‘ड्रागन फुड’मा रमाउँदै धादिङका किसान
मलेखु (धादिङ)। धादिङमा ड्रागन फुडको व्यावसायिक खेती सुरु गरेका किसानले आम्दानी लिन थालेका छन् । नीलकण्ठ नगरपालिका–१ पात्ले र नीलकण्ठ –१२ साङ्कोषमा लगाइएको ड्रागन फुडको व्यावसायिक उत्पादन सुरु भएको हो ।
ती दुवै ठाउँमा अहिले धमाधम ड्रागन फुड टिप्ने बेला भइरहेको छ । राताम्मे भएर फलेको ड्रागन फुड टिप्ने सिजन सुरु भएको छ । यतिखेर कोपिला लाग्दै गरेको, फुल फुल्दै गरेको र टिपेर खाने अवस्थामा पुगेको फल हेर्न लायक छ । अघिल्लो वर्षबाट फल दिन सुरु गरेको बिरुवाले यो वर्ष राम्रो उत्पादन दिन थालेको नीलकण्ठ–१२ का छविन्द्रनारायण श्रेष्ठले बताए ।
उनले करिब १० रोपनी पखेरा बारीमा आठ सय बिरुवा लगाएका छन् । विसं २०७८ बाट ड्रागन फुडखेती सुरु गरेका उनले दोस्रोपटकको आम्दानी लिन थालेका छन् । अहिले चार सय बिरुवाले फल दिन थालेको छ । ड्रागन फल लिन घरैसम्म मानिस पुग्ने गरेका छन् । उनले भने, “घरैमा पुग्नेलाई प्रतिकिलो पाँच सयमा बिक्री गरिरहेको छु ।”
टाढा–टाढाका मानिस खेती हेर्नकै लागि मात्रै पनि बारीमा पुग्ने गरेका छन् । किसान श्रेष्ठले फेसबुकमा ड्रागन फुड पाकेको सूचना हालेपछि यतिखेर ताजा फल खान र चाख्नैका लागि जनाउँदै फल किन्न बारीमै पुग्ने गरेका छन् । औषधीय गुण हुने र नेपालकै लागि नौलो किसिमको फल भएका कारण माग बढ्दै गएको उनको भनाइ छ ।
उनले भने “विसं २०५० तिर शिक्षकको जागिर छाडेपछि कृषि पेसा अँगाल्दै आएको छु । ड्रागन फुडखेतीका लागि २२ लाख लगानी भइसकेको छ । यसलाई अझ विस्तार गर्ने सोचमा रहेको छु । ”
कृषि पेसामा फाइदा नहुने भनाइलाई गलत सावित गर्दै उनी व्यावसायिक ड्रागन फुडखेतीमा रमाउन थालेका छन् । काम गर्ने जाँगर र आँट भए स्वदेशमै मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरणसमेत बनेका छन् व्यवसायी श्रेष्ठ । ड्रागन फुडको बजारमा माग थेरै रहेको हुँदा मागअनुसार ड्रागन फुडसमेत बजारमा नरहेको उनले बताए । युवा शक्ति विदेश पलायन हुनुभन्दा आफ्नै मुलुकमा उत्पादनमा जोडिनुपर्छ जनाउँदै ड्रागन फुडखेतीको सुरुआत गरिएको र ड्रागन फुडको उत्पादनभन्दा बजारमा माग बढिरहेको बताए । उनका अनुसार फूल फुलेको ३०औँ दिनमा फल पाकेर खानका लागि योग्य हुने र टिपेर राख्दा १० र १५ दिनसम्म नबिग्रिने हुन्छ ।
कृषिमा होमिएका किसानको बजारको चिन्ता नहुने गरी बजार प्रवर्द्धन गर्ने र उत्पादनमा आधारित भएर अनुदानलगायतका सहयोग पाउने वातावरण हुनुपर्ने श्रेष्ठको माग छ । नेताका पछि लागेकालाई दिने गरेको अनुदानले कृषि क्षेत्रको प्रवर्द्धन नहुने र उत्पादन पनि नबढ्ने भएकाले सबै वादभन्दा माथि उठेर किसानका लागि सहयोग गर्न उनको आग्रह छ ।
नीलकण्ठ –१ का गणेश गुरुङले पनि दुई वर्षअघिदेखि बिक्री गरिरहेका छन् । तीन रोपनी बारीमा दुई सय बोट ड्रागन लगाएका गुरुङले यो वर्ष पनि धमाधम बिक्री गरिरहेका छन् । भारतीय सेनाको जागिरबाट पेन्सन पकाएर ड्रागन फुडको खेती सुरु गरेका गुरुङले अहिले आम्दानी लिइरहेको छन् ।
एकपटक बिरूवा लगाएपछि समय–समयमा सामान्य गोडमेल र सिँचाइबाहेक अन्य गोडमेल गर्नु नपर्ने र रोपेको दुई वर्षदेखि लगातार लामो समयसम्म फल दिने हुनाले अन्न खेतीबालीको तुलनामा यसको खेतीबाट राम्रो आम्दानी हुने अनुभव गुरुङले बटुलेका छन् । गुरुङको बारीबाटै प्रतिकेजी पाँच सयदेखि छ सयसम्ममा बिक्री हुने गरेको छ । उत्पादन भएका फल धादिङबेँसी बजारमा नै खपत भइरहेको छ । जिल्लाभर एक दर्जन किसानले यसको खेती सुरु गरेका छन् ।
गर्मी समयको वैशाखदेखि मङ्सिरसम्म मुख्यरूपमा फल दिने ड्रागन फुड वर्षमा आठ महिनासम्म फल्ने गर्दछ । यसमा फूल फुल्ने, कोपिला लाग्ने, फल फल्ने क्रम एकसाथ चलिरहन्छ । उनको बारीमा पहिलो र दोस्रो छिमालको फल फलेर बिक्री भइसकेको छ । तेस्रो छिमालका फलहरू अहिले फल्दैछन् भने चौथो छिमालको फल उत्पादनका लागि पनि कोपिला बसिसकेको छ । ड्रागन फुड रोपेको २५ वर्षसम्म उत्पादन लिन सकिन्छ ।
सम्बन्धित समाचार
शिक्षा ऐनमा निजी विद्यालयका मुद्दा समेट्न नेसनल प्याब्सनको ११ बुँदे सुझाव
एम्पियर नेपालको चाडपर्व अफर, ग्राहकलाई १ लाख जित्ने अवसर
अल्ट्राभायोलेटको दशैं अफर, बाइक किन्दा हेल्मेटदेखि डायमन्ड कोटिङसम्म उपहार
पल्सर आरपीएम बुटवलमा युवाको ऊर्जा र स्थानीय प्रतिभाको उत्साहपूर्ण प्रदर्शनसहित सम्पन्न
टिभिएसको दुबई सम्मेलनमा जगदम्बा मोटर्सलाई दुई अन्तर्राष्ट्रिय अवार्ड, आफ्टर–सेल्स सेवामा नेपालको उत्कृष्टता
एनसेल ग्राहकलाई ट्रान्क्विलिटी स्पामा विशेष छुट
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
लुब्रिकेन्टबारे प्राविधिक ज्ञान बाँड्दै लक्ष्मी ल्युब आयल, पाँच शहरमा ७०० बढी सहभागी
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान एक्स ५००० इ इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर
