ओली चुनावसम्म प्रधानमन्त्री रहनेमा ढुक्क
प्रधानमन्त्री केपी शर्मा ओली झन् आक्रामक बन्दै गएका छन् । एमाले ब्युँतिएपछि उनले पार्टीभित्र आफ्ना विरोधीहरुलाई घुमाउरो तरिकाले कारबाही गरेका छन् । यतिसम्मकी माधव नेपाल पक्षधरहरुले एमाले छाडेपनि फरक नपर्ने संकेत गर्दै अभिव्यक्ति दिइरहेका छन् । शनिबार बोल्दै केन्द्रीय कमिटी बैठकमा अनुपस्थित भए कारबाहीको चेतावनी समेत दिए । गत हप्ता मात्र ओलीले आफू र महासचिव इश्वर पोखरेलबाहेक सबै पदाधिकारीको पद खारेज गरे । ७० वर्ष उमेरहद विधानबाट हटाए, स्थायी कमिटी सदस्यहरुलाई घटुवा गरी केन्द्रीय सदस्यमा सिमित पारे । यो सबै नेपाल समूहप्रति लक्षित ओलीको रणनीति थियो ।
ओली नेपाल समूहविरुद्ध किन यति आक्रामक बन्दैछन् ? एमाले विभाजन नै भइहालेमा पनि फरक नपर्ने शैलीमा किन प्रस्तुत भइरहेका छन् ?
प्रतिनिधि सभामा ओली अध्यक्ष रहेको नेकपा एमालेसँग १२० सिट छ । जुन बहुमतका लागि १८ सिट अपुग हो । ओलीले बहुमतका लागि राष्ट्रिय जनता पार्टीलाई विकल्पका रुपमा राखेका छन् । त्यसका लागि राजपाको महन्थ ठाकुर पक्षसँग भित्री रुपमा छलफल समेत बढाएका छन् ।
नेकपाभित्रको माधव नेपाल समूह बाहिरिएपनि ३० सिट मात्र घट्ने ओली समूहको बुझाई छ । प्रत्यक्ष निर्वाचितको सांसद पद खारेज भएपनि समानुपातिकतर्फ नाम परिवर्तन हुनसक्छ । त्यसपछि ओलीले अन्य दलसँग समिकरण बनाएर जानसक्ने सम्भावना बलियो छ । उनी पाँच वर्ष प्रधानमन्त्रीको कार्यकाल पूरा गर्नेमा ढुक्क छन् । तीन वर्ष पूरा भइसकेको छ । बाँकी समय २२ महिना हो । एक वर्षपछि चुनावको माहोल बनिसक्छ ।
ओलीसँग अर्को अस्त्र भनेको राजपालाई प्रधानमन्त्री पद दिएर समिकरण बनाउने पनि छ । राजपा अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाएर बाहिर बसेर या सरकारमा सहभागी भएर समर्थन गर्ने अस्त्र पनि ओलीसँग छ । यसकारण पनि उनी ढुक्क छन् ।
विरोधीहरुलाई एकपछि अर्को प्रहार गर्दै ओलीले सत्ता सुरक्षित राख्दै आएका छन् । यतिसम्मकी उनीविरुद्ध अझै अविश्वासको प्रस्ताव दर्ता गर्ने साहस कसैले गर्न सकेको छैन । माओवादी केन्द्रले पनि ओली सरकारलाई दिइआएको समर्थन फिर्ता लिन सकेको छैन । यसबाट ओली अझै मजबुत रहेको बुझ्न सकिन्छ ।
राज्यका महतवपूर्ण निकायमा गएको तीन वर्ष ओलीले निकटस्थहरुलाई व्यवस्थापन गरिसकेका छन् । सबैजसो निकायमा उनको एकछत्र प्रभाव छ । ओली अर्ली इलेक्शनका लागि पनि तयार देखिएका छन् ।
अर्ली इलेक्शन भएमा दुई तिहाई ल्याएर सिंहदरबार छिर्ने ओलीको दाबी सार्वजनिक रुपमा आइसकेको छ । विगतमा पनि उनले सत्ताबाट हट्दा बहुमत ल्याएर सिंहदरबार छिर्छु भनेका थिए । जुन साकार पारे । अब ओलीले सत्ताबाहिर बस्नुपरेको अवस्थामा पनि राजपलाई प्रधानमन्त्री दिएर चुनावमा जाने रणनीति बनाएको बुझिएको छ । यसकारण पनि ओली ढुक्क देखिएका छन् ।
सम्बन्धित समाचार
मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश
सरकारले सदनमा प्रस्तुत गरयो ४ प्रतिस्थापन बिधेयक
विपन्न परिवारको स्वास्थ्य बीमा गाउँपालिकाले तिर्ने, मैवा खोलाले ल्यायो ४३ करोड ६१ लाखको बजेट
सोमबार सम्भव हुन नसकेको रास्वपाको बन्द सत्र आजवाट सुरू हुने
आजदेखि राष्ट्रिय स्वतन्त्र पार्टीको बन्द सत्र सुरू