Jankari Kendra
१३ श्रावण २०८३, बुधबार
Worldlink

पहिरो, बाढी र वर्षाका कारण देशभरका विभिन्न राजमार्ग अवरुद्ध

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०८३, श्रावण, १३
पहिरो, बाढी र वर्षाका कारण देशभरका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौं । लगातारको वर्षा, पहिरो र बाढीका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडक खण्डमा सवारी आवागमन प्रभावित भएको छ। नेपाल प्रहरीले आज बिहान ८ः४० बजेसम्मको विवरण सार्वजनिक गर्दै केही सडक पूर्ण रूपमा अवरुद्ध भएको तथा केही सडकमा रातिको समयमा सवारी सञ्चालनमा प्रतिबन्ध लगाइएको जनाएको छ।

प्रहरीका अनुसार काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडक खण्डमा सम्भावित बाढीको जोखिमका कारण बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

यस्तै, कान्तिलोकपथमा पनि बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा प्रतिबन्ध लगाइएको छ। इलाम नगरपालिका–९ स्थित मेची राजमार्गमा निरन्तर वर्षाका कारण सडक हिलाम्मे भएपछि सवारी आवागमन पूर्ण रूपमा बन्द भएको छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाअन्तर्गत अरनिको राजमार्गको जिरोकिलो र कोदारी क्षेत्रमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।

दोलखाको तामाकोशी गाउँपालिका–५ किर्नेटारस्थित लामासाँघु–रामेछाप सडक खण्डमा सामाकोशी खोलाको बहावले सडक कटान गरेपछि उक्त सडकमा पनि सवारी आवागमन ठप्प भएको छ। रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टे क्षेत्रमा त्रिशूली नदीले सडक कटान गरेपछि पासाङ ल्हामु राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।

त्यसैगरी, ललितपुरको बागमती गाउँपालिका–३ स्थित कान्तिलोकपथमा सुक्खा पहिरो खस्दा सडक बन्द भएको छ। रोल्पाको परिवर्तन गाउँपालिका–१ अन्तर्गत घोराही–थवाङ शहीद राजमार्गमा आज बिहान सुक्खा पहिरो खसेपछि सवारी आवागमन अवरुद्ध भएको छ।

लमजुङको मस्र्याङ्दी गाउँपालिका–४ अन्तर्गत बेँसीसहर–च्यामे–मनाङ सडक खण्ड पनि पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। प्रहरीले वर्षायाममा पहिरो, बाढी र सडक कटानको जोखिम उच्च रहने भएकाले यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडकको पछिल्लो अवस्थाबारे जानकारी लिन तथा आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

Top Changing Nepal

युट्युब सट्स