प्रतिनिधिसभा निर्वाचनका लागि करिब २ लाख १३ हजार कर्मचारी परिचालन गरिने
काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई व्यवस्थित रूपमा सम्पन्न गर्न निर्वाचन आयोगले देशभर करिब २ लाख १३ हजार कर्मचारी परिचालन गर्ने तयारी गरेको छ । आयोगका अनुसार देशभरका १६५ निर्वाचन क्षेत्रअन्तर्गत रहेका २३ हजार ११२ मतदान केन्द्रमा निर्वाचन सञ्चालन गर्न आवश्यक जनशक्ति व्यवस्थापनको काम अघि बढाइसकिएको छ ।
यसका लागि केन्द्रीय कार्यालयसहित ७७ मुख्य निर्वाचन अधिकृत कार्यालय, ८८ निर्वाचन अधिकृत कार्यालय, ७० जिल्ला निर्वाचन कार्यालय तथा ७ प्रदेश निर्वाचन कार्यालयमार्फत कर्मचारी परिचालन गरिनेछ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयको नेतृत्व जिल्ला न्यायाधीशले गर्ने व्यवस्था छ । त्यस्तै, निर्वाचन अधिकृत कार्यालयमा न्याय सेवाका उपसचिवसरह, जिल्ला निर्वाचन कार्यालयमा शाखा अधिकृतसरह तथा प्रदेश निर्वाचन कार्यालयमा उपसचिवसरहका कर्मचारीले नेतृत्व गर्नेछन् ।
मतदाता संख्याका आधारमा मतदान केन्द्रमा खटाइने कर्मचारी संख्या तोकिएको आयोगले जनाएको छ । ५०० सम्म मतदाता रहेका मतदान केन्द्रमा ८ जना र ५०० भन्दा बढी मतदाता भएका केन्द्रमा ९ जना कर्मचारी रहने व्यवस्था गरिएको छ । अस्थायी मतदान केन्द्रमा भने ५ जना कर्मचारी खटाइनेछन् ।
नियमित दरबन्दीबाट कर्मचारी अपुग भएमा संघ, प्रदेश र स्थानीय तहका कर्मचारी प्रयोग गरिने आयोगले जनाएको छ । आवश्यक परे शिक्षकसमेत निर्वाचन कार्यमा खटाइनेछन् । मतदान केन्द्रमा खटिने कर्मचारीहरू फागुन महिनामा निर्वाचन नजिकिँदै जाँदा परिचालन गरिनेछन् ।
निर्वाचनमा खटिने कर्मचारीका लागि भत्ता, अतिरिक्त कामको सुविधा तथा बीमाको व्यवस्था गरिएको छ । मतदान अधिकृतलाई दैनिक २ हजार ५०० रुपैयाँ, सहायक मतदान अधिकृतलाई २ हजार रुपैयाँ, सहायक कर्मचारीलाई १ हजार ६०० रुपैयाँ तथा सहयोगी कर्मचारी र स्वयंसेवकलाई जनही १ हजार २०० रुपैयाँ भत्ता उपलब्ध गराइनेछ । साथै, निर्वाचनमा खटिने सबै कर्मचारीलाई जनही २० लाख रुपैयाँ बराबरको बीमा सुविधा प्रदान गरिने आयोगले जनाएको छ ।
निर्वाचन व्यवस्थापनका चालू खर्चअन्तर्गत विभिन्न ४८ शीर्षकमा कुल ६ अर्ब ६८ करोड रुपैयाँ बजेट विनियोजन गरिएको आयोगले जानकारी दिएको छ । यी सबै व्यवस्था प्रतिनिधिसभा सदस्य निर्वाचन सञ्चालन ९आर्थिक व्यवस्थापन० कार्यविधि, २०८२ अनुसार गरिएको हो ।
सम्बन्धित समाचार
फ्रान्समा १५ वर्षमुनीका बालबालिकालाई सामाजिक सञ्जालमा रोक
नेपालको जलवायु संकटबारे विश्वको ध्यानाकर्षण गराउँछौँ: प्रधानमन्त्री शाह
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट,बाढीमा क्षति र हराएका सवारीबारे गराए जानकारी
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
देशभर आज मध्यम वर्षाको सम्भावना
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
ट्रेन्डिङ
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
२०८३ भदौ २७ गते शनिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
२०८३ भदौ २८ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

