषधि, इन्जेक्सन, भ्याक्सिन र मेडिकल डिभाइस परीक्षण पनि हुने गरेको हो ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसार सन् २०१७ मा मात्र परिषद्बाट ५०० भन्दा बढी संस्थाले नेपाली जनतामा अनुसन्धान गर्न अनुमति लिएका छन् । सन् २०१८ को अप्रिलसम्म चार महिनामा मात्रै परिषद्बाट एक सय ७६ संस्थाले अनुसन्धानका लागि अनुमति लिइसकेका छन् ।
यसबाहेक मेडिकल कलेजलगायत ३० संस्थाले पनि स्वास्थ्य अनुसन्धानको अनुमति दिने गर्छन् । ती संस्थाले परिषद्ले जत्तिकै संख्यामा अनुमति दिने गरेको परिषद्का अध्यक्ष डा. अञ्जनीकुमार झाले नयाँ पत्रिकालाई बताए ।
ललितपुरका २० हजार बालबालिकामाथि टाइफाइडको भ्याक्सिन परीक्षण
हाल ललितपुरका २० हजार बालबालिकामाथि टाइफाइडविरुद्धको ‘टाइभ्याक भ्याक्सिन’ परीक्षण भइरहेको छ । मुख्यतः पाटन अस्पतालमा आउने नौ महिनादेखि १६ वर्षसम्म उमेरका बालबालिकालाई यो भ्याक्सिन लगाउने गरिएको छ ।
अमेरिका र बेलायतमा बनेको यो औषधिको प्रभाव कस्तो हुन्छ भनेर परीक्षण गर्न नेपालका बालबालिका छानिएको हो । अमेरिकाको युनिर्भसिटी अफ मेरिल्यान्ड एन्ड स्कुल अफ मेडिसिनको सेन्टर फर भ्याक्सिन डेभलपमेन्ट र बेलायतको युनिभर्सिटी अफ अक्सफोर्डअन्तर्गतको अक्सफोर्ड भ्याक्सिन गु्रपको सहकार्यमा यो भ्याक्सिन नेपाल ल्याइएको हो । ‘हो, पाटन अस्पतालमा यो भ्याक्सिन परीक्षण भइरहेको छ । यसमा अन्यथा केही पनि छैन,’ परीक्षणमा संलग्न डा. बुद्ध बस्नेतले नयाँ पत्रिकालाई बताए । अफ्रिकी मुलुक मराबीमा पनि यो भ्याक्सिनको परीक्षण भइरहेको छ ।
लागुऔषध प्रयोगकर्तामाथि परीक्षणमा हेपाटाइटिस सीविरुद्धको भ्याक्सिन
काठमाडौं र ललितपुरका सुधारगृहमा रहेका तीन सय लागुऔषध प्रयोगकर्तामा ‘हेपाटाइटिस सी’विरुद्धको भ्याक्सिन परीक्षण भइरहेको छ । अमेरिकी फर्मास्युटिकल्स कम्पनी सेरिङ प्लो कर्पोरेसनले उत्पादन गरेको ‘डाइरेक्ट एक्टिङ एन्टिभाइरल भ्याक्सिन’ परीक्षणका लागि नेपाल ल्याइएको हो ।
हेपाटाइटिस सीविरुद्धको यो भ्याक्सिनले काम गर्छ कि गर्दैन, अथवा शरीरमा कस्तो प्रभाव पार्छ भनेर अनुसन्धान गर्न अरूलाई होइन लागुऔषध प्रयोगकर्तालाई छानिएको छ । लागुऔषध प्रयोगकर्तालाई सहयोग गर्न सञ्चालन भइरहेका सुधारगृहको सहकार्यमा यो भ्याक्सिन परीक्षण भइरहेको छ ।
परीक्षणका अगुवा अनुसन्धानकर्ता डा. समीरमणि दीक्षितले भने, ‘लागुऔषध प्रयोगकर्तामाथि काम गर्ने समुदायको पहलमा उनीहरूकै सदस्यमाथि भ्याक्सिनको प्रभावकारिता परीक्षण गरिएको हो, पाकिस्तानमा पनि यसको परीक्षण भइरहेको छ ।’
ललितपुरको लेलेस्थित आनन्दवन अस्पतालमा कुष्ठरोगसम्बन्धी नयाँ औषधि
ललितपुरको लेलेस्थित आनन्दवन अस्पतालमा कुष्ठरोगविरुद्धको औषधि परीक्षणको तयारी भइरहेको छ ।
कुनै पनि बिरामीलाई यस्तो औषधि दिँदा यो औषधि परीक्षणमा छ तपाईंलाई स्वीकार छ कि छैन भनेर सहमति पनि लिनुपर्छ । तर, आनन्दवन अस्पताल प्रशासनले यो औषधिको विषयमा जानकारी दिन चाहेन, बिरामीको संख्या खुलाउनसमेत चाहेन । ‘धेरै जानकारी दिन मिल्दैन, सेन्सेटिभ विषय हो ।
ट्रायल सुरु भइसक्या छैन, प्रोसेसमै छ,’ अस्पतालका एक चिकित्सकले नाम नबताउने सर्तमा भने, ‘औषधि नयाँ हो, नाम पनि छैन ।’ उनका अनुसार उक्त औषधि भने नेपाल ल्याइसकिएको छ । परीक्षणका लागि नेपाल ल्याइएको कुष्ठरोगविरुद्धको औषधिको नामसमेत खुलाइएको छैन । तर, यो औषधिको उत्पादनकर्ता पनि अमेरिकी कम्पनी नै भएको आनन्दवन अस्पतालले जनाएको छ । नयाँपत्रिकाबाट
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
१० दिनदेखि कृष्णभीरमा पहिरो, पृथ्वी राजमार्ग अझै ठप्प
चितवनमा सार्वजनिक हुँदै चाङ्गान नेभो क्यू ०५, टेस्ट ड्राइभका लागि तयार
भोटेकोशी बाढीपछि राहत कोषमा १३ अर्बभन्दा बढी रकम जम्मा
ट्रेन्डिङ
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
२०८३ भदौ २३ गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

