श्रीनगर। भारतीय वायुसेवाले पाकिस्तानको सीमाभित्र छिरेर आक्रमण थालेको छ । पुलावामामा आतंकवादी आक्रमण भएको २ दिनपछि भारत पाकिस्तानको सीमाभित्र प्रवेश गरेको हो । गएराती साढे ३ बजे भारतीय वायुसेना पाकिस्तान छिरेको भारतीय मिडिया ‘दैनिक भास्कर’ले लेखेको छ ।
भास्करको समाचारअनुसार भारतीय वायुसेनाले भारत पाकिस्तान सीमाको नियन्त्रण रेखा (एलओसी) पार गरेर पाकिस्तान स्वामित्वको कश्मिर (पीओकेमा बम आक्रमण गरेको हो ।
वायुसेनाको मिराज–२००० लडाकु विमानले हजार किलो बम खसालेको बताइएको छ । समाचारमा भारतले गरेको आक्रमण ‘आतंकवादी’माथि भएको दावी गरिएको छ । भास्करले कैयौं ‘आतंकवादी क्याम्प’ नष्ट भएको दावी गरेको छ ।
वायुसेना सूत्रको हवाला दिँदै लेखिएको समाचारमा यो आक्रमण जैश–ए–मोहम्मदविरुद्ध भएको दावी गरिएको छ । भारतीय वायुसेनाले गएको १४ फेब्रुअरीमा ४० भारतीय सैनिकको ज्यान जानेगरी भएको आतंकवादी आक्रमणको जवाफमा यो आक्रमण गरिएको दावी गरेको छ ।
बालाकोट, चकोटी, मुजफ्फराबादमा रहेका जैश ए मोहम्मदका क्याम्प नष्ट गरिएको वायुसेनाले दावी गरेको समाचारमा उल्लेख छ । बालाको पाकिस्तानको खैबर पख्तुनख्वाह पन्तमा पर्छ । आक्रमण गरिएको स्थान भारत पाकिस्तान सीमाको नियन्त्रण रेखा (एलओसी) भन्दा ५० किलोमिटर पाकिस्तानी भूमिभित्र पर्छ ।
पाकिस्ताी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफूरले एक ट्वीट गर्दै भारतीय सेनाले पाकिस्तानको मुजफ्फराबादमा घुसपैठको कोसिस गरेको बताएका छन् ।
जम्मु कश्मिरका पूर्व मुख्यमन्त्री तथा नेशनल कन्फ्रेन्सका नेता उमर अब्दुल्लाले भारतको कारवाहीलाई लक्षित गर्दै भने ‘यदि यो कुरा साँचो हो भने यो सानो आक्रमण होइ । यो हाम्रो अपेक्षाभन्दा टाढाको कुरा हो ।’
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २३ फेब्रुअरीमा भारत र पाकिस्तानबीच निकै खराब हालत भएको बताएका थिए । उनले अमेरिकी प्रशासन दुवै देशको सम्पर्कमा रहेको र यो दुश्मनी चाँडै सकिने विश्वास व्यक्त गरेको ३ दिनमै भारत पाकिस्तानको सीमाभित्र छिरेको हो ।
यस आक्रमणमा ३०० जना मारिएको हुन सक्ने भारतीय सञ्चारमाध्यमहरुको दावा रहेको छ





