Jankari Kendra
११ भाद्र २०८३, बिहीबार
Worldlink

ओली अप्ठ्यारोमा, सत्ता ढाल्न बन्यो यस्तो रणनीति

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७७, जेष्ठ, ३०
ओली अप्ठ्यारोमा, सत्ता ढाल्न बन्यो यस्तो रणनीति

काठमाडौं, ३० जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले २८ जेठमा संसदमा बोलेको बोली सुनेर उनका समर्थकहरुले हाँसी हाँसी बेन्च ठटाए । कोरोना भाइरसबारे ओलीले गगन थापाको प्रश्नमा दिएको जवाफको तारिफ गर्ने ओलीभक्तहरुमध्ये उनी पक्षका सांसदहरु नै थिए । तर, नेकपाभित्रका ओलीइतरका नेताहरुलाई भने त्यो बोलीले लज्जित बनाएको रहेछ । जुन उनीहरुले आन्तरिक भेटका क्रममा राखेका छन् ।

हिजो नेकपा उपाध्यक्ष बामदेव गौतमको भैंसेपाटीस्थित निवासमा तीन नेताको महत्वपूर्ण कुराकानी भएको छ । गौतम निवासमा वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पुगेका थिए । पूर्व एमालेका ओलीइतरका यी प्रभावशाली नेताहरुले पछिल्लो राजनीतिक घटनाक्रमको समिक्षा मात्र गरेनन् रणनीति समेत बनाएको बुझिएको छ ।

कोरोना भाइरसको रोकथामका लागि सरकारले चालेका कदमको सर्वत्र आलोचना भइरहेको र नेकपालाई दुरगामी नोक्शानी पुगेको विषयमा नेताहरुले गम्भीर मन्थन गरेका थिए । स्वास्थ्य सामाग्री खरिदलगायतको विवादास्पद कदम तत्कालका लागि ओझेलमा परेपनि भविष्यमा त्यसले नेकपालाई असर गर्ने निष्कर्षमा पनि नेताहरु पुगे । ओलीबाट अति भो भन्ने सम्म भएको छ । उनलाई रुसमा कम्युनिस्ट शासन पतन गराउने मिखायल गोर्वाचोभसँग तुलना सम्म गरे ।
नेकपाभित्रका ओलीइतरको समुहबाट ओली संकटमा परिसकेको निष्कर्ष निस्किइसकेको छ । तर, नयाँ नक्शाले ओलीको उचाई बढाएको र सत्ता चलाउँदा उल्टो असर हुनेतर्फ पनि नेताहरु सचेत भएको बुझिएको छ । त्यसैले अब ओलीविरुद्धको गतिलो अस्त्र अमेरिकी च्यालेन्ज कर्पोरेशन एमसीसी नै हुने देखिएको छ ।

एमसीसी कुनै हालतमा यथास्थितिमा पारित गर्न नदिनेमा ओलीइतरका नेताहरु अडान लिएर बसेका छन् । ओली कुनै हालतमा पारित गरेरै छाड्ने अडानमा छन् । सचिवालय र स्थायी कमिटिबाट एमसीसी पारित नहुने निश्चितप्रायः छ । अब ओलीले संसदीय दल या सांसदहरुको स्वविवेकमा छाड्ने गरी प्रस्ताव ल्याउने तयारी गरेका छन् । यसैमा ठुलो रडाको हुने देखिएको छ ।

ओलीइतरका नेताहरु अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले हालै यसबारे छलफल गरिसकेका छन् । पार्टीको नीति र निर्णयविपरित जान नदिने गरी तयारी गरेका छन् । त्यसमा झलनाथ खनाल र बामदेव गौतम पनि सहमत छन् । अब ओलीलाई चारजना हेभिवेटसँग एकसाथ जुध्नुपर्ने हुनसक्छ । पार्टीमा निर्णय नगरी एमसीसीबारे बलमिच्याईं गरेमा सरकारबाट फिर्ता बोलाउन वाध्य पार्ने देखि कारबाहीसम्म गर्नेगरी ओलीइतरका नेताहरुको तयारी भइसकेको बुझिएको छ ।

माहोल पनि ओलीको विपक्षमा बन्दै गएको छ । आर्थिक रुपमा चौपट भएपछि सडकमा असन्तुष्टिका स्वरहरु देखिनथालेको छ । ओलीविरुद्ध जनमत बढ्दै गएको मौकामा केही न केही कदम चाल्ने तयारी समेत भइसकेको छ । फलाम तातेको बेलामा ठोक्नुपर्छ भन्दै मौकाको प्रतिक्षा ओलीविरोधीको छ । त्यसैले एमसीसी पारित गरिसक्नुपर्ने १५ असारभित्र केही न केही हलचल हुने छाँटकाँट देखिदैछ । आफूविरोधी पार्टीका हेभिवेटसँग ओलीलाई यसपटक जुध्न भने हम्मे पर्नसक्छ । कतिपयले दुर्घटनाको खतरा औल्याइसकेका छन् ।

Top Changing Nepal

युट्युब सट्स