Jankari Kendra
५ मंसिर २०८३, शुक्रबार

यान्त्रीकरण प्रदर्शनीमा दैनिक ५० जनालाई उपहार, अन्तिम दिन मिनी ट्रेलर जित्ने मौका

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८३, मंसिर, ५
यान्त्रीकरण प्रदर्शनीमा दैनिक ५० जनालाई उपहार, अन्तिम दिन मिनी ट्रेलर जित्ने मौका

काठमाडौं । आगामी मंसिर ४ देखि ६ गतेसम्म (नोभेम्बर २० देखि २२, २०८३) काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीमा सहभागी अवलोकनकर्तालाई आकर्षक उपहार प्रदान गरिने भएको छ ।

प्रदर्शनी अवधिभर प्रत्येक दिन ५० जना अवलोकनकर्तालाई लक्की ड्रमार्फत विभिन्न कृषि सामग्री उपहार प्रदान गरिने आयोजकले जनाएको छ । लक्की ड्रबाट छनोट हुने विजेताले कृषि मेसिनरी, मल, स्प्रे, मल्चिङ प्लास्टिक, मकै छोडाउने विद्युतीय मेसिनलगायत साना कृषि औजार तथा उपकरण प्राप्त गर्नेछन् भने लक्की ड्रका प्रमुख विजेतालाई प्रदर्शनीको अन्तिम दिन मिनी ट्रेलर उपहार प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।

‘कृषिमा यन्त्र र प्रविधिः कृषक र राष्ट्रको समृद्धि’ भन्ने मूल नाराका साथ आयोजना हुने प्रदर्शनीमा १०० भन्दा बढी प्रदर्शक, दुई हजारभन्दा बढी कृषि यन्त्र तथा उपकरण र २०० भन्दा बढी स्टल रहेको छ । प्रदर्शनीले आधुनिक कृषि यान्त्रीकरण, नवीन प्रविधि तथा कृषि उपकरणको प्रयोग विस्तारमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको जनाइएको छ ।

कृषि विभागअन्तर्गतको राष्ट्रिय कृषि इन्जिनियरिङ तथा यान्त्रीकरण प्रवर्द्धन केन्द्र, हरिहरभवन, ललितपुर र नेपाल कृषि मेसिनरी व्यवसायी संघको संयुक्त आयोजनामा प्रदर्शनी हुन लागेको बताइएको छ। प्रदर्शनीमा बागमती प्रदेश सरकारको कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालयले सहआयोजकको भूमिका निर्वाह गरेको जनाइएको छ ।

तीन दिनसम्म बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने प्रदर्शनीमा ५० हजारभन्दा बढी दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ ।

प्रदर्शनीमा ट्र्याक्टर, कृषि ड्रोन, रोपाइँ तथा बाली व्यवस्थापनका उपकरण, सिँचाइ प्रविधि, हरितगृह, शीतभण्डारणलगायत आधुनिक कृषि प्रविधि प्रदर्शन गरिनेछ । यसले किसान, कृषि उद्यमी तथा कृषि व्यवसायीलाई नवीन प्रविधिबारे जानकारी दिनुका साथै कृषि उत्पादनलाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाउन सहयोग पुग्ने आयोजकको विश्वास छ ।

Top Changing Nepal

युट्युब सट्स