काठमाडौं । आज साउन महिनाको अन्तिम सोमबार, सोमबारे व्रत गर्ने भक्तजनहरूले विधिपूर्वक व्रत समापन गर्दैछन्। देशभरका शिवालयहरूमा बिहानैदेखि व्रतालुहरूको घुइँचो लागेको छ।
काठमाडौंको पशुपति मन्दिरमा समेत बिहानैदेखि श्रद्धालुहरूको भीड देखिएको छ। साउनको सोमबारलाई भगवान शिवको प्रिय दिन मानिने भएकाले यस अवसरमा व्रत बस्ने, पूजा–पाठ, दान तथा धार्मिक क्रियाकलाप गर्ने परम्परा छ। यसो गर्दा सुख, शान्ति, समृद्धि र परिवारको कल्याण हुने धार्मिक विश्वास रहेको छ।
भीड व्यवस्थापनका लागि पशुपति क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। साथै स्वयंसेवक, स्वास्थ्य शिविर, खानेपानी लगायतका सुविधा पनि उपलब्ध गराइएको छ।