पिच्कारीले एसिड छ्यापेर भागे पछि रिताको यो हालत
दाङ-बिहीबार साँझ सात बजे। लोडसेडिङ समय। घोराही–२, गुलरियाकी रीता चौधरी पसल बन्द गर्ने तयारीमा थिइन्। मोटरसाइकलमा एक ग्राहक (युवक) आयो। मास्क लगाएको उसले मोटरसाइकलबाट ओर्लिएर एक खिल्ली चुरोट माग्यो। रीताले चुरोट दिइन्। फेरि नमकिन माग्यो।
नमकिन निकालेर दिँदै थिइन्, रीताको अनुहारमा पिचकारीलले एसिड ऊ झटपट भागिहाल्यो । रीता एसिडको जलनले जोडजोडसँग चिच्याइन् ।
अनुहारको दायाँ भागदेखि छातीसम्म एसिडले भिज्यो । उनी छटपटाउन थालिन् । नजिकै कोही थिएनन् ।
‘पसल बन्द गर्छु भनेर ढोका बन्द गर्ने तयारीमा थिएँ,’ अस्पतालमा रहेकी उनले नागरिकसँग भनिन्, ‘चुरोट किन्ने बहाना बनाएर मलाई एसिड छर्केर भाग्यो ।’ झमक्कै साँझ परिसकेको र मास्क लगाएकाले त्यो अपराधीलाई रीताले चिन्न सकिनन् ।
‘एक त लाइन थिएन, त्यसमाथि उसले मास्क लगाएको थियो,’ उनले भनिन्, ‘पिचकारीबाट एसिड हानेर बाहिरतिर दौडियो ।’
सानो छोराले आमाको छटपटी देखेर अत्तालिँदै मामा राजेशलाई फोन गरेर बोलाए । पाँच मिनटमै राजेश पुग्दा रीताको अनुहारको दायाँ भागदेखि छातीसम्मै पूरै डढिसकेको थियो । कपाल समेत झरेको थियो । ‘म भान्जाले बोलाएको पाँच मिनटमै पुगेको थिएँ,’ राजेशले भने, ‘त्यो बेला दिदी जलनले छटपटाइरहनुभएको थियो ।’
राजेशले तत्काल रीतालाई राप्ती उपक्षेत्रीय अस्पताल पुर्याए । अस्पतालले लगत्तै कोहलपुर रेफर गरिदियो । ‘राति १ बजेतिर अस्पताल पुर्याएका हौं,’ राजेशले भने, ‘दिदीलाई छ्यापिएको एसिडै हो भन्ने कोहलपुर अस्पतालले पुष्टि गरिसकेको छ ।’
एसिड प्रहारबाट सख्त घाइते रीताको शिरदेखि छातीसम्म दायाँ भाग जलेको छ । एसिडले रीताको कपाल झरेको छ । दायाँ गाला घाँटी हुँदै छातीको दायाँ भाग पूरै जलेको छ । बेहोस अवस्थामा कोहलपुर पु¥याइएकी रीता शुक्रबार बिहान मात्र बोल्न सकेको इप्रका, कोहलपुरका हवल्दार रणबहादुर बोगटीले जानकारी दिए ।
‘टाउकाको दायाँ भागबाट तल एसिडले जलेको छ,’ उनले भने, ‘दायाँ गाला हुँदै छातीसम्म जलेको छ, राति बेहोस अवस्थामा उहाँलाई ल्याइएको थियो, बिहानदेखि बल्ल सामान्य बोल्न सक्ने हुनुभएको छ ।’
एसिडले जलेको भागमा प्लास्टिक सर्जरी गरेर उपचार गर्ने तयारी भइरहेको डा. विनोद कर्णले बताए । एसिडले जलेको भाग कति गहिरो छ, भन्ने यकिन गरेर सोहीअनुसार उपचार थाल्ने उनले जनाए । ‘सामान्य छाला मात्र डढेको रहेछ भने छाला काटेर फालिदिए मात्रै पनि उपचार सम्भव हुन्छ,’ उनले नागरिकसँग टेलिफोनमा भने, ‘भित्रैसम्म डढेको अवस्था रहेछ भने जलेको मासु पूरै फालेर अन्तको मासु काटेर हाल्नुपर्छ ।’
प्रहरीले एसिड छ्याप्ने व्यक्ति र घटनाको कारण पत्ता लगाइसकेको छैन । रीताको परिवार विगतमा छिमेकीसँगका झगडा यसको कारण हुन सक्ने दाबी गर्छ । सोही आधारमा प्रहरीले अनुसन्धान तीव्र पारेको जनाएको छ ।
परिवारका अनुसार जग्गा मिचेको विषयमा छिमेकीसँग बेलाबेला विवाद हुँदै आएको थियो रीताको । एसिड प्रहार भएको अघिल्लो दिन पनि साँधसीमाको झगडा परेको थियो । ‘जग्गाको विषयमा झगडा हुन्थ्यो,’ रीताका बाबु रामप्रसादले भने, ‘तर यही कारण हो भन्न सकिने अवस्था छैन ।’
छिमेककै एक व्यक्तिले पनि पटकपटक रीतालाई त्रास दिने गरेको उनको परिवारले जनाएको छ । ती व्यक्तिसँग पनि रीतासँग जग्गा सीमाकै विवाद भइरहन्थ्यो । उनका श्रीमान विदेश छन् । राति घरमा ढुंगा हानेर तर्साउने गरिएको यसअघि भएको रीताका बुबा रामप्रसादले बताए ।
‘केही दिनदेखि छोरीको घरमा ढुंगा हानेर तर्साउनेजस्ता काम भइरहेका थिए,’ उनले भने, ‘मैले यस्तो भइरहेको छ भनेर प्रहरीमा पनि जानकारी गराएको थिएँ ।’
यसअघि जिल्लामा एसिड प्रहारको घटना भएको थिएन । जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाशराज शर्माले आफूहरूलाई प्राप्त सूचनाका आधारमा विभिन्न कोणबाट अनुसन्धान थालेको र तत्काल अभियुक्त पक्राउ पर्ने बताए।
नागरिकबाट
सम्बन्धित समाचार
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
देशभर मनसुनी वायुको प्रभाव : केही स्थानमा भारी वर्षाको सम्भावना
देशभर मनसुनी वायुको प्रभाव कायमै : केही स्थानमा भारी वर्षाको सम्भावना
ट्रेन्डिङ
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
दक्षिण कोरियामा शताब्दीको सबैभन्दा बढी तापक्रम रेकर्ड, पुग्यो ४२.५ डिग्रि सेल्सियस
नेप्से परिसूचकमा सामान्य अंकको गिरावट, ४ अर्ब ५४ करोडभन्दा बढीको कारोबार
मिड-भ्यालीको ‘बिल्ड नेपाल ह्याकाथन २०२६’मा बाँदर आतंकको समाधान खोज्ने ‘इनोभिजन समूह’ विजेता

