आज उँधौली पर्व मनाउँदै किराँत समुदाय, देशभर सार्वजनिक बिदा
काठमाडौं । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज पितृको मान र प्रकृतिको सम्मानका रूपमा किराँत समुदायले उँधौली पर्व मनाउँदैछन्। किरात समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उँधौली सकेला र लिम्बूहरूले चासोक तङ्नाम पर्वका नाममा उँधौली धुमधामसँग मनाउँदैछन् ।
लिम्बूहरूले चासोक तङ्नाम पर्व तीन दिनअघि नै मनाउन सुरु गरेका थिए । यो पर्वको पहिलो दिन थियो । आज संयुक्त रूपमा यस समुदायका सबैले उँधौली सकेला अर्थात् उँधौली पर्व मनाउँछन् ।
किरात संस्कृतिबारे अनुसन्धानरत कीर्तिकुमार दुमी राई किराँतभित्रका जातजातिले मनाउने यो पर्वलाई फरक फरक नाम दिए पनि समग्रमा उँधौलीका नामले चिनिने बताउँछन् ।
किराँत समुदायले आफूले लगाएको अन्नबाली पाकेपछि इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई पर्वका रूपमा मनाउँछन् । बाली लगाउने बेलामा भने किराँत जातिमा यावा अर्थात् उँभौली पर्व मनाइने प्रचलन छ ।
भूमिपूजाका लागि बिहानैदेखि किराँत महिला तथा पुरुषहरू जातीय वेशभूषामा सजिएर च्याबु्रङ बाजाको तालमा धाननाच नाच्दै पर्व मनाउने स्थानमा पुग्छन् । पर्व र रीतिरिवाज एउटै भए पनि आ–आफ्नो भाषाअनुसार पर्वलाई पुकार्ने चलन छ ।
ललितपुरको सानो हात्तीवन किराँतकालदेखिको ऐतिहासिक धार्मिक तीर्थस्थल मानिन्छ । आज त्यहाँ चाड विशेष रूपमा मनाइन्छ । लिम्बूहरूले युमासामाङ र थेवासामाङलाई आफ्नो इष्टदेवता मान्छन् भने किराँतहरू तागेरा निङ्वाफुमाङलाई आफ्नो देवताका रूपमा पुज्ने गर्छन् । तागेरा निङ्वाफुमाङलाई आकृति विनाको अदृश्य शक्ति मानिने भएकाले मूूर्ति वा प्रतिमा नहुने भनाइ छ।
पूजापछि आ–आफ्नो परम्पराअनुसार चण्डीनाच, च्याब्रुङनाच, ढोलनाचलगायतका नाच नाचेर मनोरञ्जन गर्छन् । पर्व मनाउन त्यहाँ भेला भएका किराँतहरूले आफ्नो परम्परगत सांस्कृतिक कार्यक्रम र विभिन्न खेलकुद प्रतियोगिता पनि आयोजना गर्ने परम्परा छ ।
वैशाख शुक्ल पूर्णिमामा उँभौली पूजा गरेका किराँतले आज उँधौली पूजा गरेपछि माथिबाट तल झर्ने गर्छन् । जसलाई पर्यावरण अनुकूलताअनुरुपका कामका रुपमा समेत लिइने अनुसन्धाता राईले बताए । जाडोमा तल झर्ने गर्मीमा माथि लेकमा जाने रूपमा पनि उधौली र उँभौली पर्वलाई लिने गरिन्छ ।
उँभौलीमा खेतीपाती राम्रो होस् भनी पूजा गर्ने र उधौलीमा खेतीपाती राम्रो गरेकामा साकेला (भूमे) लाई धन्यवाद दिने पर्वका रूपमा मनाउने गरिएको विश्वाससमेत किराँत जातिमा छ । दुवै पर्वलाई किराँत समुदायले भव्य रूपमा मनाउँछन्।
खस आर्यले मनाउने धान्य पूर्णिमा, नेवार समुदायले मनाउने यः मरि पुन्हि अर्थात् योमरी पूर्णिमा र किराँत समुदायले मनाउने उधौली पर्वको भाव भने एकै छ । नयाँ अन्न बाली भित्र्याएपछि आ आफूले मानेका देवी देवतालाई चढाएर खाने परम्परा । यस पर्वका अवसरमा विगतमा काटिएको बिदालाई सरकारले पुनः दिन थालेको छ । यस अवसरमा आज देशभर सार्वजनिक बिदा दिइएको छ ।
सम्बन्धित समाचार
नाडा र भन्सार विभागविच हालैको वाढीबाट अटोमोवाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल
दशैंमा बजाजको ‘गेम अफ पावर’, राइडरका लागि पुरस्कारदेखि च्याम्पियनसँगको भेटसम्म
बीपीसीद्वारा काठमाडौंमा एसीसीए क्रिकेट लिग २०२६ आयोजना
प्राधान हार्डवेयर ग्यालरीको उद्घाटनसँगै कजारिया रमेश टायल्सको डिलर नेटवर्क थप विस्तार
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
आज तीन प्रदेशमा भारी बर्षा हुन सक्ने
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट


