आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी आजदेखि सुरु
काठमाडौं। काठमाडौंको भृकुटीमण्डपमा आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी–२०८३ सुरु भएको छ। शुक्रबारदेखि सुरु भएको तीनदिने प्रदर्शनीको उद्घाटन समारोहमा सहभागी सरोकारवालाहरूले कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि, उत्पादन लागत न्यूनीकरण तथा कृषि उपजको आयात प्रतिस्थापनका लागि कृषि यान्त्रीकरणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् ।

उनीहरूले नेपालको भौगोलिक अवस्था र किसानको आवश्यकताअनुसारका कृषि यन्त्र तथा प्रविधिको विकास र प्रयोग विस्तार गर्नुपर्ने बताउँदै स्वदेशमै कृषि उपकरण उत्पादन गर्ने उद्योगलाई प्रोत्साहन गर्न सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको औँल्याएका छन् ।
उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले कृषि उपजको स्वदेशी उत्पादन र उत्पादकत्व बढाएर आयात प्रतिस्थापन गर्न सकिने बताए । भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/८३ मा खाद्य तथा कृषिसम्बन्धी वस्तुको आयात करिब चार खर्ब ४१ अर्ब रुपैयाँ पुगेको उल्लेख गर्दै उनले यसमा खाद्यान्नसँगै कच्चा खाद्य तेल, पशु आहार तथा प्रशोधनका लागि आयात गरिएका सामग्रीसमेत समावेश हुन सक्ने स्पष्ट पारे ।

किसानलाई भाषण र आश्वासनभन्दा उत्पादन बढाउने प्रविधि र साधन आवश्यक रहेको उनको भनाइ थियो । परम्परागत खेती प्रणालीलाई आधुनिक, व्यावसायिक र प्रविधिमैत्री कृषिमा रूपान्तरण गर्न कृषि यान्त्रीकरण महत्त्वपूर्ण आधार भएको उनले बताए ।
मन्त्री साहले कृषि मेसिनरी व्यवसायीलाई उपकरण आयात तथा बिक्रीमा मात्र सीमित नभई स्वदेशमै कृषि औजार, मेसिन, पार्टपुर्जा र प्राविधिक सामग्री उत्पादन गर्ने उद्योग विकासमा लाग्न आग्रह गरे । नेपाली भूगोल र किसानको आर्थिक क्षमताअनुसारका साना, किफायती तथा सहजै मर्मत गर्न सकिने कृषि उपकरण उत्पादनलाई प्राथमिकता दिनुपर्ने उनले बताए ।
स्वदेशी कृषि मेसिनरी उत्पादनलाई प्रोत्साहन गर्ने नीति, लगानीमैत्री वातावरण र प्रविधि हस्तान्तरणमा सरकारले सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले कृषि यान्त्रीकरणलाई कृषि र उद्योग जोड्ने महत्त्वपूर्ण आर्थिक क्षेत्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिए ।

नेपाल कृषि मेशिनरी व्यवसायी संघ (नामिया)का अध्यक्ष कृष्ण शर्माले नेपालमा कृषि यान्त्रीकरण प्रदर्शनीको सुरुवात वि.सं.२०७० मा मिनी टिलर प्रदर्शनबाट भएको स्मरण गर्दै अहिले प्रदर्शनी थप व्यवस्थित र आधुनिक बन्दै गएको बताए। यस वर्षको प्रदर्शनीमा बीउबिजनदेखि पशुपालन, मल, दाना, मौरीपालनलगायत कृषि क्षेत्रसँग सम्बन्धित विभिन्न कम्पनी तथा संस्थाको सहभागिता रहेको उनले जानकारी दिए।
