नवरात्रको चौँथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिदैँ
काठमाडौं । नवरात्रको चौँथो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिदैँ छ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ ।
यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडा दसैँ पर्व मनाउँछन् । आध्यात्मिक, आधिभौतिक र आधिदैविक यी तीन तापलाई कुष्मा भनिन्छ । नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाले शरणमा आएका भक्तको तीनै ताप हरिदिने भएकैले यो नामकरण भएको हो ।
कुष्माण्डाले सुराले भरिएका घडा तथा रगतयुक्त पात्र धारण गर्ने विभिन्न पुराणमा उल्लेख गरिएको छ । दुर्गा पक्षसमेत भनिने दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यिनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भनिन्छ ।
नवरात्रको पहिलो दिन दसैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक सोमबार घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरियो । दोस्रो दिन पूजास्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो भने तेस्रो दिन बुधबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरिएको थियो । नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्छ । आज पनि काठमाडौँ उपत्यका र काठमाडौँ उपत्यका बाहिरका शक्तिपीठमा भक्तजनको भीड लागेको छ ।
सम्बन्धित समाचार
२०८३ कार्तिक २१ गते शनिवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ कार्तिक १९ गते बिहीवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ कार्तिक १५ गते आइतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ कार्तिक १३ गते शुक्रवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असोज २८ गते बुधबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
ट्रेन्डिङ
लिपमोटर बी०३ एक्सको डेलिभरी सुरु,एकपटकको चार्जमा ५०५ किलोमिटरसम्म रेन्ज
फोटोनका १४ वटा विद्युतीय सवारी साधन (टीएम १ पीकअप) भाटभटेनी सुपरमार्केटलाई हस्तान्तरण
सेयर बजारमा भारी पहिरो,कारोबार रकम सवा ७ अर्ब नाघ्यो
यामाहाको ‘चङ्गा चेट’ अभियानमा १० लाख ३ हजार रुपैयाँको ग्रान्ड प्राइज विजेता घोषणा
विश्व मोबिलिटीको भविष्य देखाउँदै ओमोडा र जेकोको अन्तर्राष्ट्रिय युजर समिट २०२६
