इटहरी । एमएडब्ल्यू अर्थमुभर्स प्रालिअन्तर्गत सञ्चालित जेसीबी नेपालले कोशी प्रदेशका ग्राहक, उद्योग व्यवसायी तथा सरोकारवालासँगको सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले इटहरीमा ‘जेसीबी ग्राहक सम्मान कार्यक्रम’ आयोजना गरेको छ।
कार्यक्रममा जेसीबीका ग्राहक, विभिन्न संघ–संस्थाका प्रतिनिधि, निर्माण तथा उद्योग क्षेत्रसँग सम्बन्धित व्यवसायीहरू तथा जेसीबी नेपाल टिमका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कम्पनीका अनुसार कार्यक्रमको मुख्य उद्देश्य जेसीबीका ग्राहकहरूले वर्षौंदेखि देखाउँदै आएको विश्वास, सहयोग र साझेदारीप्रति कृतज्ञता व्यक्त गर्नुका साथै ग्राहकसँगको सम्बन्धलाई अझ मजबुत बनाउनु रहेको थियो। साथै भरपर्दो उपकरण, प्रभावकारी आफ्टर सेल्स सेवा तथा दीर्घकालीन ग्राहक सन्तुष्टिप्रतिको आफ्नो प्रतिबद्धता पुनः पुष्टि गर्ने अवसरका रूपमा कार्यक्रम सफल भएको कम्पनीले जनाएको छ।
कार्यक्रमको प्रमुख आकर्षणका रूपमा जेसीबी उपकरण, पार्ट्स, सर्भिस तथा वार्षिक मर्मत सम्झौता सेवामा निरन्तर विश्वास गर्दै आएका ग्राहकहरूलाई सम्मानपत्र प्रदान गरिएको थियो। कम्पनीले ग्राहकहरूको निरन्तर साथ र विश्वासकै कारण जेसीबी नेपालले बजारमा आफ्नो उपस्थिति थप बलियो बनाउँदै आएको जनाएको छ।
त्यसैगरी नेपाल हेभी इक्विपमेन्ट एसोसिएसन, निर्माण व्यवसायी संघ, क्रसर उद्योग संघ, इट्टा उद्योग संघ तथा स्थानीय उद्योग वाणिज्य संघका प्रतिनिधिहरूलाई मायाको चिनो प्रदान गर्दै सम्मान गरिएको थियो। कम्पनीका अनुसार निर्माण, भारी उपकरण तथा औद्योगिक क्षेत्रमा यी संस्थाहरूले खेलेको भूमिकाको कदरस्वरूप सम्मान गरिएको हो।
कार्यक्रमको अर्को आकर्षण नयाँ जेसीबी मेसिन खरिद गर्ने ग्राहकलाई चाबी हस्तान्तरण समारोह रहेको थियो। उक्त समारोहले जेसीबीका उपकरणप्रति ग्राहकहरूको बढ्दो विश्वास, बजार माग तथा कम्पनीको सेवा सञ्जालप्रतिको भरोसालाई प्रतिबिम्बित गरेको कम्पनीले जनाएको छ।
यसैक्रममा नेपाल हेभी इक्विपमेन्ट एसोसिएसनका अध्यक्ष उमाकान्त शर्माले जेसीबी थ्रीडीएक्स सुपर ब्याकहो लोडरको सरप्राइज बुकिङ गरेका थिए। कम्पनीका अनुसार यसले निर्माण तथा भारी उपकरण क्षेत्रमा जेसीबीको प्रविधि, कार्यक्षमता र विश्वसनीयताप्रति रहेको भरोसालाई थप पुष्टि गरेको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै जेसीबी नेपालका प्रमुख कार्यकारी अधिकृत तेजप्रसाद सुबेदीले ग्राहकहरू कम्पनीका लागि केवल उपकरण खरिदकर्ता नभई दीर्घकालीन साझेदार रहेको बताए। उनले विश्वस्तरीय उपकरण, प्रामाणिक आफ्टर सेल्स सेवा तथा विश्वासमा आधारित सम्बन्धमार्फत नेपालको पूर्वाधार विकासमा योगदान पुर्याउन कम्पनी प्रतिबद्ध रहेको उल्लेख गरे।
उनले ग्राहक, साझेदार तथा सरोकारवालाहरूको निरन्तर विश्वास र सहयोगले नै कम्पनीलाई अगाडि बढ्न प्रेरणा दिएको बताउँदै भविष्यमा पनि गुणस्तरीय सेवा र समाधान प्रदान गर्न निरन्तर प्रयासरत रहने बताए।
अन्तरक्रिया, सम्मान समारोह तथा सामूहिक भोजनसहित सम्पन्न भएको उक्त कार्यक्रमले ग्राहक, संघ–संस्थाका प्रतिनिधि तथा जेसीबी नेपालबीचको सम्बन्धलाई थप सुदृढ बनाएको कम्पनीको भनाइ छ।
एमएडब्ल्यू अर्थमुभर्स प्रालि नेपालमा जेसीबीका निर्माण तथा भारी उपकरणहरूको आधिकारिक वितरक हो। कम्पनीले देशभर फैलिएको सेवा सञ्जाल, प्रामाणिक पार्टपुर्जा तथा व्यावसायिक आफ्टर सेल्स सेवामार्फत नेपालको निर्माण तथा पूर्वाधार विकास क्षेत्रमा योगदान पुर्याउँदै आएको छ।