प्रदर्शनी सफल बनाउन सहयोग गर्ने सरकारी तथा गैरसरकारी निकायलाई धन्यवाद दिँदै अध्यक्ष शर्माले कृषि यान्त्रीकरणलाई राष्ट्रिय प्राथमिकतामा राख्नुपर्ने बताए। उनले केन्द्रीयस्तरमा आधुनिक र बहुउपयोगी कृषि यान्त्रीकरण प्रदर्शनी हल निर्माण गर्नुपर्ने तथा हाल प्रयोग भइरहेको प्रदर्शनीस्थलको भौतिक अवस्था सुधार गर्नुपर्ने आवश्यकता औँल्याए ।

कृषि मेसिनरी आयातमा भन्सार छुट, किसानलाई उपकरण खरिदका लागि सहज ऋण, कृषि उपकरणको मर्मतसम्भारसम्बन्धी तालिम र सीप विकासमा सरकारले ध्यान दिनुपर्ने उनको माग थियो ।
ग्लोबल आइएमई बैंकका कार्यकारी निर्देशक सुरेन्द्रराज रेग्मीले किसान र प्रविधिलाई एउटै मञ्चमा जोड्ने काम गरेकोमा आयोजकलाई धन्यवाद दिए । कृषि क्षेत्रमा अपेक्षित उत्पादन र उत्पादकत्व हासिल हुन नसकेको अवस्थामा आधुनिक यान्त्रीकरणको प्रयोग विस्तार गर्नुपर्ने उनले बताए । नेपालको भौगोलिक अवस्था र खेती प्रणालीलाई ध्यानमा राखेर बैंकले कृषि क्षेत्रमा वित्तीय साझेदारको भूमिका निर्वाह गरिरहेको उनको भनाइ थियो ।
खाद्य तथा कृषि संगठन (एफएओ)का कार्यक्रम व्यवस्थापक दीपक तुलाधरले जलवायु परिवर्तन, श्रमिक अभाव र युवाहरूको कृषि क्षेत्रप्रतिको घट्दो आकर्षणका कारण कृषि यान्त्रीकरणको आवश्यकता बढ्दै गएको बताए । यद्यपि, आवश्यकताबिनाको यान्त्रीकरणभन्दा किसानको आवश्यकता र खेती प्रणालीअनुसार उपयुक्त प्रविधि प्रयोग गर्नुपर्नेमा उनले जोड दिए ।
एफएओले उत्पादन, भण्डारण र प्रशोधनका क्षेत्रमा काम गरिरहेको जानकारी दिँदै तुलाधरले साना किसानले महँगा उपकरण खरिद गर्न नसक्ने भएकाले उनीहरूलाई पनि यान्त्रीकरणको सुविधा उपयोग गर्न सक्ने व्यवस्था आवश्यक रहेको बताए ।

बागमती प्रदेश सरकारको कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालयका सचिव सुधिर श्रेष्ठले कृषि यान्त्रीकरण प्रवर्द्धनका लागि आगामी दिनमा पनि सहकार्य जारी रहने बताए । उनले कृषि उपकरण वितरण गर्दा अनुदानभन्दा आवश्यकता र उपयोगितालाई प्राथमिकता दिनुपर्ने धारणा राखे । अनुदानका कारण कतिपय स्थानमा आवश्यकताभन्दा बढी उपकरण पुगेको र प्रयोगविहीन अवस्थामा थन्किएको उल्लेख गर्दै उनले अनुदान प्रणालीलाई प्रभावकारी बनाउनुपर्ने बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जनकुमार श्रेष्ठले कृषि यान्त्रीकरणमा अनुदानको अत्यधिक प्रयोगले उपकरणको महत्त्व र गुणस्तरमा समेत असर पर्न सक्ने बताए । कृषि उपकरणको गुणस्तरमा व्यवसायीहरूले विशेष ध्यान दिनुपर्ने उल्लेख गर्दै उनले केही व्यवसायीका कारण समग्र क्षेत्रकै प्रतिष्ठा र गुणस्तर प्रभावित हुन नहुने धारणा राखे ।
राष्ट्रिय योजना आयोगका सदस्य देवेन्द्र गौचनले कृषि यान्त्रीकरणलाई कृषि क्षेत्रको रूपान्तरण, उत्पादन वृद्धि र लागत न्यूनीकरणसँग जोडेर अघि बढाउनुपर्ने बताए । कृषि क्षेत्रको विकासका लागि प्रविधिको प्रयोगसँगै नीतिगत स्पष्टता, लगानी र निजी क्षेत्रसँगको सहकार्य आवश्यक रहेको उनको भनाइ थियो ।
