नेपालमा कावेई १४ सिटे विद्युतीय भ्यान नेपालमाः मूल्य, रेन्ज र प्राविधिक विशेषता सहित
काठमाडौँ । कावेई १४ सिटे नेपालमा सार्वजनिक यातायातका लागि भित्र्याइएको पूर्ण विद्युतीय व्यावसायिक यात्रुवाहक भ्यान हो। यसले नेपालमा स्वच्छ, प्रभावकारी र किफायती सार्वजनिक यातायातलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको जनाइएको छ। यो भ्यान नेपालमा ह्याम्स मोटर्सले भित्र्याएको हो। कम्पनी नेपालका लागि कावेई विद्युतीय व्यावसायिक सवारीसाधनको आधिकारिक वितरक हो।
विशेषगरी डिजेलबाट चल्ने माइक्रोबसको विकल्पका रूपमा तयार गरिएको यस भ्यानले आधुनिक विद्युतीय सवारी प्रविधिसँगै यात्रु बोक्न आवश्यक व्यावहारिक सुविधाहरू प्रदान गर्छ भने नेपालमा यो मध्यम छत र अग्लो छत गरी दुई भेरियन्टमा उपलब्ध रहेको बताइएको छ। यसले यात्रुको आराम र भित्री ठाउँको आवश्यकताअनुसार ग्राहकलाई विकल्प प्रदान गर्ने कम्पनीले जनाएको छ।

कावेई १४ सिटे भ्यान व्यावसायिक तथा अन्य यातायातका आवश्यकतालाई ध्यानमा राखेर डिजाइन गरिनुका साथै पर्यटन व्यवसाय, विद्यालय यातायात, होटलको आवतजावत सेवा तथा संस्थागत प्रयोजनका लागि यसको प्रयोग गर्न सकिने जनाइएको छ। वातावरणमैत्री, कम खर्चिलो र दिगो यातायातका साधनमार्फत नयाँ व्यवसाय सुरु गर्न चाहनेहरूका लागि पनि यो उपयोगी विकल्प बन्न सक्छ। त्यस्तैगरी, दिगो यातायातका साधनको बढ्दो मागलाई सम्बोधन गर्न यसले सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
यस भ्यानमा ५३.५८ किलोवाट आवर क्षमताको सीएटीएल लिथियम आइरन फस्फेट ब्याट्री प्रयोग गरिएको छ। कम्पनीका अनुसार यसले एकपटक पूर्ण चार्ज गर्दा एनईडीसी मापदण्डअनुसार करिब ३०० किलोमिटरसम्म यात्रा गर्न सक्छ भने यात्रुवाहक सेवामा दैनिक सञ्चालनका लागि यो दूरी उपयुक्त मानिन्छ। विशेषगरी परम्परागत डिजेलबाट चल्ने सवारीसाधनको इन्धन खर्च तथा मर्मतसम्भार लागत घटाउन चाहने व्यवसायीका लागि यो उपयोगी हुन सक्ने दाबी गरिएको छ ।
यस भ्यानमा १४ जना यात्रु अट्ने फराकिलो भित्री भाग उपलब्ध छ भने यसको सिट व्यवस्था २ं प्लस ३ प्लसं ३ प्लस ३ प्लस ं३ रहेको छ, जसले समूहमा यात्रा गर्दा यात्रुलाई सहजता प्रदान गर्छ। यात्रुको आवतजावतलाई सहज बनाउन फराकिलो प्रवेशद्वार राखिनुका साथै चालकको कक्षलाई पनि आरामदायी र सुविधाजनक बनाइएको बताइएको छ। यसमा आफूअनुकूल मिलाउन सकिने चालक सिट, बहुउपयोगी स्टेयरिङ र स्पष्ट सूचना देखाउने उपकरण पाटी उपलब्ध छन्।

भ्यानको भित्री भागमा ठूला झ्यालहरू राखिएका छन्, जसले बाहिरको दृश्य राम्रोसँग देख्न र प्राकृतिक प्रकाश भित्रिन सहयोग गर्छन्। विशेषगरी अग्लो छतको बनावटले यात्रुलाई पर्याप्त टाउको चलाउन मिल्ने ठाउँ उपलब्ध गराउँछ। विभिन्न मौसममा यात्रुको आराम सुनिश्चित गर्न प्रभावकारी वातानुकूलन तथा हावा आवतजावत प्रणाली पनि दिइएको छ।
सुरक्षाका लागि यसमा सिट बेल्ट, एन्टिलक ब्रेकिङ प्रणाली, विद्युतीय ब्रेक बल वितरण प्रणालीका साथै बलियो बाहिरी संरचना उपलब्ध छन् भने यसबाहेक विद्युतीय झ्याल, केन्द्रीय ढोका ताल्चा प्रणाली, ब्लुटुथ तथा यूएसबी सुविधासहितको मनोरञ्जन प्रणाली, भित्री बत्ती र यात्रुका व्यक्तिगत सामान राख्न पर्याप्त ठाउँजस्ता सुविधासमेत उपलब्ध हुन सक्ने जनाइएको छ।
