काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू राजनीतिक रुपमा अझै २० वर्ष सक्रिय भएपनि योग्य व्यक्तिलाई पार्टीको नेतृत्व सुम्पिएर देश चलाउन जिम्मा दिने घोषणा गरेका छन् ।
आज ‘बासँग बालबालिका’ कार्यक्रममा किशोर किशोरीका प्रश्नको जवाफ दिँदै अध्यक्ष ओलीले आफू सक्रिय रहेकै बेला नेतृत्व हस्तान्तरण गर्ने योजना सुनाएका हुन् ।
कार्यक्रममा ओलीलाई सोधिएको तपाईंको अनुपस्थितिमा कसले नेतृत्व गरोस् भन्ने प्रश्नमा उनले भने, ‘मेरो अनुपस्थिति अझै २० वर्ष हुँदैन । म पहिले अलि बिरामी थिएँ । अहिले ठीक छु । दोस्रो पटक प्रत्यारोपण गरेको किड्नीले राम्रोसँग काम गरिरहेको छ । म २० वर्ष सक्रिय रहेपनि योग्य व्यक्तिलाई कार्यभार सुम्पिएर देश चलाउन सहयोग गर्छु ।’
कार्यक्रममा ओलीले आफ्नो पिता अहिले पनि दिनमा दुई तीन किलोमिटर बिना लौरो हिँड्ने गरेको समेत बताएका थिए ।



