काठमाडौं । संघ, प्रदेश र स्थानीय तहमा कर्मचारीको स्थायी समायोजन भए पनि स्थानीय तहमा ठूलो संख्यामा कर्मचारी दरबन्दी रिक्त हुन पुगेको छ । मुलुकका ७५३ वटा स्थानीय तहमा १६ हजार कर्मचारी रिक्त रहेकाले सेवा प्रवाहमा समेत गम्भीर समस्या परेको छ ।
विकट जिल्लाका कतिपय स्थानीय तह भने पूर्णरूपमा कर्मचारीविहीन बन्न पुगेको जनप्रतिनिधिहरूले बताएका छन् । समायोजनपछि कर्मचारीहरू भरिने विश्वास स्थानीय तहको थियो तर अधिकांश कर्मचारीहरूले समायोजनका क्रममा संघलाई नै रोजेपछि स्थानीय तहमा ठूलो संख्यामा दरबन्दी रिक्त रहन पुगेको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रलायका निमित्त सचिव सुरेश अधिकारीले स्थानीय तहमा ठूलो संख्यामा कर्मचारी रिक्त रहेकाले सेवा प्रवाहमा गम्भीर समस्या परिरहेको बताए । मन्त्रालयका अनुसार ५० भन्दा बढी स्थानीय तहमा प्रमुख प्रशासनिक अधिकृत छैनन् । ती निकायमा निमित्तको भरमा प्रशासन चलाउनुपर्ने बाध्यता छ ।
मन्त्रालयका निमित्त सचिव अधिकारीले स्थानीय तहमा रिक्त कर्मचारी पूर्तिका लागि छिटोभन्दा छिटो लोकसेवा आयोगद्वारा भर्ना प्रक्रिया खुला गर्नुपर्ने बताए । स्थानीय तहमा रिक्त रहेका १६ हजार दरबन्दीमध्ये प्रशासनका नासु, खरिदार र जेटीएको संख्या अत्यधिक छ । कर्मचारी नहुँदा कैयौं नगरपालिका र गाउँपालिकामा वडा सचिव पदसमेत रिक्त हुन पुगेको छ । वडा सचिव फ्रन्ट लाइनमा रहेर सेवा दिने पद हो ।
स्थानीय तहले आफ्नो निकायमा रिक्त रहेका पदहरूको विवरणसहित माग गरेर पठाएमा हामी संघीय लोकसेवालाई पदपूर्तिका लागि पत्र पठाउने तयारीमा छौं सुरेस अधिकारी, निमित्त सचिव
स्थानीय तहमा ठूलो संख्यामा कर्मचारी रिक्त रहे पनि प्रदेशमा प्रदेश लोकसेवा आयोग गठन नभएकाले उनीहरूले भर्ना प्रक्रिया सञ्चालन गर्न सकेका छैनन् । प्रदेश लोकसेवा आयोग गठन नहुँदासम्म संघीय लोकसेवा आयोगद्वारा नै पदपूर्ति गर्नुपर्ने कानुनी प्रावधान छ । संघीय मामिला मन्त्रालयले संघीय लोकसेवा आयोगद्वारा पदपूर्ति गराउने लक्ष्यका साथ सबै स्थानीय तहसँग रिक्त दरबन्दीको विवरणसहितको मागपत्र पठाउन पत्राचार गरिसकेको छ तर स्थानीय तहले पदपूर्तिको माग गर्दै मन्त्रालयमा पत्र नपठाएकाले पदपूर्ति प्रक्रिया सुचारु हुन सकेको छैन ।
‘स्थानीय तहले आफ्नो निकायमा रिक्त रहेका पदहरूको विवरणसहित माग गरेर पठाएमा हामी संघीय लोकसेवालाई पदपूर्तिका लागि पत्र पठाउने तयारीमा छौं,’ मन्त्रालयका निमित्त सचिव अधिकारीले भने ।
स्थानीय तथा प्रदेश तहमा समायोजन भएका कर्मचारीहरूले समायोजनपत्र बुझे पनि उनीहरू सम्बन्धित तहमा पुग्न सकेका छैनन् । स्थानीय तह र प्रदेशमा समायोजनको पत्र लिएका कतिपयले भने सच्याउन माग गर्दै पुनः निवेदन दिएपछि झनै समस्या परेको मन्त्रालयले जनाएको छ । समायोजनपत्र बुझेकालाई मन्त्रालयले दबाब दिएर सम्बन्धित ठाउँमा पठाउन नसकेकाले उनीहरू नपुगेको मन्त्रालयकै अधिकारीहरूको भनाइ छ ।
rajdhanidaily.com







