Jankari Kendra
२४ श्रावण २०८३, आईतवार
Worldlink

पर्यटनमन्त्री सुदन किराँतीको मन्त्री पद धरापमा

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, पुष, ५
पर्यटनमन्त्री सुदन किराँतीको मन्त्री पद धरापमा

काठमाडौं । क्रिस्चियन धर्म नमान्ने देशद्रोही हुन् भन्ने विवादास्पद अभिव्यक्ति दिएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको मन्त्री पद धरापमा परेको छ ।

बुधबार राजधानीमा भएको उपत्यकाव्यापी संयुक्त बृहत् ख्रीष्टमस महोत्सव २०८० लाई सम्बोधन गर्दै मन्त्री किराँतीले क्रिश्चियनलाई मान्दिनँ भन्नु संविधानलाई मान्दिनँ भन्नु सरह भएको बताएका थिए । उनले संविधान मान्दिनँ भन्नेहरू देशद्रोही भएको समेत बताएपछि उनको चौतर्फी आलोचना भईरहेको छ ।

किराँतीले भनेका थिए,‘नेपाल बहु धार्मिक राज्य हो । यो संविधानले स्वीकारेको कुरा हो । मैले भनेको कुरा होइन । राज्यका आँखामा सबै धर्म बराबरी हुन् । आज तीन करोड नेपालीमा लाखौँ क्रिश्चियनहरु भइसकेका छन् । क्रिश्चियनलाई मान्दिन भन्नु संविधानलाई मान्दिनँ भन्नु हो, संविधान मान्दिनँ भन्ने देशद्रोही हुन् । यदि कसैले देशद्रोह गर्छ भने त्यसलाई हत्कडी लगाउने जेलमा हालिदिने हो ।’

मन्त्री किराँतीको उक्त अभिव्यक्तिप्रति आपत्ति जनाउादै राप्रपा नेपालका अध्यक्ष कमल थापाले उनलाई बर्खास्त गर्न माग गरेका छन् । क्रिस्चियन धर्म नमान्ने देशद्रोही हुन् भन्ने अभिव्यक्ति मन्त्री किराँतीले दिएको भन्दै थापाले उनलाई बर्खास्त गर्न माग गरेका हुन् ।

‘क्रिश्चियन धर्म नमान्ने सबै देशद्रोही हुन् भन्ने गैरजिम्मेवार अभिव्यक्ति दिने पर्यटन मन्त्री सुदन किराँतीलाई तत्काल वर्खास्त गर्नुपर्दछ’,थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यान जाओस् ।’

उनले पदमा बसेर साम्प्रदायिक विद्वेष फैलाउने किराँतीलाई कानुन बमोजिम कारबाही गर्न पनि माग गरेका छन् । चौतर्फी आलोचना बढ्दै गएपछि उनको मन्त्री पदसमेत धरापमा परेको छ । तर, मन्त्री किराती र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने यसबारेमा कुनैपनि धारणा सार्वजनिक गरेका छैनन् ।

Top Changing Nepal

युट्युब सट्स