नेपाल कृषि अनुसन्धान परिषद्का प्रतिनिधिले कृषि यान्त्रीकरणको क्षेत्रमा पछिल्लो समय सकारात्मक काम भइरहेको उल्लेख गर्दै उत्पादन र उत्पादकत्व वृद्धि गर्न दिगो कृषि यान्त्रीकरणको प्रयोग विस्तार गर्नुपर्नेमा जोड दिए ।
कृषि, वन तथा पर्यावरण मन्त्रालयका सचिव राजेन्द्रप्रसाद मिश्रले पछिल्लो समय गाउँगाउँसम्म कृषि यान्त्रीकरणको पहुँच विस्तार हुँदै गएको र यसले किसानलाई खेतीपाती गर्न सहज बनाएको बताए । सरकारले पनि यस क्षेत्रमा ठूलो लगानी गर्दै आएको उल्लेख गर्दै उनले कृषि यान्त्रीकरण नीति पुनरावलोकन गर्नुपर्ने समय आएको धारणा राखे ।
अनुदान वितरणलाई प्रभावकारी बनाउनुपर्ने र कृषि उपकरणको मर्मतसम्भारलाई पनि प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो । उपकरण उपलब्ध गराएर मात्र नहुने भन्दै उनले त्यसको सञ्चालन र मर्मतका लागि आवश्यक जनशक्ति तथा सेवाको व्यवस्था गर्न व्यवसायीहरूलाई आग्रह गरे ।
नामियाकी उपाध्यक्ष सुनिता निमाफुकीले कृषि यान्त्रीकरणको विकासका लागि व्यवसायी, सरकार र किसानबीच सहकार्य आवश्यक रहेको बताइन् । कृषि उपकरणको पहुँच गाउँगाउँसम्म पुर्याउन, किसानलाई आधुनिक प्रविधिबारे जानकारी दिन तथा उपकरणको प्रयोग र मर्मतसम्भारसम्बन्धी सीप विकासमा ध्यान दिनुपर्ने उनको भनाइ थियो ।
स्वदेशी उत्पादनलाई विशेष प्राथमिकता
नेपाल कृषि मेसिनरी व्यवसायी संघका अनुसार मंसिर ४ देखि ६ गतेसम्म सञ्चालन हुने प्रदर्शनीमा नेपाल, भारत, चीनलगायत युरोपेली मुलुकका कम्पनीहरूको सहभागिता रहेको छ । प्रदर्शनीमा साना तथा ठूला गरी १४४ वटा स्टल रहेका छन् भने ९२ जना प्रदर्शक सहभागी छन् ।
स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘मेक इन नेपाल’ र ‘मेड इन नेपाल’ अन्तर्गतका कम्पनीलाई स्टल भाडामा ६० प्रतिशत छुटको व्यवस्था गरिएको आयोजकले जनाएको छ । राष्ट्रिय आविष्कार केन्द्रसहित १७ वटा स्वदेशी उत्पादक कम्पनीलाई निःशुल्क स्टल उपलब्ध गराइएको छ । त्यस्तै, नेपाल कृषि मेसिनरी व्यवसायी संघका सदस्य कम्पनीलाई ५० प्रतिशत छुट दिइएको जनाइएको छ ।
प्रदर्शनीमा कृषि मेसिनरी तथा उपकरण, हरितगृह, थोपा सिँचाइ, मल्चिङ, फगर, कृषि ड्रोन, कृत्रिम बौद्धिकता (एआई), बीउबिजन, कृषि प्रशोधन, अटोमेसन, पशुपन्छी तथा मत्स्यपालन, मौरीपालन, कफी खेती, मल तथा दानासम्बन्धी प्रविधि र उपकरण प्रदर्शनमा राखिएका छन् । ट्र्याक्टर, रोपाइँ तथा बाली व्यवस्थापनका उपकरण, सिँचाइ प्रविधि र शीतभण्डारणसम्बन्धी प्रविधिसमेत प्रदर्शनीका आकर्षण रहेका बताइएको छ ।

कृषि यान्त्रीकरणमा नीतिगत सुधारको आवश्यकता
नामियाका अध्यक्ष शर्माका अनुसार पछिल्लो एक दशकमा कृषि यान्त्रीकरण प्रदर्शनीले नेपालमा कृषि उपकरण तथा प्रविधिको प्रयोग विस्तार गर्न महत्त्वपूर्ण योगदान पुर्याएको छ । तीनै तहका सरकारका कार्यक्रम तथा अनुदान, निजी क्षेत्रको सहभागिता, विकास साझेदार र अनुसन्धान संस्थाको सहयोगले कृषि क्षेत्रमा यन्त्र तथा प्रविधिको प्रयोग बढ्दै गएको छ ।
