आकर्षक मूल्यमा बिक्री हुँदै चितवनको अगौटे सुन्तला
चितवन । चितवनको पहाडी क्षेत्र इच्छाकामना गाउँपालिकामा उत्पादन भएको सुन्तलाले राम्रो मूल्य पाएपछि किसान उत्साहित भएका छन् । सुन्तलाको उत्पादन हुने समयको सुरुआतीमा अगौटे सुन्तलाले राम्रो आम्दानी पाएपछि उनीहरु उत्साहित भएका हुन । इच्छाकामना गाउँपालिका–५ का रामप्रसाद बोहोरा अघिल्ला वर्षको तुलनामा अहिले सुन्तलाले राम्रो मूल्य पाएको बताउँछन् । उनले अहिले सुन्तलाको होलसेल मूल्य प्रतिकिलो रु ९० सम्म परेको बताए । अहिले बजारमा राम्रो मूल्य पाएको बताउँदै उनले भने, ‘कम उत्पादन भएका कारण मूल्य राम्रो पाएको हो ।’
उनले दुई बिघा क्षेत्रफलमा सुन्तला खेती गर्दै आएका छन् । वैदेशिक रोजगारमा गएर राम्रो नभएपछि तीन महिनामा नेपाल फर्किएका ३३ वर्षीय बोहोरा सुन्तलाबाट विदेशको भन्दा राम्रो कमाइ भएको बताउँछन् । बुबाको पालादेखि आफ्नो घरका लागि मात्रै सुन्तला खेती गरिएको भए पनि विस्तारै यसलाई व्यावसायिक गर्दै लाँदा अहिले आम्दानीको मुख्य स्रोत नै सुन्तला खेती भएको उनले बताए । उनले भने, ‘अहिले सुन्तलाको मूल्य पाएको देखेर आफू सन्तुष्ट छु । अन्य साथीहरु पनि सन्तुष्ट हुनुहुन्छ ।’ अझै सुन्तलाको मूल्य बढ्नेमा उनी विश्वस्त रहेको बताउँछन् । गएका वर्षहरुमा यति बेला प्रतिकिलो रु ७० हाराहारीमा सुन्तला बिक्री हुने गरेको थियो ।
सुन्तलाले मूल्य पाउँदा इच्छाकामना गाउँपालिकाका किसान निकै हर्षित छन् । इच्छाकामना गाउँपालिका–३ माझगाउँका सीताराम गुरुङले चार बिघा क्षेत्रफलमा सुन्तला खेती गर्दै आएका छन् । उनले अहिले उत्पादन भएको सुन्तलाले बजार मूल्य राम्रो पाएको भन्दै यही मूल्य कामय रहे यस वर्ष किसानले राम्रो आम्दानी लिन सक्ने बताए । उनले भने, ‘अहिले होलसेल मूल्य नै प्रतिकिलो रु ९० देखि १०० सम्म परेको छ । यो बढ्दै जाने देखिन्छ ।’
बजार भाउ स्थिर रहन नसक्ने भएकाले अहिलेको मूल्यबाट घटवढ हुनसक्ने भन्दै उनले बजारको व्यवस्था गर्न सके व्यावसायिक सुन्तला खेती गर्ने किसानले राम्रो आम्दानी लिन सक्ने बताए । उनले भने, ‘अहिले थोरै उत्पादन भएको छ । त्यही कारणले मूल्य पाउन सकेको हो ।’ २४ वर्षको उमेरदेखि सुन्तला खेती गर्दै आएको अनुभव सुनाउँदै ६० वर्षीय गुरुङले अगौटे सुन्तलाले राम्रो मूल्य पाएको बताए । आफू सुन्तला खेतीबाट सन्तुष्ट रहेको उनले बताए । उनले वार्षिक रु चारदेखि पाँच लाखसम्मको सुन्ताल बेच्दै आएका छन् ।
इच्छाकामना गाउँपालिकाको कृषि विकास शाखा प्रमुख आशिष त्रिपाठी अहिले बजारमा आएको सुन्तलालाई बजारको अभाब नभएको बताउँछन् । उनले भने, ‘बजारको अभाव पनि छैन र सुन्तालाले राम्रो मूल्य पनि पाएको छ ।’ केही किसानले ठेकेदारमार्फत सुन्तला बजारमा ल्याउने हुँदा मूल्य पाए पनि पैसा नपाउने समस्या भएको भन्दै उनले यो समस्या समाधानका लागि शाखाले सहकार्य गर्ने प्रयास गरिरहेको बताए । यस पालिकामा ३५ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिँदै आइएको छ । जहाँ वार्षिक तीन सय मेट्रिक टन सुन्तला उत्पादन हुँदै आएको छ । जिल्लाको इच्छाकामना गाउँपालिका र भरतपुर महानगरपालिका–२९ को पहाडी क्षेत्रमा सुन्तला खेती गरिँदै आइएको छ ।
सम्बन्धित समाचार
अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०२६ को प्लेटिनम प्रायोजक बन्यो जी–सेभेन एग्रिकल्चर
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
तीजदेखि ऋषिपञ्चमीसम्म: परम्परा, चेतना र परिवर्तनको यात्रा-क्षितिज विक्रम खनाल
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
लुब्रिकेन्टबारे प्राविधिक ज्ञान बाँड्दै लक्ष्मी ल्युब आयल, पाँच शहरमा ७०० बढी सहभागी
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान एक्स ५००० इ इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर
