चितवन । नारायणगढ–मुग्लिन खण्ड अन्तर्गत जुगेडीमा बिहीबार दिउँसो पौने दुई बजे रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको ज्यान गएको छ । मोटरसाइकल पछाडि बस्ने अन्य दुई जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारी अनुसार काठमाडौंबाट नारायणगढ तर्फ आइरहेको ना ३० प ९५६९ नम्बरको मोटरसाइकल जुगेडीमा रोकिराखेको ना ७ ख ४९५१ नम्बरको ट्रकमा ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा सख्त घाइते मोटरसाइकल चालक नवलपुरको कावासोती ९ बस्ने नरबहादुर थापाको चितवन मेडिकल कलेजमा उपचारका क्रममा ज्यान गएको हो । मोटरसाइकलको बीचमा बस्ने थापाका ५ वर्षीय छोरा विवश र पछाडि बस्ने २७ वर्षीय अमृत बोहोराको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।





