काठमाडौं । धनुषा ३ की नवनिर्वाचित सांसद एवं नेकपा एमाले केन्द्रीय सदस्य जुलीकुमारी महतोले संसदमा महिला प्रतिनिधित्व घट्न दिन नहुने औंल्याएकी छन् । जुनसुकै दलबाट जिते पनि महिलाको सवालमा एकमत हुने पनि उनले बताइन् ।
‘जनसंख्याका हिसाबले महिला ५२ प्रतिशत छन् । संवैधानिक व्यवस्था अनुसार पनि संसदमा ३३ प्रतिशत महिला प्रतिनिधित्व हुन्छ नै । तर पहिलेभन्दा कमजोर हुन दिनुहुँदैन । विशेषतः गठबन्धनको नाउँमा स्थानीय तहमा मेयर वा उपमेयर पनि महिलालाई उम्मेदवारी नै दिइएन । अहिले गठबन्धन वा तालमेलका कारण पनि महिला उम्मेदवारी कम भयो । जुनसुकै पार्टीबाट निर्वाचित भएर आए पनि महिलाको सवालमा हामी एकमत हुन्छौं,’ नेपाली रेडियो नेटवर्क ९एनआरएन० को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै महतोले भनिन् ।
प्रतिनिधिसभाको प्रत्यक्षतर्फको १६५ सिटमध्ये अहिलेसम्म ८ जना महिलाले मात्र विजय हासिल गरेका छन् । मतगणना भइरहेका स्थानमध्ये सुनसरी १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङले १० हजार १५६ मतसहित र सुनसरी ३ मा एमालेकी भगवती चौधरी १४ हजार ६०० मतसहित अग्रता लिइरहेकी छन् भने उदयपुर १ मा एमालेकी मञ्जु चौधरी २० हजार १८० मतसहित कांग्रेसका नारायण खड्का २१,८३३ लाई पछ्याइरहेकी छन् ।
प्रतिनिधिसभामा सबैभन्दा धेरै नेकपा एमालेका ३ जना चुनिएका छन् । एमालेबाट धनुषा–३ मा जुलीकुमारी महतो, बारा–३ मा ज्वालाकुमारी साह र कास्की–२ मा विद्या भट्टराई निर्वाचित भएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं–२ मा सोविता गौतम र ललितपुर–३ मा डा. तोसिमा कार्की निर्वाचित भएका छन् । त्यस्तै, माओवादी केन्द्रकी रेखा शर्मा दाङ–२, नेपाली कांग्रेसकी सीता गुरुङ तेह्रथुम र नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठ कैलाली–१ जितेकी छन् ।
नेकपा एमालेले सबैभन्दा धेरै ठाउँमा एमालेले धेरै ठाउँमा महिला उम्मेदवारी दिए पनि जित हासिल हुन नसकेको उनले औंल्याइन् । महतोले भनिन्, ‘अहिले महिला प्रतिनिधित्व मात्र नभएर कुनै पनि दलको एकल बहुमत पुग्ने देखिएन । हामी जनताले दिएको कुरा स्वीकार गरेर अघि बढ्छौं ।’ स्थायी सरकार नबन्ने अवस्थामा दलहरुले मिलीजुली सरकार बनाएर शान्ति, सुशासन, विकास र समृद्धिको दिशामा लाग्नुपर्ने उनको कथन छ ।
उनले जनकपुरधामको विकासमा निरन्तर लागिपर्ने अठोट पनि गरिन् । महतोले भनिन्, ‘मैले यहाँका जनतको दुःखसुखलाई नजिकबाट हेरेकी छु । विश्वमा पहिचान बनाएको पवित्र भूमि जनकपुर धामको धार्मिक पर्यटनको विकास, भौतिक पूर्वाधार विकास, बेरोजगारीको समाधान, फोहार व्यवस्थापन, स्वास्थ्य, शिक्षा, ऐतिहासिक धरोहरको सौन्दर्यीकरणमा ध्यान दिने सोचेकी छु ।’
जुनसुकै पार्टीबाट निर्वाचित भएर आए पनि महिलाको सवालमा हामी एकमत हुन्छौंः जुली
जुनसुकै पार्टीबाट निर्वाचित भएर आए पनि महिलाको सवालमा हामी एकमत हुन्छौंः जुली
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


