कोशीको किचलोः मुख्यमन्त्री बन्न कुन दलबाट को-को छन् आकांक्षी ?
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सभाबाट विश्वासको मत नपाउने निश्चित देखेपछि शनिबार पदबाट राजीनामा दिएका छन् । उनले राजीनामा दिएसँगै प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकारमा दाबी गर्न दलहरुलाई शुक्रबार साँझ ५ बजेसम्म समय दिएका छन् ।
हिक्मत सरकार ढलेर नयाँ सरकरा बन्ने बाटो खुलेसँगै नयाँ मुख्यमन्त्रीमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एसले दाबी गरेका छन् । भने उता सत्ताको नेतृत्व गुमाएको एमाले र प्रदेश सभामा निर्णायक देखिएको राप्रपाले पनि मौका मिलेमा मुख्यमन्त्रीमा दाबी गर्ने तयारी गरेका छन् ।
अहिलेकै अवस्थामा कांग्रेस, माओवादी, नेकपा एस र जसपा मिलेर सरकार बनाएपनि उक्त सरकराले विश्वासको मत पाउने निश्चित छैन् । विश्वासको मत पाउने प्रष्ट आधार तय नभई सरकार बनेमा र विश्वासको मत नपाएमा प्रदेश सभा विघटन भएर मध्यावधिमा जाने निश्चित जस्तै छ । अहिलेकै अवस्थामा प्रदेश सभा मध्यावधिमा गए उक्त अपजस आफूले लिनुपर्नेमा पनि दलहरुले हेक्का राखेका कारण सकेसम्म नयाँ सरकारले विश्वासको मत पाउनेगरि र आगामी ४ वर्षसम्मै टिक्नेगरी बनोस् भन्ने चाहना उनीहरुको रहेको बुझ्न कठिन छैन् ।
मुख्यमन्त्रीमा कुन दलबाट को को छन् आकांक्षी ?
आज बिहान बसेको नेपाली कांग्रेसको पदाधिकारी बैठकले कोशीमा आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउने निर्णय गरेको छ । कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग आजै निर्णायक छलफल गर्ने निर्णयसमेत गरेको छ । आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेसँगै कांग्रेसबाट मुख्यमन्त्री बन्न नेताहरुले तीव्र लबिङ गरिरहेका छन् । कांग्रेस निकट स्रोतका अनुसार पूर्व मुख्यमन्त्री उद्धव थापासँगै, संसदीय दलका उपनेता हिमाल कार्की, प्रमुख सचेतक भूपेन्द्र राई र सांसदद्धय केदार कार्की र अमृत अर्यालले आफ्नो दाबी नेतृत्वसमक्ष पुर्याएका छन् । थापा कांग्रेस पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला निकट हुन भने, उपनेता कार्की र सचेतक राई सभापति शेरबहादुर देउवा निकट हुन् । मुख्यमन्त्रीमा प्रवल दाबेदार मानिएका केदार भने नेता शेखर कोइराला निकट नेता हुन् । स्रोतका अनुसार सत्ता गठबन्धनमा सहमति जुट्न नसकेमा नेकपा एमालेसँग मिलेर भएपनि केदारलाई मुख्यमन्त्री बनाउने शेखरको तयारी रहेको छ । मुख्यमन्त्री बन्न आवश्यक सांसद संख्यासमते पुगिसकेको शेखर पक्षको दाबी छ ।
उता केन्द्रमा सत्ताको नेतृत्व गरिरहेको दल नेकपा माओवादी केन्द्रबाट पनि दुई जनाले मुख्यमन्त्रीमा दाबी गरेका छन् । मुख्यमन्त्रीमा प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बोसहित नेता दुर्गाप्रसाद चापागाईंले दाबी गरेका छन् । आङ्बो प्रदेश सभाको अघिल्लो कार्यकालमा लामो समय आर्थिक मामिला तथा योजनामन्त्री भएका थिए । भने, चापागाईं हिक्मत कार्की नेतृत्वको सरकारमा छोटो समय मन्त्री बनेका थिए ।
