काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानतर्फको हवाई भाडा घटाएको छ। नेपाल आयल निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर ४० रुपैयाँले घटाएपछि प्राधिकरणले नयाँ भाडादर लागू गरेको हो।
प्राधिकरणका अनुसार संशोधित हवाई भाडादर बुधबारदेखि नै कार्यान्वयनमा आएको छ। इन्धनको मूल्य घटेसँगै विभिन्न गन्तव्यको हवाई भाडामा पनि कटौती गरिएको छ।
नयाँ भाडादरअनुसार काठमाडौं–धनगढी उडानको भाडा १ हजार ७६५ रुपैयाँले घटेको छ भने काठमाडौं–सिमरा उडानको भाडा ३६० रुपैयाँले कम भएको छ।
प्राधिकरणले हवाई इन्धनको मूल्य समायोजनका आधारमा नियमित रूपमा आन्तरिक उडानको भाडादर पुनरावलोकन गर्दै आएको जनाएको छ। नयाँ भाडादर लागू भएसँगै यात्रुले अधिकांश आन्तरिक गन्तव्यमा केही सस्तो भाडामा यात्रा गर्न सक्नेछन्।



