रेशम चौधरीको रिहाइ : कतै विरोध, कतै उत्सव
काठमाडौं । गणतन्त्र दिवसको अवसरमा जेलमा रहेका पूर्वसांसद रेशम चौधरीले आममाफी पाएर रिहाई भएसँगै कतै विरोध त कतै उत्सव मनाइएको छ । सरकारको सिफारिसमा राष्ट्रपति कार्यालयबाट आममाफी पाएपछि चौधरी निकटले उनलाई स्वागत गर्दै उत्सव मनाएका छन्, भने उनका आलोचक एवं विरोधीहरूले विरोध जनाएका छन् ।
विशेषगरी सत्तारूढ दल निकटकाले विरोध गरेका छैनन् । तर, प्रतिपक्षमा रहेका दल निकटकाले खुलेरै विरोध गरेका छन् । नेपाली कांग्रेस नेता धनराज गुरुङले ५ जेठ २०७४ मा समाजिक सञ्जाल ट्वीटरमा ट्वीट गरे, ‘टीकापुर घटनालाई राजनीतिको पछ्यौरीले छोपेर छोपिँदैन सरकार । टीकापुर घटनाका अपराधीको मुद्दा फिर्ता लिने निर्णय फिर्ता लिइयोस् सरकार ।’
गुरुङको ट्वीटको सन्दर्भ थियो, ४ जेठ २०७४ मा मन्त्रिपरिषद्को निर्णय मन्त्रिपरिषद्ले मधेस, थरुहट आन्दोलनलाई राजनीतिक आन्दोलनको मान्यता दिँदै ती आन्दोलनमा मुछिएका अभियुक्तको मुद्दा फिर्ता लिने निर्णय लिएको थियो । मुद्दा फिर्तासम्बन्धी प्रस्ताव तयार गर्न कानुन मन्त्रालयलाई जिम्मेवारी दिएको थियो ।
गुरुङले त्यो ट्वीट लेख्दा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड थिए । संयोगले अहिले पनि उनी नै प्रधानमन्त्री छन् । उनकै मन्त्रिपरिषद्का सदस्य छन्, ट्वीटकर्ता गुरुङ कानुन, न्याय तथा संसदीय मामिलामन्त्री छन् । गुरुङसमेत सदस्य रहेको मन्त्रिपरिषद्को आइतबारको बैठकले रेशम चौधरीको सजाय माफीका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्यो । मन्त्रिपरिषद्ले गरेको सिफारिसअनुसार राष्ट्रपतिले चौधरीलाई सजाय माफी दिएको छ ।
तर ६ वर्षअघि र अहिले गुरुङको धारणामा परिवर्तन आएको बुझन सकिन्छ । त्यो परिवर्तन पदीय बाध्यता हो भनेर सहजै बुझ्न सकिन्छ । चौधरीबारे फरकफरक समयमा फरकफरक व्यवहार प्रस्तुत गर्ने गुरुङ एक्ला नेता भने होइनन् । उनी जस्ता नेताहरू व्यक्तिगत परिस्थिति, सत्ता समीकरण वा चुनावी सन्दर्भ विचार गरेर बोल्ने गर्छन् । नेताहरू मात्रै होइन, दलीय धारणा पनि त्यस्तै हुने गरेको छ ।
नेपाल कम्युनिस्ट पार्र्टी (एमाले)कै संस्थागत र व्यक्तिगत धारणालाई जोडेर हेर्दा विचित्रको रूप देखिन्छ । एमालेका तत्कालीन सचिव प्रदीप ज्ञवालीले ५ जेठ २०७४ सालमा विज्ञप्ति जारी गरेर ‘आपराधिक घटनालाई राजनीतिक आवरण दिई तिनमा संलग्नलाई उन्मुक्ति दिन सरकारले गरेको निर्णयप्रति एमालेले गम्भीर आपत्ति प्रकट गर्ने’ बताएका थिए ।
सरकारको यस्तो निर्णयबाट दण्डहीनता संस्थागत हुने तथा आपराधिक प्रवृत्तिलाई प्रोत्साहन मिल्ने स्पष्ट भएको एमालेको ठहर थियो । सबै निर्णय र प्रतिक्रियाबीच रेशम चौधरी थिए । टीकापुर घटनामा संलग्नताको अभियोग लागेका उनी कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई केही वर्षयता जेल सजाय भोगिरहेका थिए । फरार अवस्थामा सांसद निर्वाचन भएता पनि उनले सदनमा भाग लिन भने पाएनन्, शपथ भने लिए ।
एमालेको त्यस खालको धारणा भए पनि चौधरीलाई मुद्दा लगाउनुपर्ने कुनै कारण नभएको अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक रूपमै बताएका छन् । गत वर्ष २२ वैशाखमा कैलालीको बौनियामा भएको सभामा ओलीले भनेका थिए, ‘मलाई थाहा छ, यहाँका थारू नेता जेलमै छन् । अनेकौं हजारौं मान्छे मरे, जेलमा हुनुपरेन । यहाँ हुँदै नभएको मान्छेलाई मुद्दा लगाएर, अर्को मान्छेलाई मुद्दा लगाएर यहाँ हुँदै नभएका रेशम चौधरीलाई त्यसबेला यहाँ थिएनन् । उनलाई मुद्दा लगाउनुपर्ने कुनै कारण थिएन ।’
सरकारको आइतबारको निर्णयप्रति भने एमालेले आक्रोश व्यक्त गरेको छ । एमालेका सचेतक महेश बर्तौलाले जन्मकैदको सजाय भुक्तान गरिरहेका पूर्वसांसद रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णय स्वीकार्य नहुने बताएका छन् । राजधानी दैनिकबाट
सम्बन्धित समाचार
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
विश्वसनीयतामा चेरीको लगातार दोस्रो जित, चिनियाँ अटो ब्रान्डमा पहिलो नम्बर
प्रधानमन्त्री राहतकोषमा धवलागिरि सहकारीको पाँच लाख सहयोग
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि

