काठमाडौं । साविक विजेता जनकपुर बोल्ट्समाथि रोमाञ्चक जित निकाल्दै विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा लगातार तेस्रो जित हात पारेको छ ।
विराटनगरले जनकपुर बोल्टसलाई जारी एनपीएलमा ९ रनले पराजित गरेको हो । साविक विजेता जनकपुरको यो लगातार दोस्रो हार हो ।
विराटनगरले दिएको १३६ रनको लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले पूरै २० ओभरमा खेल्दा ९ विकेट गुमाएर १२६ रन मात्र बनाउन सक्यो ।
जान निकोल लोफ्टी इटनले ४१ रन बनाउँदा लाहिरु मालिन्थाले २३, सञ्जय कृष्णमुर्तीले २०, आसिफ शेखले १३ रन जोडे।बलिङतर्फ विराटनगरका सन्दीप लामिछानेले चार, सुर्य तामाङले दुई तथा शुभम रन्जाने र मर्चान्ट डि लान्जले एक–एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङमा उत्रिएको विराटनगरले २० ओभरमा ७ विकेटको क्षतिमा १३५ रन जोड्यो । उसका लागि बसिर अहमदले सर्वाधिक ३६ रन जोडे । यस्तै, लोकेश बमले २८, शुभम रन्जानेले १५, मार्टिन गप्टिलले १३, जर्ज मुन्सीले १० रन जोडे।
जनकपुरका संगीथ कुरेले ४ ओभरमा २६ रन खर्चेर दुई विकेट लिए भने रुपेश सिंहले २ ओभरमा १२ रन खर्चेर दुई विकेट लिँदा आदित्य महताले २ ओभरमा १६ रन खर्चेर एक विकेट लिए।
पहिलो खेलमा जनकपुर काठमाण्डु गोर्खाजसँग पराजित भएको थियो। विराटनगरले पहिलो खेलमा पोखरा एभेन्जर्सलाई तथा दोस्रो खेलमा काठमाण्डु गोर्खाजलाई हराएको थियो।




