खराब मौसमका कारण पर्यटन क्षेत्र प्रभावित
काठमाडौं । प्रतिकूल मौसमका कारण यस वर्षको शरद ऋतुमा विभिन्न हिमाल आरोहण र पदमार्गमा गएका तीन जनाले ज्यान गुुमाएका छन् भने सयौँ पर्यटक प्रभावित भएका छन् ।
खराब मौसमका कारण मनास्लुको आधार शिविरसहित विभिन्न क्याम्प पुगेका आरोही आरोहण पूरा नगरी फर्किन थालेका छन् । यस सिजनमा ४०४ जनाले आरोहण अनुमति लिएको मनास्लुमा झन्डै एक सय जतिले मात्रै आरोहण पूरा गरेको पर्यटन विभागले जनाएको छ ।
भदौ ८ गतेदेखि हिमाल आरोहण खुला भए पनि सुरुदेखिको बिग्रँदो मौसमका कारण विश्वविख्यात अमेरिकी स्की पर्वतारोही हिलारी नेल्सनले मनास्लुमा स्की गर्ने क्रममा ज्यान गुमाएकी छन् । त्यस्तैगरी शेर्पा गाइड अरुण राईले समेत मनास्लुमा ज्यान गुमाएका छन् । असोज २० गतेदेखि लार्केपासमा हराइरहेका गाइड ३८ वर्षीय पुस्तर पुछेत्तर शेर्पा पाँच दिनपछि मङ्गलबार मृत अवस्थामा फेला पर्नुभएको छ । उहाँको शव गोरखाको चुमनुब्री गाउँपालिका–१, सामागाउँस्थित धर्मशाला नजिकै भेटिएको हो ।
सोमबारसम्म मनाङमा फसेका ८२ आन्तरिक तथा बाह्य पर्यटकको उद्धार गरिएको छ । विभागका अनुसार यस वर्ष मनास्लुमा मुख्य आकर्षण देखिए पनि निरन्तरको बाक्लो हिमपात, दुई पटकको हिमपहिरो पर्दा आरोहण बन्द गरिएको छ । अन्य हिमालमा समेत खराब मौसमका कारण उल्लेख्य आरोहण हुन नसकेपछि आरोही फर्किन थालेका छन् ।
प्रतिकूल मौसमकै कारण हवाई उडानमा समेत असर पुग्दा आधार शिविर, लुक्ला, रामेछापको मन्थलीलगायतका क्षेत्रमा आरोही रोकिएका छन् । विभागका निर्देशक युवराज खतिवडाले यस पटक खराब मौसमका कारण मनास्लुमा मुस्किलले १० प्रतिशत पर्यटकले मात्रै आरोहण पूरा गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रतिकूल मौसमका कारण आरोहण, ट्रेकिङमा उल्लेख्य असर पुगेको छ । विभिन्न ठाउँमा पर्यटकहरू रोकिएका छन् । कतिपय स्थानमा आरोही पसेका छन् । खराब मौसमकै कारण हवाई उद्वार हुन सकेको छैन ।”
मनास्लु क्षेत्रमा जारी बाक्लो हिमपातले सामागाउँसम्म नै ढाकेपछि धेरैजसो आरोही फर्किसकेको र केही आरोही फर्किन उपयुक्त मौसमको पर्खाइमा रहेका छन् । खराब मौसमका कारण उडान नहुँदा मन्थलीमा झन्डै आठ सय र लुक्ला क्षेत्रमा दुई हजार पर्यटक रोकिएको निर्देशक खतिवडाले जानकारी दिनुुभयो । यस वर्ष विभिन्न ३१ वटा हिमाल आरोहणका लागि ९५ समूहका ७८५ जनाले अनुमति लिएका छन् । शरद ऋतुका लागि सगरमाथा, धवलागिरि, हिमलुङ, मनास्लु, न्युप्से, सरिबुङलगायतका हिमाल आरोहणका लागि खुला गरिएको थियो । अन्य हिमालमा आरोहण सकिए पनि हिमलुङ र अमादब्लममा भने अनुमति दिने क्रम जारी रहेको छ ।
हालसम्म अनुमति पाउनेमा ५९७ पुरुष र १८८ जना महिला आरोही रहेका छन् । यस पटक आरोहण अनुमतिबाट सरकारले छ करोड ५९ लाख ९३ हजार ५२४ रुपियाँ राजस्व सङ्कलन गरेको छ ।
विभागको तथ्याङ्कअनुसार गत वर्ष यस सिजनमा नेपालसहित ६७ देशका ८३ समूहले २८ हिमाल आरोेहणका लागि अनुमति लिएका थिए । गत वर्ष आरोहण अनुमति लिनेमा १३२ जना महिला र एक हजार ८४ जना पुरुष गरी कुल एक हजार २१६ जनाले अनुमति लिएका थिए ।
गत वर्ष अनुमति लिएकामध्ये ६४७ जना पुरुष र ११५ जना महिलाले आरोहण पूरा गरेका थिए । सो समयमा आरोहणबाट सरकारलाई चार करोड ६७ लाख आठ हजार ७२२ रुपियाँ राजस्व प्राप्त भएको थियो ।
विभागले दुई सिजनमा गरी मार्च, अप्रिल, मे महिनामा पर्ने वसन्त र सेप्टेम्बर, अक्टोबर र नोभेम्बर महिनामा पर्ने शरद ऋतुमा हिमाल आरोहण खुलाउने गरेको छ ।
सम्बन्धित समाचार
रसुवा बाढीमा अहिलेसम्म ७२ जनाको शव फेला
नामी भिगोको विशेष अफर समाप्त, नयाँ बुकिङ एमआरपीमै
स्कोडाद्वारा नेपालमा नयाँ जेनेरेसन कोडियाक सार्वजनिक: “रियल लक्जरी, एज इट सुड बी”
तिब्बतबाट रसुवामा पस्यो ठूलो बाढी,नदी आसपसका क्षेत्रमा जोखिम
नाडा अटो शो २०२६ मा यामाहा नेपालले नयाँ एक्सएसआर १५५ को अनावरण गर्ने
अत्याधुनिक फिचरले भरिएको फराइजनको भी ७ ई ईभी भ्यान नाडा अटो शोमा सार्वजनिक
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा


