Jankari Kendra
२७ श्रावण २०८३, बुधबार
Worldlink

आज विवाह पञ्चमी, जनकपुरधाममा भव्य सीता–राम विवाह महोत्सव

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, मंसिर, १०
आज विवाह पञ्चमी, जनकपुरधाममा भव्य सीता–राम विवाह महोत्सव

काठमाडौं । त्रेतायुगमा मार्गशीर्ष शुक्ल पञ्चमीका दिन राम र सीताको विवाह भएको सम्झनामा आज देशभर विवाह पञ्चमी पर्व धुमधामका साथ मनाइँदैछ। राम–सीताको पूजा–आराधना, भजन–कीर्तन र विशेष धार्मिक अनुष्ठानसहित भक्तजनले यो पर्व श्रद्धापूर्वक मनाइरहेका छन्।

मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा आज भगवान् राम र सीताको विवाह महोत्सव विधिपूर्वक सम्पन्न हुँदैछ। गोस्वामी तुलसीदासले रामायणमा वर्णन गरेअनुसार मिथिलावासीले यो दिनलाई विशेष पर्वका रूपमा मनाउँदै आएका छन्।

रामायणका अनुसार, मिथिलाका राजा जनकले छोरी सीताको स्वयंवरमा राखिएको शिवधनुष उचालेर रामले तीन टुक्रा पारेपछि मार्गशीर्ष शुक्ल पञ्चमीकै दिन उनीहरूको विवाह सम्पन्न भएको उल्लेख छ। स्वयंवरमा ५६ कोटी देवताको उपस्थिति रहेको विश्वास रहँदै आएको छ।

महोत्सवमा मिथिलाको सांस्कृतिक परम्पराअनुसार मटकोर, तिलकोत्सव, स्वयंवर र विवाह संस्कार सम्पन्न गरिन्छ। राम मन्दिरबाट बाजागाजा, झाँकी र विशेष रूपमा सुसज्जित डोला सिंहासनमा रामको प्रतिमा राखी रङ्गभूमितर्फ लगिन्छ। त्यस्तै, जानकी मन्दिरबाट सीतालाई डोलामा राखी स्वयंवर स्थलमा पुर्‍याइन्छ।

रङ्गभूमिमा वैदिक विधिअनुसार स्वयंवर र विवाह संस्कार सम्पन्न गरिएपछि सीता–रामलाई पुनः जानकी मन्दिरमा ल्याइन्छ। विशेष शोभायात्रामा मिथिलाका विभिन्न ठाउँका साथै सीमावर्ती भारतीय क्षेत्रबाट आएका भक्तजनको ठूलो सहभागिता हुने गर्दछ।

वर–बधू पक्षबीच हुने हाँसो–ठट्टा, गाउँ–गाउँबाट ल्याइने प्रतीकात्मक झाँकी तथा लाखौँ श्रद्धालुको उत्साहले जनकपुरधाममा वास्तविक विवाहको वातावरण झल्किने गर्दछ। विगतमा तिरहुतियागाछीमा मनाइने यो महोत्सव दुई दशकदेखि रङ्गभूमिमा विशेष कार्यक्रमसहित आयोजना हुँदै आएको छ।

भक्तजन आज बिहानैदेखि पवित्र सरोवर तथा नदीमा स्नान गरी पूजाअर्चना गरिरहेका छन्। भजन–कीर्तन, रामलीला, झाँकी र प्रवचनजस्ता धार्मिक कार्यक्रम पनि आयोजना भइरहेका छन्। देवताको मानवीयकरणसँग सम्बन्धित यो पर्वमा सहभागी भए मनोवाञ्छित फल र मोक्ष प्राप्त हुने विश्वास छ।

पहिले एक महिनासम्म भव्य रूपमा मनाइने महोत्सव अहिले चार दिन मात्र मनाउने गरिएको छ। देशभरका राम–सीता मन्दिरहरूमा पनि विशेष पूजा–आराधना र सांस्कृतिक कार्यक्रमसहित विवाह पञ्चमी मनाइँदैछ।

naima expoTop Changing Nepal

युट्युब सट्स