भर्खरै सत्ताच्युत भएको नेकपा एमालेले पनि आफ्नो तर्फबाट मुख्यमन्त्री बनाउने भित्रि तयारी गरेको बताईएको छ । यद्यपि एमालेले यसपटक कांग्रेस सांसद केदार कार्कीलाई मुख्यमन्त्री बनाएर सत्ता गठबन्धन छिन्नभिन्न बनाउने रणनीति लिएको छ । त्यसका लागि एमालेले आफ्नो दलबाट कुनैपनि उम्मेदवार नभएको प्रष्ट पार्दै आएका छ । ‘सत्ता गठबन्धन भत्किनेगरी हामीले तयारी गरेका छौं । प्रदेश सभामा रहेको कुनैपनि दलका सांसदले ८ जनाको हस्ताक्षर लिएर आएमा मुख्यमन्त्री बनाउन एमाले तयार छ । हामी तयार छौं’ । एमालेका एक नेता भन्छन्।
राप्रपाको आफ्नै दाउ
प्रदेश सभाको अस्थिर अंकगणितको कारण यसपटक निर्णायक देखिएको राप्रपाले पनि मुख्यमन्त्रीमा दाबी गरेको छ । संविधानको धारा १६८ को उपधारा २ र ३ अनुसार बनेको कुनैपनि सरकारमा दाबी नगरेको राप्रपाले उपधारा ५ अनुसार बन्ने सरकारमा भने दाबी गरेको छ । राप्रपाबाट हाल प्रदेश सभामा ६ जना सांसद रहेका छन् । जसको संसदीय दलका नेता हुन् । भक्तिप्रसाद सिटौला । उनी तत्कालीन हिक्मत सरकारमा करिब ५ महिना मन्त्री बनेका थिए ।
सरकार गठनको अन्तिम विकल्प उपधारा ५ अनुसार सरकारको नेतृत्व गर्न दलको नेता नै हुनुपर्ने बाध्यात्मक अवस्था नभएको र ४७ जना सांसदको हस्ताक्षर गराएर दाबी पेस गर्ने कुनै पनि सांसद मुख्यमन्त्री नियुक्त हुने संवैधानिक व्यवस्था छ । प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसारको मुख्यमन्त्री नियुक्ति तथा सरकार गठनका लागि असोज २६ गते साँझ ५ बजेसम्मको समयसीमा दिएका छन् ।
गठबन्धन दलले ४७ प्रदेश सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न सफल भए पनि विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था देखिन्न । उपधारा ५ बमोजिम नियुक्त हुने मुख्यमन्त्रीलाई उपधारा ४ अनुसार ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ । विश्वासको मत लिने प्रदेशसभा बैठकको अध्यक्षता एमालेकी उपसभामुख सिर्जना दनुवारले नगरिदिएको अवस्थामा गठबन्धनलाई राप्रपाको साथ अपरिहार्य हुन्छ । त्यो अवस्थामा राप्रपाले समर्थन नदिए प्रदेश संविधानको धारा १६८ को उपधारा ७ अनुसार मध्यावधि चुनावमा जानुको विकल्प रहँदैन ।
९३ सदस्यीय प्रदेशसभामा कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका ४ र जसपाका एक गरी ४७ सांसद छन् । एमालेका सभामुखको जिम्मेवारीमा रहेकी उपसभामुख सिर्जना दनुवारसहित ४० र राप्रपाका ६ सांसद छन् ।
सम्बन्धित समाचार
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
साइमेक्सद्वारा देशभर ‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु, सबै सर्भिस सेन्टरमा लागु
कडा प्रतिबन्धका बिचमा २२ अर्ब डलर कमाउन उत्तर कोरिया सफल
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
पृथ्वी मुनि विशाल परिमाणमा भेटियो सुन, सतहमा फैलाए ५० सेमी बाक्लो तह
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
ट्रेन्डिङ
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
जर्मनीमा अत्याधिक गर्मीले मृत्यु हुनेको संख्या १० हजार नाघ्यो
दक्षिण कोरियामा शताब्दीको सबैभन्दा बढी तापक्रम रेकर्ड, पुग्यो ४२.५ डिग्रि सेल्सियस

