‘लम्पी स्किन’ले गोरु मरेपछि किसानलाई खेत जोत्न समस्या
काठमाडौं । तनहुँमा लम्पी स्किन रोगका कारण गोरु मरेपछि कृषकलाई खेत जोत्न समस्या भएको छ । धान रोपाइँको चटारोका बीचमा सो रोगबाट गोरु मरेपछि कृषकलाई समस्या भएको हो ।
जिल्लाका दशवटै पालिकाका चार हजार एक सय ७६ पशुमा लम्पी स्किन रोग फैलिएकामा ४७ पशु मरेका छन् । यसमध्ये ४३ गोरु रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँका प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिए । उनले भने, “खेतीपातीको समयमा गोरु मर्दा कृषकलाई खेत जोत्न समस्या भएको छ । गोरुको विकल्प ट्र्याक्टर भए पनि कतिपय किसानले ट्र्याक्टर किन्न सक्ने अवस्था छैन ।”
उनका अनुसार लम्पी स्किन सङ्क्रमण भएकै अवस्थामा काममा लगाउँदा त्यसैका कारण पशुको मृत्यु भएको हुनसक्ने देखिएको छ । “लम्पी स्किन सङ्क्रमण हुँदैमा मृत्यु हुने होइन, बिरामी भएको अवस्थामा काम गर्नुपर्दा पशुलाई गाह्रो भएर मृत्यु भएको देखिएको छ”, डा श्रेष्ठले भने ।
लम्पी स्किनविरुद्ध जिल्लामा दश हजार पाँच सय पशुलाई खोप लगाइसकिएको छ । स्थानीय तहको समन्वयमा लम्पी स्किन सङ्क्रमणबाट बचाउन दश हजार पाँच सय स्वस्थ पशुलाई खोप लगाइएको श्रेष्ठले जानकारी दिए । उनले भने, “यो खोप सङ्क्रमित भएको पशुलाई नभई सङ्क्रमण नभएका पशुलाई रोगबाट बचाउन लगाउने हो ।”
सबैभन्दा बढी व्यास नगरपालिकाका पशुलाई खोप लगाइएको छ । व्यासमा तीन हजार पशुलाई खोप लगाइएको कार्यालयले जनाएको छ । खोप लगाउनका लागि स्थानीय तहले आफैँ खरिद गरेका थिए ।
नगरपालिकाले कृषकको गोठमै पुगेर खोप लगाइदिएको नगरपालिकाका पशुपन्छी विकास उपशाखा प्रमुख डा मनोज विश्वकर्माले जानकारी दिए। पशुमा पूर्ण खोप कार्यक्रमअन्तर्गत नगरपालिकाको वडामा खोपकर्ताको रुपमा खटिएका भेटेरिनरी प्राविधिकलाई पुनः यस आकस्मिक अवस्थामा खोप लगाउन परिचालित गरिएको उनले जानकारी दिए ।
उक्त रोगबाट धेरैजसो व्यास नगरपालिका–१ चारकुने, व्यास नगरपालिका–१३ बेलबास, पोखरीभज्याङ, व्यास नगरपालिका– ११ फराकचौर र व्यास नगरपालिका–७ मा गाईभैँसी सङ्क्रमित भएका थिए ।
जिल्लाको म्याग्दे गाउँपालिकाले दुई हजार गाईभैँसीलाई उक्त खोप लगाएको छ । गाउँपालिकाले सातवटै वडामा पालिएका पशुलाई खोप लगाएको पशु सेवा शाखा प्रमुख डा विनय शाहले जानकारी दिए । उनका अनुसार पहिलो चरणमा दूध उत्पादन धेरै हुने वडाका पशुलाई प्राथमिकतामा राखेर खोप लगाइएको हो ।
उनले भने, “व्यावसायिक रुपमा गाईभैँसीपालन गरिएका र दूध उत्पादन बढी गर्ने कृषकको गोठमै पुगेर खोप लगाएका छौँ ।” पहिलो चरणमा दुई हजार खोपको मात्रा आएकाले सोहीअनुसार खोप लगाइएको र आवश्यक परे थप खोप खरिद गरिनेछ ।
भानु नगरपालिकाका केही ठाउँमा भने कृषकले पशुलाई यो खोप लगाउन आनाकानी गरेका छन् । अन्य पालिकामा भने सहजरुपमा खोप लगाइएको छ ।
सम्बन्धित समाचार
अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०२६ को प्लेटिनम प्रायोजक बन्यो जी–सेभेन एग्रिकल्चर
नेपालको जलवायु संकटबारे विश्वको ध्यानाकर्षण गराउँछौँ: प्रधानमन्त्री शाह
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
भोटेकोशी बाढीपछि राहत कोषमा १३ अर्बभन्दा बढी रकम जम्मा
प्रधानमन्त्री राहतकोषमा धवलागिरि सहकारीको पाँच लाख सहयोग
विपद् व्यवस्थापनमा नेपाल र नेशनल मेडिकल कलेजको ७५ लाख सहयोग
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
लुब्रिकेन्टबारे प्राविधिक ज्ञान बाँड्दै लक्ष्मी ल्युब आयल, पाँच शहरमा ७०० बढी सहभागी
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान एक्स ५००० इ इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर
