काठमाडौं । प्रतिनिधिसभाको बैठक आज शुक्रबार दिउँसो २ बजे बस्ने जनाइएको छ ।
सरकारले बैठकबाट नागरिकता विधेयक फिर्ता लिने तयारी गरेको छ । मन्त्रिपरिषद्को बैठकले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको थियो । साथै, आज गृहमन्त्री बालकृष्ण खाणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५’ फिर्ता लिने सम्भावित कार्यसूची छ ।
संघीय संसदका महासचिव डा. भरतराज गौतमले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा राज्य व्यवस्था तथा सुशासन समितिका ज्येष्ठ सदस्य मुकुन्द न्यौपानेले ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय -पहिलो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७९ पेश गर्नेछन् । त्यसपछि गृहमन्त्रीले विधेयक फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
त्यस्तै, बैठकमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले ‘योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७६ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावना रहेको छ ।