ड्रागन खेतीमा रमाउँदै वडा सदस्य लिम्बू
फिक्कल । इलामको चुलाचुली गाउँपालिका–२ का वडा सदस्य माइतराज लिम्बूलाई पछिल्लो समय फुर्सद छैन। बिहान उठेदेखि बेलुकीसम्म उनी काममै व्यस्त हुन्छन्। दिउँसो प्रायः जनताको काममा व्यस्त रहने लिम्बू बिहान र बेलुका आफ्नै व्यवसायमा रमाउँछन्।
दिउँसो प्रायः जनतासँगै सुखदुःखमा समय बिताउने लिम्बू बिहान र बेलुका भने आफ्नो ड्रागन खेतीको स्याहारसुसारमा व्यस्त देखिन्छन्। उनले छथरे टोलमा ६ कट्ठा जमिनमा विगत ४ वर्षदेखि ड्रागन फल खेती सुरु गरेका छन्। जनताको काम गरेर बाँकी समय त्यही ड्रागन बगानमा रमाउँदै सफल व्यवसायीका रुपमा आफूलाई समर्पित गराउँदै आएका छन्।
चुलाचुलीमा नै पहिलोपटक व्यावसायिक ड्रागनखेती सुरु गरेका लिम्बूको ड्रागन बगान हेरिरहुँलाग्दो छ। उनको ड्रागन बगानमा अहिले सेतो र रातो गरी दुई प्रजातिका दुई सय खम्बामा चार सयवटा ड्रागन फलका बोट छन्। सबै बोटले उत्पादनसमेत दिन थालेका छन्।
‘छथरे ड्रागन फल कृषि फार्म’ दर्ता गरी दुई लाखको लगानीमा ड्रागन फलको खेती सुरु गरेका हुन् उनले। उनलाई उत्पादन नहुँदासम्म भने फाइदा हुँदैन जस्तो लागेको थियो। बजारको समेत समस्या हुने हो कि भन्ने चिन्ता थियो। तर अहिले उत्पादन राम्रो हुनाका साथै घरबाटै बिक्री हुन थालेपछि उनी हर्षित छन्। उनले फलका अतिरिक्त बिरुवा उत्पादनको कामसमेत गर्दै आएका छन्। उनले यो वर्ष मात्र दुई लाख १० हजार आम्दानी गरेका छन्। फल बिक्री गरेर एक लाख ३० हजार र बिरुवा बिक्री गरेर ८० हजार आम्दानी गरेको उनले बताए।
‘जनताको काम गरेर उब्रेको समय ड्रागन खेतीमा नै बिताउने गरेको छु। आम्दानीसमेत राम्रै हुँदो रहेछ’, सदस्य लिम्बूले भने, ‘वार्षिक रुपमा दुई लाख बढी आम्दानी हुने रहेछ। यसैले नानीहरु पढाउन र घरखर्च चलाउन मज्जाले पुगेको छु।’ उनले परम्परागत खेतीलाई विस्थापन गर्दै नयाँ प्राजतिको खेती गर्न एकैपटक चार सय बिरुवा रोपेका थिए। उनले पैसा कमाउन विदेश जानैपर्ने बाध्यता नरहेको बताए। ‘युवामा पैसा कमाउनकै लागि विदेश जानु पर्दैन। आफैँ लगानी गरेर गाउँमै स्वरोजगार बन्न सकिन्छ। यही सन्देश दिन मैले व्यावसायिक ड्रागन खेती सुरु गरेको हुँ’, उनले भने।
लिम्बूले उत्पादन गरेको ड्रागन फल नजिकै झापाको दमक बजारमा नै बिक्री गरेको छ। सरदरमा प्रतिकेजी चार सयदेखि पाँच सयमा बिक्री हुने उनले बताए। विरुवा भने स्थानीय स्तरमा नै बिक्री हुने गरेको छ। बिरुवा पनि प्रतिगोटा दुई सय ५० सम्ममा बिक्री हुने गर्छ। लिम्बू २०७९ को स्थानीय तह निर्वाचनमा नेकपा (एमाले)बाट वडा सदस्यमा निर्वाचित भएका हुन्।