तर हालसम्म खेत जोत्ने र बाली भित्र्याउने काममा यान्त्रीकरणको प्रयोग बढी भए पनि बाली रोप्ने, गोडमेल गर्ने तथा अन्य विशिष्टीकृत कृषि कार्यमा यसको प्रयोग अपेक्षाकृत कम रहेको अध्यक्ष शर्माको भनाइ छ । राइस ट्रान्सप्लान्टर र सिड ड्रिलजस्ता कम प्रयोगमा रहेका उपकरणको प्रयोग बढाउन थप प्रोत्साहन र अनुदान आवश्यक रहेको औँल्याइएको छ ।
आयोजकले कृषि ऐन र कृषि यान्त्रीकरण प्रवर्द्धन नीतिको पहिलो संशोधन प्रक्रिया टुङ्ग्याउनुपर्ने, केन्द्रीयस्तरमा आधुनिक तथा बहुउपयोगी प्रदर्शनी हल निर्माण गर्नुपर्ने र कृषि यान्त्रीकरण प्रविधिलाई महत्त्वपूर्ण कृषि इनपुटका रूपमा मान्यता दिनुपर्ने सुझाव दिएको छ ।
त्यस्तै, स्वदेशी कृषि यन्त्र उत्पादनलाई प्रोत्साहन गर्ने नीति ल्याउनुपर्ने, नेपालमा उत्पादन नहुने कृषि प्रयोजनका वस्तुमा पूर्ण भन्सार छुट दिनुपर्ने, कृषि यन्त्र तथा उपकरणको गुणस्तर र मापदण्डमा एकरूपता कायम गर्नुपर्ने तथा प्रमाणीकरणको व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।
किसानले लागत साझेदारीमा खरिद गर्ने यन्त्र तथा प्रविधि आफैँ छनोट गर्न पाउने व्यवस्था, कृषि यन्त्रको सहज बीमा तथा वित्तीय सुविधा, महिला र जलवायुमैत्री प्रविधिको विकास तथा देशभर कस्टम हायरिङ सेन्टर विस्तार गर्नुपर्नेमा पनि जोड दिइएको छ ।
तीन दिन विभिन्न विषयमा छलफल र प्रस्तुति हुने
प्रदर्शनीका तीनै दिन नेपाल कृषि इन्जिनियर्स सोसाइटीसँगको सहकार्यमा ज्ञान आदानप्रदान, व्यावसायिक सहजीकरण, प्रविधि विकास र नीतिगत संवादसम्बन्धी कार्यक्रम सञ्चालन हुनेछन् ।
पहिलो दिन देश तथा विदेशका छ जना विषयविज्ञले कृषि यान्त्रीकरणसम्बन्धी प्रस्तुति दिने कार्यक्रम छ । दोस्रो दिन कृषि मेसिनरी तथा प्रविधिको खरिद र प्रयोगसम्बन्धी परामर्श, खाद्यवस्तु प्रशोधन तथा निर्यातसम्बन्धी ज्ञान आदानप्रदान र नेपालको भूगोलअनुकूल कृषि यान्त्रीकरण नीतिबारे प्यानल छलफल हुने जनाइएको छ ।
तेस्रो दिन तीन जना विषयविज्ञले कृषि यान्त्रीकरणसम्बन्धी प्रस्तुति दिनुका साथै युवा केन्द्रित कृषि प्रविधि, रूपान्तरण र नवप्रवर्तनका विषयमा पनि छलफल गरिने जनाइएको छ ।
अवलोकनकर्तालाई आकर्षित गर्न तीनै दिन लक्की ड्रमार्फत पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ । प्रत्येक दिन ५० जनालाई पुरस्कार प्रदान गरिनेछ भने अन्तिम दिन बम्पर पुरस्कारका रूपमा एक जनालाई मिनी टिलर उपलब्ध गराइने बताइएको छ ।

सरकारी तथा निजी क्षेत्रको सहकार्यमा प्रदर्शनी
प्रदर्शनीको मुख्य आयोजक नेपाल सरकारको कृषि, वन तथा पर्यावरण मन्त्रालयअन्तर्गत कृषि विभाग र राष्ट्रिय कृषि इन्जिनियरिङ तथा यान्त्रीकरण प्रवर्द्धन केन्द्र तथा नेपाल कृषि मेसिनरी व्यवसायी संघ रहेका छन् । बागमती प्रदेश सरकारको कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय र संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) नेपाल सहआयोजक रहेका छन् ।
