काठमाडौं । नेपाली कांग्रेसकी सांसद पुष्पा भुसाल गौतमले उपसभामुखका लागि उम्मेदवारी दर्ता गराएकी जनाइएको छ ।
भुसाल पाँचदलीय गठबन्धनकी साझा उम्मेदवार हुन् । उनले केहीबेर अघि संसद् सचिवालयमा पुगेर उपसभामुखका लागि मनोनयन दर्ता गरेकी हुन् ।
बुधबार सभामुख अग्निप्रसाद सापकोटाले उपसभामुख निर्वाचनका लागि ३१ असारमा मतदान गर्ने कार्यसूची सार्वजनिक गरेका थिए । जसअनुसार नेतृ भुसालले मनोनयन दर्ता गरेकी हुन् । उनको प्रस्तावकमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ र समर्थकमा सांसद लक्ष्मीकुमारी चौधरी छन् ।
प्रमुख प्रतिपक्ष एमालेले भने उपसभामुखबारे छलफल गर्न नेकपा एमाले र लोकतान्त्रिक समाजवादी (लोसपा)बीच छलफल गर्ने जनाएको छ । दुई वर्षअघि उपसभामुख शिवमाया तुम्वाहाङ्फेले पदबाट राजीनामा दिएपछि सो पद रिक्त रहेको छ । साथै, यो संसदको कार्यकाल चार महिना मात्र बाँकी छँदा उपसभामुखको निर्वाचन हुने भएको हो ।