Jankari Kendra
१ कार्तिक २०८३, शनिबार

अन्तिम मतदाता नामावली सार्वजनिक, देशभर १ करोड ९० लाखभन्दा बढी मतदाता

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८३, कार्तिक, १
अन्तिम मतदाता नामावली सार्वजनिक, देशभर १ करोड ९० लाखभन्दा बढी मतदाता

काठमाडौं । निर्वाचन आयोगले २०८३ असोज ३० गते अन्तिम मतदाता नामावली सार्वजनिक गरेको छ। आयोगका अनुसार देशभर कुल १ करोड ९० लाख ९१ हजार ३७५ जना मतदाता कायम भएका छन्। जसमध्ये ९७ लाख ६९ हजार ८२५ पुरुष, ९३ लाख २१ हजार ३३६ महिला र २१४ अन्य मतदाता रहेका छन्।

आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ पछि मतदाता नामावलीमा नयाँ नाम दर्ता, विवरण सच्याउने, ठेगाना स्थानान्तरण गर्ने तथा मृत्यु भएका र दोहोरो नाम भएका मतदाताको नाम हटाउनेलगायतका कार्य सञ्चालन गर्दै आएको विज्ञप्तिमा उल्लेख छ। सोही प्रक्रियाअन्तर्गत असोज १ गते प्रकाशित प्रारम्भिक मतदाता नामावलीमा कुल १ करोड ९२ लाख ९४ हजार ९६१ जनाको विवरण समावेश गरिएको थियो।

प्रारम्भिक नामावलीमाथि दाबीविरोध तथा विवरण जाँचबुझ गरी आवश्यक संशोधन र अद्यावधिक गरेपछि कुल २ लाख ३ हजार ५८६ जनाको नाम हटाइएको आयोगले जनाएको छ। यसमध्ये मृत्यु भएका ४५ हजार ३२२ जना र दोहोरो नाम, नागरिकता त्याग वा रद्द तथा दाबीविरोधलगायतका कारणले १ लाख ५८ हजार २६४ जनाको नाम हटाइएको विज्ञप्तिमा उल्लेख छ।

अघिल्लो प्रतिनिधि सभा सदस्य निर्वाचनमा कायम मतदाता सङ्ख्याको तुलनामा हालको अन्तिम मतदाता नामावलीमा १ लाख ८७ हजार ६८६ जना मतदाता वृद्धि भएको बताइएको छ। आयोगले अन्तिम मतदाता नामावली सर्वसाधारणको सहज पहुँचका लागि आफ्नो आधिकारिक वेबसाइट www.election.gov.np मा प्रकाशित गरेको जनाएको छ। साथै, प्रदेश, जिल्ला, निर्वाचन क्षेत्र तथा स्थानीय तहगत मतदाता सङ्ख्याको विवरणसमेत वेबसाइटमा उपलब्ध गराइएको छ।

अन्तिम मतदाता नामावली बमोजिम मतदाता संख्या

Top Changing Nepal

ट्रेन्डिङ

युट्युब सट्स