कावेई १४ सिटे भ्यानको स्पेसिफिकेसन
कावेई १४ सिटे विद्युतीय भ्यान मध्यम छत र अग्लो छत गरी दुई भेरियन्टमा उपलब्ध छ। दुवै भेरियन्टको मोडेल नम्बर एचक्यूजी ६५४० ई रहेको छ भने यी दुवै भ्यानमा १४ जना यात्रु अट्ने सिट व्यवस्था (२ं प्लस ३ प्लसं ३ प्लस ३ प्लस ३) दिइएको छ।
आकारका हिसाबले मध्यम छत भेरियन्टको लम्बाइ ५३४० मिलिमिटर र चौडाइ १७०० मिलिमिटर रहेको छ। यसको उचाइ २०८५ मिलिमिटर रहनुका साथै अग्लो छत भेरियन्टको लम्बाइ ५३७० मिलिमिटर, चौडाइ १७०० मिलिमिटर र उचाइ २२८५ मिलिमिटर रहेको छ। दुवै भेरियन्टमा २८९० मिलिमिटरको ह्विलबेस र १८० मिलिमिटरको ग्राउन्ड क्लियरेन्स उपलब्ध रहेको कम्पनीले जनाएको छ।
प्रदर्शनका लागि दुवै भेरियन्टमा स्थायी चुम्बकीय सिङ्क्रोनस मोटर प्रयोग गरिएको छ भने यसको मोटर क्षमता ५०/८० किलोवाट र अधिकतम टर्क २७० एनएम रहनुका साथै दुवै भेरियन्टमा ५३.५८ किलोवाट आवर क्षमताको सीएटीएल लिथियम आइरन फस्फेट ब्याट्री दिइएको छ। कम्पनीका अनुसार यसले एकपटक पूर्ण चार्ज गर्दा एनईडीसी मापदण्डअनुसार ३०० किलोमिटरसम्म रेन्ज प्रदान गर्छ।
चार्जिङका लागि दुवै भेरियन्टमा जीबीटी प्रणाली उपलब्ध हुनुका साथै ब्याट्रीको तापक्रम व्यवस्थापनका लागि ब्याट्री तताउने प्रणाली पनि दिइएको छ। यसमा १९५आर १५ एलटी ८ पीआर आकारका टायर प्रयोग गरिएको छ भने सहज नियन्त्रणका लागि विद्युतीय पावर स्टेयरिङ उपलब्ध छ।
सस्पेन्सनतर्फ अगाडि डबल विशबोन स्वतन्त्र सस्पेन्सन र पछाडि लिफ स्प्रिङ गैरस्वतन्त्र सस्पेन्सन दिइएको छ भने ब्रेकिङका लागि अगाडि डिस्क र पछाडि ड्रम ब्रेक प्रयोग गरिएको जनाइएको छ। कमपनीका अनुसार सुरक्षाका लागि एन्टिलक ब्रेकिङ प्रणाली (एबीएस), विद्युतीय ब्रेक बल वितरण प्रणाली (ईबीडी), सहायक ब्रेकिङ प्रणाली तथा ब्रेकिङ फोर्स बुस्टर उपलब्ध हुनुका साथै दुवै भेरियन्टमा यात्रुको सुरक्षाका लागि सिट बेल्ट पनि दिइएको छ।
दुवै भेरियन्टको मोटर, ब्याट्री, रेन्ज, टर्क र सुरक्षासम्बन्धी विशेषता समान रहेका छन् भने मुख्य भिन्नता भनेको आकार र उचाइमा रहेको छ। मध्यम छतको तुलनामा अग्लो छत भेरियन्ट २०० मिलिमिटर अग्लो रहेको छ।
कावेई १४ सिटे भ्यानलाई सार्वजनिक यातायात, पर्यटन, विद्यालय तथा कर्मचारी ओसारपसारका लागि आरामदायी, सुरक्षित र व्यावहारिक विद्युतीय सवारीसाधनका रूपमा तयार गरिएको कम्पनीले जनाएको छ। दुवै भेरियन्टका आफ्नै विशेषता रहेकाले ग्राहकले आफ्नो आवश्यकता र प्रयोगको प्रकृतिअनुसार उपयुक्त विकल्प छनोट गर्न सक्ने दाबी गरिएको छ।
नेपालमा कावेई १४ सिटे भ्यानको मूल्य
नेपाली बजारमा यसको मूल्य ५४ लाख ५० हजार रुपैयाँबाट सुरु हुन्छ। यसको मध्यम छत भेरियन्टको मूल्य ५४ लाख ५० हजार रुपैयाँ रहेको छ भने स्ट्यान्डर्ड भेरियन्टको मूल्य ५६ लाख ५० हजार रुपैयाँ तोकिएको र अग्लो छत भएको कावेई १४ सिटे भ्यानको मूल्य ६० लाख ९९ हजार रुपैयाँ रहेको कमपनीले जनाएको छ।
सम्बन्धित समाचार
आज एकैदिन सुनको मूल्यमा ६ हजार ३०० रुपैयाँको गिरावट
पश्चिमी वायुको प्रभाव जारी, बिहान हुस्सु लाग्ने सम्भावना
१२.७९ अंकले घट्यो नेप्से, ४ अर्ब ७५ करोडको कारोबार
आज देखि काठमाडौँ उपत्यकामा पशु वधवाला तथा मासु जाँच ऐन लागू
क्यूजे मोटर नेपालद्वारा पारस खड्का ब्रान्ड एम्बेसडरको रूपमा नियुक्त