ड्रागन फूल फुलेको ३०औँ दिनमा फल पाकेर खानका लागि योग्य हुन्छ। टिपेर राख्दा १०-१५ दिनसम्म नबिग्रिने हुन्छ। गर्मी समयको जेठदेखि असोजसम्म मुख्य रुपमा फल दिने ड्रागन फल वर्षमा चार लटसम्म फल्ने गर्छ। यस फलमा फूल फुल्ने, कोपिला लाग्ने, फल फल्ने क्रम एकसाथ चलिरहन्छ। ड्रागन रोपेको १६ वर्षसम्म उत्पादन लिन सकिन्छ।
जग्गामा ड्याङ बनाएर पिलर गाडेर, पातलो हारमा मिलाएर लगाउन सकिने ड्रागन पूर्वी नेपालमा नौलो फल हो। यसको बोटको हाँगा कटिङ गरेर रोपिन्छ। एउटै बोटबाट पनि अरू बिरुवाको वृद्धि विकास गर्न सकिन्छ। एक पटक बिरुवा लगाएपछि समय समयमा सामान्य गोडमेल र सिँचाइबाहेक अन्य गोडमेल गर्नु नपर्ने र रोपेको २ वर्षदेखि लगातार लामो समयसम्म फल दिने हुनाले अन्य खेती तुलनामा यसको खेतीबाट राम्रो आम्दानी लिन सकिने लिम्बूको भनाइ छ।
ड्रागन फलका लागि उष्ण र उपष्ण क्षेत्र उत्तम मानिन्छ। यसको खेती दक्षिण मोहडा भएको प्रशस्त घाम लाग्ने र समुन्द्री सतहदेखि एक हजार पाँच सय मिटरसम्म उचाइ भएको जमिनमा गर्न सकिन्छ। यो फल वार्षिक ५० देखि एक सय ५० सेन्टिमिटर वर्षा र २० देखि ३० सेल्सियस तापक्रम हुने ठाउँमा खेती गर्दा धेरै लाभ लिन सकिन्छ। नेपालमा यो फललाई सिँचाइ सुविधा भएको ठाउँ तराई, भित्री मधेस र मध्य पहाडी क्षेत्रमा खेती गर्न सकिने विज्ञहरुको निष्कर्ष छ। – रासस
सम्बन्धित समाचार
प्रधानमन्त्री बालेन शाह आज भारत भ्रमणमा जाँदै
रेडक्रसको सदस्यता अब अनलाइनबाटै, मोबाइल एपबाट लिन र नवीकरण गर्न सकिने
आठौँ कृषि यान्त्रीकरण एक्स्पोको आज दोस्रो दिन, पहिलो दिन ९ हजार ६६६ ले गरे अवलोकन
आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी आजदेखि सुरु
नेप्सेमा ७ अंकभन्दा बढीको गिरावट, कारोबार रकममा भने सामान्य सुधार
यान्त्रीकरण प्रदर्शनीमा राउटे समुदायका उत्पादनलाई स्थान, रैथाने प्रविधिलाई प्राथमिकता
ट्रेन्डिङ
नेपाल बैंकको मोबाइल एपबाटै बिना धितो २ लाख रुपैयाँसम्म कर्जा लिन सकिने
यान्त्रीकरण प्रदर्शनीमा दैनिक ५० जनालाई उपहार, अन्तिम दिन मिनी ट्रेलर जित्ने मौका
क्यूजे मोटर नेपालद्वारा पारस खड्का ब्रान्ड एम्बेसडरको रूपमा नियुक्त
आज देखि काठमाडौँ उपत्यकामा पशु वधवाला तथा मासु जाँच ऐन लागू
२०८३ मंसिर ३ गते बिहिबार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