एसकेटी नेपाल प्रालि मुख्य प्रायोजक रहेको प्रदर्शनीमा युरोपेली संघ र जर्मन संघीय आर्थिक सहयोग तथा विकास मन्त्रालयको आर्थिक सहयोगमा जीआईजेडद्वारा कार्यान्वयन गरिएको परियोजनाको साझेदारी रहेको आयोजकले बताएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनाले प्रदर्शनीको प्रवर्द्धन गरेको जनाइएको छ ।
नेपालमा कृषि यान्त्रीकरण प्रदर्शनीको सुरुवात २०७० सालमा चितवनस्थित नारायणी नदी किनारबाट भएको थियो भने तत्कालीन कृषि इन्जिनियरिङ निर्देशनालयले पहिलो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी आयोजना गरेको थियो । त्यसपछि २०७२ सालमा बाँकेको कोहलपुरमा दोस्रो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी आयोजना गरिएको जनाइएको छ ।
आयोजकका अनुसार सन् २०१७ मा काठमाडौंको भृकुटीमण्डपमा पहिलो अन्तर्राष्ट्रिय एग्रीटेक प्रदर्शनी हुनुका साथै २०७४ सालमा सुनसरीको धरान, २०७६ र २०७८ सालमा चितवनको भरतपुर तथा २०८० सालमा पोखरामा प्रदर्शनी आयोजना गरिएको थियो ।
यसपटक आठौँ संस्करणका रूपमा अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी आयोजना गरिएको हो । प्रदर्शनीले किसान, कृषि उद्यमी तथा व्यवसायीलाई नयाँ प्रविधि र उपकरणबारे जानकारी दिनुका साथै स्वदेशी कृषि यन्त्र उत्पादन, प्रविधि हस्तान्तरण र व्यावसायिक सहकार्य विस्तारमा सहयोग पुग्ने आयोजकको अपेक्षा छ ।
‘कृषिमा यन्त्र र प्रविधि स् कृषक र राष्ट्रको समृद्धि’ भन्ने मूल नाराका साथ आयोजना हुने प्रदर्शनीमा १०० भन्दा बढी प्रदर्शक, दुई हजारभन्दा बढी कृषि यन्त्र तथा उपकरण र २०० भन्दा बढी स्टल रहने आयोजकको अपेक्षा छ । प्रदर्शनीले आधुनिक कृषि यान्त्रीकरण, नवीन प्रविधि तथा कृषि उपकरणको प्रयोग विस्तारमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।
तीन दिनसम्म बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने प्रदर्शनीमा ५० हजारभन्दा बढी दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ ।

सम्बन्धित समाचार
नेप्सेमा ७ अंकभन्दा बढीको गिरावट, कारोबार रकममा भने सामान्य सुधार
यान्त्रीकरण प्रदर्शनीमा राउटे समुदायका उत्पादनलाई स्थान, रैथाने प्रविधिलाई प्राथमिकता
प्रधानमन्त्री बालेन्द्रको भारत जाने कार्यक्रम निश्चित, यस्तो छ भ्रमण कार्यतालिका
नेपाल बैंकको मोबाइल एपबाटै बिना धितो २ लाख रुपैयाँसम्म कर्जा लिन सकिने
यान्त्रीकरण प्रदर्शनीमा दैनिक ५० जनालाई उपहार, अन्तिम दिन मिनी ट्रेलर जित्ने मौका
एकैदिन १२ हजार २०० रुपैयाँले घट्यो सुनको मूल्य
ट्रेन्डिङ
क्यूजे मोटर नेपालद्वारा पारस खड्का ब्रान्ड एम्बेसडरको रूपमा नियुक्त
आज देखि काठमाडौँ उपत्यकामा पशु वधवाला तथा मासु जाँच ऐन लागू
२०८३ मंसिर ३ गते बिहिबार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
१२.७९ अंकले घट्यो नेप्से, ४ अर्ब ७५ करोडको कारोबार
स्थानीय तहको निर्वाचन चैत पहिलो साताभित्रै गराउने आयोगको तयारी
