काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीले विज्ञप्ती जारी गर्दै गभर्नर महाप्रसाद अधिकारीलाई बर्खास्त गर्न माग गरेको छ ।
संगठनले गभर्नर अधिकारी दलीय जिम्मेवारीमा रहेको भन्दै बर्खास्तको माग गरेको हो । उनी नेकपा एमालेको अर्थ विभागको सदस्यमा खोटाङका एम अधिकारी रहेको जनाइएको छ ।
एम अधिकारी भन्ने व्यक्ति गभर्नर नै भएको दावी गर्दै अनेरास्ववियू क्रान्तिकारीले उनलाई बर्खास्त गर्न माग गरेको हो । यद्यपि, एमालेले भने एम अधिकारी भन्ने व्यक्ति गभर्नर नै हुन् वा होइनन् भन्ने बारे केही खुलाएको छैन ।
अध्यक्ष पञ्चा सिंहले विज्ञप्तिमा भनेकी छन्, ‘उनले प्राप्त गरेको दलीय जिम्मेवारीले नेपाल राष्ट्र बैंक ऐन २०५८ को उल्लेखित दफाको उल्लंघन गरी कानुनको धज्जी उडाएको हुँदा उनलाई तुरुन्त बर्खास्त गर्न नेपाल सरकार समक्ष हामी जोडदार माग गर्दछौं। ’