एमालेको सुदूरपश्चिम प्रदेश अधिवेशनबारे मलाई जानकारी छैन : भीम रावल
काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री भीमबहादुर रावलले संघीयताको पुनर्मूल्यांकन गर्नुपर्ने औंल्याएका छन् ।
‘अब सरकार परिवर्तन गरेर मात्र केही हुनेवाला छैन । पुष्पजीको ठाउँमा अर्को जी आएर कुनै तात्विक भिन्नता होला भन्ने लाग्दैन । बरु अब संघीय प्रणालीको पुनर्मूल्यांकन गर्नुपर्ने बेला भयो । यस्तो थोपरिएको संघीयता साँच्चै मुलुकको आवश्यकता हो त ? संघीय प्रणालीमा पुनर्मूल्यांकन आवश्यक छ,’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
सरकारले खुलेआम अपराधी, ज्यानमारा, गुन्डाहरुलाई रिहा गर्दा राष्ट्रपतिले प्रश्न नगर्नु दुर्भाग्य भएको पनि रावलले बताए । उनले थपे, ‘मुलुक दलाल, पुँजीवादी र बिचौलियाको हातमा गएको छ । महँगी बढेको छ, कुशासन बढेको छ । जनता आफैं आन्दोलित हुने अवस्था छ ।’
विगत १७ वर्षमा धेरै नेताहरु पटकपटक प्रधानमन्त्री भए पनि शान्ति प्रक्रिया टुंग्याउन चासो नदिएको आरोप पनि रावलले लगाए । उनले भने, ‘हिजो केपी शर्मा ओली र प्रचण्डजी भेटेको सुनेँ । उहाँहरु पटकपटक प्रधानमन्त्री हुनुभएको छ । उहाँहरुलाई शान्तिप्रक्रिया टुंग्याउन कसले रोक्यो ? के उहाँहरुको हातमा तालाचाबी थिएन ?’
कतिपय शक्ति अँध्यारो कोठामा बसेर नेपाललाई अस्थिर, अराजक र असफल राष्ट्र बनाउने कुत्सित खेलमा लागेको उनको आरोप छ । रावलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेश भ्रमण गरेपिच्छे दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको, आइसब्रेक र ब्रेक थु्र भएको भन्न गरेको भन्दै व्यंग्य पनि गरे । उनले भने, ‘कुन देशसँगको सम्बन्ध कुन उचाइमा गएको छ ? सारा कूटनीतिक मर्यादा बिर्सेर आफ्नी छोरीलाई दोस्रो वरीयतामा राख्न मिल्छ ? ब्रेक थ्रु, आइसब्रेक आदि शब्द प्रयोग गरेर नेपाली जनतालाई भ्रममा राखेर आफूलाई अग्लो बनाउने प्रयास गर्नु निरर्थक छ । त्यो भयो कि भएन, परिणाममा हेर्नुपर्छ ।’ साथै उनले एमसीसीको व्याख्यात्मक घोषणा अमेरिकाले मान्छु भनेको कागज नेपाली जनतालाई देखाउन पनि चुनौती दिए ।
एमाले नेता रावलले पार्टीको सुदूरपश्चिम अधिवेशनबारे आफूलाई जानकारी नै नरहेको पनि बताए । उनले भने, ‘म अहिले बझाङमा छु । अहिलेसम्म भूकम्पपीडितले राहत पाउन सकेका छैनन् । पार्टीको प्रदेश अधिवेशनबारे मलाई केही जानकारी छैन । मैले पनि सञ्चारमाध्यमबाट थाहा पाएको हुँ । औपचारिक रुपमा मलाई कसैले आमन्त्रण गरेको छैन ।’
देशमा विधिको शासन मिच्ने र पार्टीमा विधिको शासन मिच्ने दुवै कार्य घातक हुने रावलले औंल्याए । उनले भने, ‘मैले नेकपा एमालेमा पाँच दशक काम गरेँ । मदन भण्डारीको अगुवाइमा बनेको जनताको बहुदलीय जनवाद प्रतिस्पर्धाको राजनीतिमा विश्वास गर्छ । कोही नेता पार्टी कार्यकर्ता र जनता दुवैबाट अनुमोदित भएर आउनुपर्छ । मैले बुझेको त्यही हो । एमालेले त्यो सिद्धान्त परिवर्तन गरेको मलाई जानकारी छैन । दस्तावेजबाहिर गएर हुने बहसको औचित्य छैन ।’
सम्बन्धित समाचार
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
साइमेक्सद्वारा देशभर ‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु, सबै सर्भिस सेन्टरमा लागु
कडा प्रतिबन्धका बिचमा २२ अर्ब डलर कमाउन उत्तर कोरिया सफल
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
पृथ्वी मुनि विशाल परिमाणमा भेटियो सुन, सतहमा फैलाए ५० सेमी बाक्लो तह
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
ट्रेन्डिङ
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
जर्मनीमा अत्याधिक गर्मीले मृत्यु हुनेको संख्या १० हजार नाघ्यो
दक्षिण कोरियामा शताब्दीको सबैभन्दा बढी तापक्रम रेकर्ड, पुग्यो ४२.५ डिग्रि सेल्सियस

