बारा । बारा जिल्लाको निजगढ नगरपालिका ५ स्थित प्रतिक्षा टोलमा सिसिटिभी जडान गर्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । शुक्रबार राति करेन्ट लागेर घाइते भएका निजगढ नगरपालिका ८ बकैया टोल निवासी ३४ वर्षीय रवि सापकोटाको वीरगंजस्थित बयोद्या अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
सार्वजनिक स्थानमा सिसिटिभी जडान गर्ने काममा संलग्न रहेका सापकोटा अचानक करेन्ट लागेपछि गम्भीर घाइते भएका थिए । उनलाई तत्काल उपचारका लागि वीरगंज लगिएको थियो तर उपचारकै क्रममा मृत्यु भएको हो । प्रहरीले घटना बारे आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
सिसिटिभी जडानका क्रममा सुरक्षा सतर्कता नअपनाएको सम्भावना पनि प्रहरीको प्रारम्भिक अनुमानमा रहेको छ । यस घटनाले स्थानीय तहमा सार्वजनिक पूर्वाधार जडानका बेला सुरक्षाका उपायहरूमा ध्यान दिनुपर्ने आवश्यकतामाथि प्रश्न उठाएको छ ।