काठमाडौं, १९ फागुन । यही फागुन २३ गते बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुने भएको छ । प्रधानमन्त्री ओलीविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपा दाहाल नेपाल समूह र जनता समाजवादी पार्टी, नेपालले संयुक्त रुपमा अविश्वासको प्रस्ताव दर्ता गर्ने सहमति गरेको उच्च स्रोतले जनाएको छ ।
नयाँ प्रधानमन्त्रीमा भने कांग्रेस सभापति शेरबहादुर देउवाको नाम अघि सारिएको पनि स्रोतले दाबी गरेको छ । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम असंवैधानिक भनेर छुट्टा छुट्टै आन्दोलनमा होमिएका प्रमुख तीन संसद् पूनःस्थापना भएपछि ओलीविरुद्ध शक्ति एकजुट भएर अघि बढ्नुपर्नेमा सहमत भएका हुन् । र, उनीहरुबीच सरकार बनाउने विषयमा समेत मोटामोटी सहमति भैसकेको स्रोतको दाबी छ ।
प्रधानमन्त्री ओलीले आफूले राजीनामा नदिने बरु संसदमै फेस गर्ने बताईरहेको बेला यता तीन दलबीच भने उनलाई हटाउनको लागि नयाँ सहमति बनिसकेको छ । आजमात्रै चितवनको एक कार्यक्रममा कांग्रेस सभापति देउवाले आफूले सत्ताको भाग नखोज्ने तर जिम्मेवारी आईहाले नभाग्ने भनेर अर्थपूर्ण अभिव्यक्ति दिएका थिए । उनले वरिष्ठ नेता रामचन्द्र पौडेललाई समेत सानो चित्त नबनाउन सुझाएका थिए । नेता पौडेलले कांग्रेस सत्तामा जाँदा राम्रो सन्देश नजाने भन्दै पाँच वर्ष नै प्रतिपक्षमा बस्न सुझाएका थिए । तर, जवाफमा देउवाले आफूले भाग नखोज्ने, तर जिम्मेवारी आए नभाग्ने भन्दै सरकारको नेतृत्व गर्नेबारे संकेत दिएका थिए ।
ReportersNepal






