Jankari Kendra
५ मंसिर २०८३, शुक्रबार

यान्त्रीकरण प्रदर्शनीमा राउटे समुदायका उत्पादनलाई स्थान, रैथाने प्रविधिलाई प्राथमिकता

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८३, मंसिर, ५
यान्त्रीकरण प्रदर्शनीमा राउटे समुदायका उत्पादनलाई स्थान, रैथाने प्रविधिलाई प्राथमिकता

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आगामी मंसिर ४ देखि ६ गतेसम्म आयोजना हुने अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीमा राउटे समुदायका उत्पादनलाई विशेष प्राथमिकता दिएको छ । प्रदर्शनीमा राउटे समुदायका स्थानीय उत्पादन तथा परम्परागत सीप र प्रविधिको प्रवर्द्धन गर्ने उद्देश्यले दुईवटा स्टल निःशुल्क उपलब्ध गराएको आयोजकले जनाएको छ ।

नेपाल कृषि मेसिनरी व्यवसायी संघ (नामिया) का अध्यक्ष कृष्ण शर्माका अनुसार प्रदर्शनीमा राउटे समुदायका उत्पादनलाई बजार तथा उपभोक्तासमक्ष पुर्‍याउने उद्देश्यले दुईवटा स्टल निःशुल्क उपलब्ध गराएको हो।शर्माले भने, ‘कृषि यान्त्रीकरणको प्रवर्द्धनसँगै हाम्रो रैथाने सीप, प्रविधि र स्थानीय उत्पादनको संरक्षण तथा प्रवर्द्धन पनि उत्तिकै महत्त्वपूर्ण छ । त्यसैले राउटे समुदायका उत्पादनलाई प्रदर्शनीमा स्थान दिन दुईवटा स्टल निःशुल्क उपलब्ध गराउने निर्णय गरेका छौँ । ’

राउटे समुदायलाई प्रदर्शनीमा सहभागी गराउन ‘सोसेक नेपाल’ नामक संस्थाले नेतृत्व तथा समन्वय गरेको छ। संस्थाको पहलमा राउटे समुदायका प्रतिनिधिहरूलाई प्रदर्शनीमा ल्याई उनीहरूले उत्पादन गरेका परम्परागत तथा स्थानीय सामग्री प्रदर्शन र बिक्रीका लागि राखिएको छ भने यसबाट राउटे समुदायको मौलिक सीप, संस्कृति र उत्पादनलाई व्यापक पहिचान दिलाउनुका साथै बजारसँग जोड्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

कृषि यन्त्र र आधुनिक प्रविधिको प्रदर्शनमा केन्द्रित प्रदर्शनीमा रैथाने प्रविधि तथा परम्परागत उत्पादनलाई समेत समेटिनुलाई आयोजकले महत्त्वपूर्ण पक्षका रूपमा लिएको जनाइएको छ । आधुनिक कृषि प्रविधि र परम्परागत ज्ञान तथा सीपबीचको सम्बन्ध स्थापित गर्दै कृषि क्षेत्रको विविधता र मौलिकताको प्रवर्द्धन गर्ने उद्देश्य यस पहलले राखेको आयोजकको दाबी छ ।

कृषि विभागअन्तर्गतको राष्ट्रिय कृषि इन्जिनियरिङ तथा यान्त्रीकरण प्रवर्द्धन केन्द्र, हरिहरभवन, ललितपुर र नेपाल कृषि मेसिनरी व्यवसायी संघको आयोजना तथा बागमती प्रदेश सरकारको कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालयको सहआयोजनामा प्रदर्शनी भइरहेको छ ।

‘कृषिमा यन्त्र र प्रविधि: कृषक र राष्ट्रको समृद्धि’ भन्ने मूल नाराका साथ आयोजना हुने प्रदर्शनीमा १०० भन्दा बढी प्रदर्शक, दुई हजारभन्दा बढी कृषि यन्त्र तथा उपकरण र २०० भन्दा बढी स्टल रहेको छ । तीन दिनसम्म बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने प्रदर्शनीमा ५० हजारभन्दा बढी दर्शक सहभागी हुने अनुमान गरिएको छ ।

प्रदर्शनीमा ट्र्याक्टर, कृषि ड्रोन, रोपाइँ तथा बाली व्यवस्थापनका उपकरण, सिँचाइ प्रविधि, हरितगृह, शीतभण्डारणलगायत आधुनिक कृषि प्रविधि प्रस्तुत गरिने छ भने यसले किसान, कृषि उद्यमी तथा व्यवसायीलाई नवीन प्रविधिबारे जानकारी दिनुका साथै कृषि उत्पादनलाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको जनाइएको छ ।

Top Changing Nepal

युट्युब सट्स