एजेन्सी । विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले कोरोना भाइरस (कोभिड-१९) बाट पछिल्लो समय महिला, बालबालिका र युवाहरुमा पनि जोखिम उच्च भएको ठहर गरेको छ । विकासशील र अल्पविकसित मुलुकहरूमा कोभिड-१९ बाट कम उमेरका युवा, महिला र बालबालिकाहरु बढी प्रताडित देखिएको भन्दै डब्ल्युएचओले सचेत हुन आग्रह गरेको छ ।
कोरोना संक्रमण भएर ज्यान गएकामध्ये झण्डै २५ प्रतिशत ५० वर्षभन्दा कमका र ६० वर्षभन्दा माथिको उमेर समूहका संक्रमित मध्ये ४५ प्रतिशतको ज्यान गएको तथ्यांक सार्वजनिक गर्दै डब्ल्युएचओले युवाहरूलाई सचेत रहन आग्रह गरेको हो । यसअघि ५० वर्ष भन्दा माथिका उमेर समूहमा बढी सक्रिय देखिएको भाइरसबाट संक्रमित र ज्यान जानेमा धेरै ७० वर्ष उमेर माथिका थिए ।
डब्ल्युएचओका प्रमुख डा. थेडरोस एडहानोम गेब्रियससले महामारीबाट ज्यान जानुको संख्याले भन्दा त्यसपछिको अवस्थाले यी समूहमा अझ ठूलो समस्या र संकट ल्याउने तर्फ सचेत रहनुपर्ने बताए । स्वास्थ्य संकटको घडीमा पर्याप्त सुविधा पुर्याउन नसक्दा विशेष गरी गर्भवती, सुत्केरी र नवजात शिशु झनै जोखिममा रहेको प्रमुख गेब्रियससले बताए ।
जेनेभामा भएको कार्यक्रममा संगठनका आकस्मिक स्वास्थ्य विभाग प्रमुख डाक्टर माइकल रायनले लकडाउन खुकुलो बनाउने नाममा धेरै देशहरुमा भौतिक दूरीलाई बेवास्ता गरिएका कारण निर्मूल भइसकेका देशमा समेत पुनः संक्रमण देखिएको बताएका छन् ।





