नाइमाको समन्वयमा हाइब्रिड सवारीसाधन मर्मतसम्बन्धी तालिम सम्पन्न
काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)को समन्वयमा हाइब्रिड सवारीसाधनको मेकानिकल, सुरक्षा तथा मर्मतसम्भार सम्बन्धी प्राविधिक तालिम शुक्रबार काठमाडौँमा सम्पन्न भएको छ।
टोयोटाको नेपालका लागि आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रा.लि.को प्राविधिक सहयोगमा काठमाडौँमा तालिमको आयोजना गरिएको हो।
तालिममा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गत बालाजु इञ्जिनियरिङ तथा प्रविधि विद्यालयका डिप्लोमा तह पाँचौँ सेमेस्टरका विद्यार्थीहरू र सवारी चालकसहित २५ जनाभन्दा बढी सहभागी रहेका थिए। सहभागीहरूलाई लक्षित गरी हाइब्रिड सवारीसाधन प्रविधिसम्बन्धी विशेष प्राविधिक तालिम प्रदान गरिएको नाइमाले बताएको छ। यो तालिमबाट उनीहरूले मेकानिकल, सुरक्षा र मर्मतसम्भारका विषयमा महत्वपूर्ण ज्ञान तथा प्रायोगिक सीप हासिल गरेको नाइमाको विज्ञप्तिमा उल्लेख छ।

यसअघि उनीहरु गत चैत महिनामा लक्ष्मी हुन्डाईमा आयोजित विद्युतीय सवारीसाधन संयन्त्रसम्बन्धी तीन दिने तालिममा पनि सहभागी भएका थिए। साथै, हाइब्रिड सवारीसाधन संयन्त्रमा केन्द्रित ‘नाइमा मोबिलिटी संवाद’ कार्यक्रममा सहभागी भई नीतिगत तथा प्राविधिक विषयमा थप जानकारी हासिल गरेका थिए। विद्युतीयदेखि हाइब्रिड प्रविधिसम्मको ज्ञानलाई चरणबद्ध रूपमा जोड्दै सहभागीहरूको समग्र प्राविधिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले यस्तो तालिम शृङ्खला सञ्चालन गरिएको नाइमाले जनाएको छ।
कार्यक्रममा नाइमाका कार्यकारी निर्देशक राज कुमार दुलालले प्राविधिक शिक्षा र विद्यार्थीहरूको सीप तथा क्षमता अभिवृद्धिमा तालिम कार्यक्रम उपयोगी हुने विश्वास व्यक्त गर्दै माग र उपलब्ध स्रोतका आधारमा यस्ता कार्यक्रमहरूलाई आगामी दिनहरूमा निरन्तरता दिइने जानकारी दिए ।
सीटीईभीटीका उपनिर्देशक खुशीराम अधिकारीले हाइब्रिड सवारीसाधनसम्बन्धी विषयलाई पाठ्यक्रममा समावेश गर्ने कामलाई प्राथमिकतामा राखिने र आवश्यक प्रक्रिया अघि बढाइने बताए। उनले नेपालको विविध भौगोलिक अवस्थाका कारण यस्ता सवारीसाधनको सान्दर्भिकता बढ्दै गएको बताएका छन् ।

यस्तै, बालाजु इञ्जिनियरिङ तथा प्रविधि विद्यालयका उपप्राचार्य प्रदीप न्यौपानेले नाइमाको प्रयासको प्रशंसा गर्दै दक्ष जनशक्ति उत्पादनका लागि अटो उद्योग र प्राविधिक शिक्षाबीचको सहकार्य अझ सुदृढ बनाउनुपर्ने धारणा राखे। उनले हालै सम्पन्न तीनदिने विद्युतीय सवारीसाधन तालिमले विद्यार्थीहरूलाई व्यावहारिक सिकाइमा सहयोग पुगेको बताए।
वैद्य अर्गनाइजेशन अफ इन्डस्ट्रिज एण्ड ट्रेडिङ हाउसका निर्देशक सूर्यांश वैद्यले यस्ता व्यावहारिक तालिमहरूले सहभागीहरूको पेशागत विकासमा टेवा पुर्याउने र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने विश्वास व्यक्त गरे। उनले हाइब्रिड सवारीसाधनलाई उन्नत प्रविधिको रूपमा उल्लेख गर्दै यसबारे प्राविधिक ज्ञान र सीपको विकास अझ आवश्यक रहेको बताए।
नाइमाले आफ्ना प्राविधिक समितिहरू तथा सचिवालयमार्फत क्षमता अभिवृद्धि र प्राविधिक संवादलाई प्राथमिकतामा राख्दै अटोमोबाइल तथा मोबिलिटी क्षेत्रको विकासका लागि यस्ता पहलहरू निरन्तर अघि बढाउँदै आएको जनाएको छ।
सम्बन्धित समाचार
“एलजीको उपहार, मनाऔँ दशैं र तिहार” योजना सार्वजनिक
भारी वर्षा र हिमपातको जोखिम, असोज ९–११ पदयात्रा नगर्न आग्रह
नाडा र भन्सार विभागविच हालैको वाढीबाट अटोमोवाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल
दशैंमा बजाजको ‘गेम अफ पावर’, राइडरका लागि पुरस्कारदेखि च्याम्पियनसँगको भेटसम्म
बीपीसीद्वारा काठमाडौंमा एसीसीए क्रिकेट लिग २०२६ आयोजना
प्राधान हार्डवेयर ग्यालरीको उद्घाटनसँगै कजारिया रमेश टायल्सको डिलर नेटवर्क थप विस्तार
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट


