चीनले बनायो ५८२ टनको विशाल चुम्बक, ‘कृत्रिम सूर्य’ परियोजनामा ठूलो सफलता
काठमाडौं। चीनले आफ्नो आणविक फ्युजन परियोजनामा एउटा महत्त्वपूर्ण कदम अघि बढाएको छ। सिन्ह्वा समाचार एजेन्सीका अनुसार चीनले ५८२ टन तौल भएको सुपर कन्डक्टिङ चुम्बकको परीक्षण सम्पन्न गरेको छ। २१ मिटर लम्बाइ भएको यो चुम्बकलाई अहिलेसम्म निर्माण गरिएकामध्ये सबैभन्दा ठूलो फ्युजन रियाक्टर चुम्बक मानिन्छ। यसलाई हेफेई सहरस्थित चिनियाँ विज्ञान प्रतिष्ठानअन्तर्गतको इन्स्टिच्युट अफ प्लाज्मा फिजिक्सले विकास गरेको हो।
यो ‘टोरॉइडल फिल्ड’ चुम्बक हो, जुन फ्युजन रियाक्टरका अति महत्त्वपूर्ण अवयवहरूमध्ये एक हो। विश्वभरका वैज्ञानिकहरू फ्युजनलाई भविष्यको ऊर्जा उत्पादनका लागि उत्कृष्ट विधि मान्छन् र चीनको यो उपलब्धिले यस क्षेत्रमा भइरहेको तीव्र प्रगतिलाई उजागर गर्छ। यो चुम्बक चीनको हालको ‘इस्ट’ टोकामाकका लागि नभई उसको अर्को पुस्ताको परियोजना ‘बेस्ट’ का लागि निर्माण गरिएको हो।
फ्युजन रियाक्टरमा हाइड्रोजनलाई १० करोड डिग्री सेल्सियसभन्दा बढी तापक्रममा तताइन्छ, जुन सूर्यको केन्द्रको तापक्रमभन्दा करिब ६ गुणा बढी हो। यति उच्च तापक्रममा कुनै पनि पदार्थ प्लाज्माको प्रत्यक्ष सम्पर्कमा आउन सक्दैन । त्यसैले, शक्तिशाली चुम्बकहरूले चुम्बकीय क्षेत्र सिर्जना गरी ‘दुनोट’ अर्थात गोलाकार आकारको टोकामाक च्याम्बरभित्र प्लाज्मालाई हावामै अड्याएर राख्छन्।
यो चुम्बक ‘सुपर कन्डक्टिङ’ अर्थात अति चालक प्रविधि प्रयोग गरी निर्माण गरिएको हो अर्थात् यसलाई अत्यन्त कम तापक्रममा चिसो पारिएको हुन्छ। यसका कारण विद्युतीय अवरोध लगभग शून्य हुन्छ, जसले गर्दा यसले न्यूनतम ऊर्जा खपतमा अत्यधिक मात्रामा विद्युत् प्रवाह गर्न सक्छ।
चिनियाँ वैज्ञानिकहरूका अनुसार यो चुम्बक हाल फ्रान्समा निर्माणाधीन अन्तर्राष्ट्रिय आइटिएआर परियोजनाको चुम्बकभन्दा करिब १।३ गुणा ठूलो छ र यसले तीन गुणा बढी चुम्बकीय ऊर्जा सञ्चय गर्न सक्ने क्षमता राख्छ। यसको निर्माणमा ६ वर्ष लाग्यो, जसले कन्डक्टर निर्माण, संरचनात्मक इन्जिनियरिङ, क्रायोजेनिक प्रविधि र सुरक्षा प्रणाली जस्ता क्षेत्रमा नवीनता ल्याउनुका साथै दर्जनौं पेटेन्टहरू प्राप्त गर्न समेत सघाउ पुर्यायो।
चीनको ‘इस्ट टोकामाक’ लाई ‘कृत्रिम सूर्य’ का रूपमा चिनिन्छ र यसले अत्यन्त उच्च तापक्रममा लामो समयसम्म प्लाज्मा कायम राख्दै धेरै विश्व कीर्तिमान कायम गरेको छ यद्यपि यो केवल एक अनुसन्धान उपकरण मात्र हो। यसको अन्तिम उद्देश्य ‘बेस्ट’ परियोजनामार्फत पूरा हुनेछ, जसको लक्ष्य अन्ततः वास्तविक विद्युत् उत्पादन गर्नका लागि निरन्तर जलिरहने प्लाज्माको व्यवस्थापन गर्नु हो।
चीनको योजना अनुसार ‘बेस्ट रियाक्टर’ को निर्माण सन् २०२७ सम्ममा पूरा हुने अपेक्षा गरिएको छ र यदि सबै कुरा योजनाअनुसार अघि बढेमा सन् २०३० को आसपासमा फ्युजन प्रविधिमार्फत विद्युत् उत्पादनको प्रदर्शन हुन सक्नेछ।
सम्बन्धित समाचार
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


