Jankari Kendra
२८ आश्विन २०८३, बुधबार

कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८३, आश्विन, २८
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र

काठमाडौँ । नेपाल कृषि मेशिनरी व्यवसायी संघ (नामिया) ले कृषि क्षेत्रको आधुनिकीकरण, उत्पादन वृद्धि र व्यावसायीकरणका लागि कृषि यान्त्रीकरणमैत्री नीति कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ।

संघका अध्यक्ष कृष्ण शर्माको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीलाई भेट गरी १५ बुँदे ज्ञापनपत्र बुझाउँदै कृषि यन्त्र तथा प्रविधिको पहुँच विस्तार र स्वदेशी उद्योगको प्रवर्द्धनका लागि नीतिगत सुधार गर्न आग्रह गरेको जनाइएको छ।

संघले कृषि यान्त्रीकरणलाई बीउ, मल र सिँचाइजस्तै महत्त्वपूर्ण कृषि सामग्रीका रूपमा मान्यता दिनुपर्ने, कृषि यन्त्र तथा प्रविधिको आयातमा भन्सार सहुलियत उपलब्ध गराउनुपर्ने र स्वदेशी कृषि यन्त्र उत्पादन गर्ने उद्योगलाई प्रोत्साहन गर्नुपर्ने माग गरेको बताइएको छ। कृषि क्षेत्रमा श्रमिक अभाव, उत्पादन लागतमा वृद्धि, कृषियोग्य जमिनको खण्डीकरण र जलवायु परिवर्तनको प्रभाव बढ्दै गएकाले आधुनिक प्रविधिको प्रयोगलाई प्राथमिकता दिनुपर्ने संघको भनाइ छ।

ज्ञापनपत्रमा कृषि यन्त्र तथा उपकरण उत्पादन गर्ने स्वदेशी उद्योगलाई बैंकको ब्याजदरमा अनुदान, उद्योग स्थापना भएको पहिलो पाँच वर्षसम्म आयकर छुट तथा विद्युत् महसुलमा सहुलियत दिनुपर्ने माग गरिएको छ। त्यस्तै, कृषि कार्यमा प्रयोग हुने यन्त्र तथा उपकरणको आयात सहज बनाउन, भन्सार दर घटाउन तथा गुणस्तर परीक्षण र प्रमाणीकरणको व्यवस्था गर्न संघले सरकारको ध्यानाकर्षण गराएको जनाइएको छ। संघका अनुसार,कृषि यन्त्रहरूको गुणस्तरको निगरानी तथा नियन्त्रणलाई प्रभावकारी बनाउन नवलपुरमा निर्मित कृषि यन्त्र परीक्षण केन्द्रलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउनुपर्ने मागसमेत संघले गरेको छ।

संघका अध्यक्ष कृष्ण शर्माले कृषि क्षेत्रको रूपान्तरणका लागि यान्त्रीकरण र आधुनिक प्रविधिको विस्तार अपरिहार्य रहेको बताए। उनका अनुसार कृषि उत्पादन र उत्पादकत्व वृद्धि गर्न, उत्पादन लागत घटाउन तथा युवालाई कृषिमा आकर्षित गर्न किसानको आवश्यकताअनुसार कृषि यन्त्र तथा प्रविधि उपलब्ध गराउनुपर्छ।

उनले भने,“कृषि यान्त्रीकरणलाई प्राथमिकतामा राखेर नीति निर्माण र कार्यान्वयन गर्न सके मात्रै कृषि क्षेत्रलाई व्यावसायिक तथा प्रतिस्पर्धी बनाउन सकिन्छ। यसका लागि सरकारको साथ र सहयोग अपरिहार्य छ ।”

किसानलाई सम्मानित उद्यमीका रूपमा विकास गर्ने नीति आवश्यक रहेको उल्लेख गर्दै संघले किसानलाई आफूलाई आवश्यक पर्ने कृषि यन्त्र छनोट गर्न पाउने व्यवस्था गर्नुपर्नेमा जोड दिएको बताइएकोे छ। कृषि यन्त्र खरिदका लागि सहज कर्जा, बीमा सुविधा तथा अनुदानको रकम किसानकै खातामा जाने व्यवस्था गर्नुपर्ने माग पनि गरेको संघको दाबी छ।

त्यसैगरी, प्रत्येक पालिकामा कम्तीमा एउटा कृषि मेशिनरी वर्कसप र सुविधासम्पन्न नर्सरी स्थापना गर्नुपर्ने, महँगा कृषि यन्त्र खरिद गर्न नसक्ने किसानका लागि कस्टम हायरिङ सेन्टर विस्तार गर्नुपर्ने तथा कृषि यन्त्रको मर्मतसम्भारका लागि दक्ष जनशक्ति उत्पादन गर्न तालिम सञ्चालन गर्नुपर्ने माग ज्ञापनपत्रमा समेटिएको छ।

संघका अनुसार,कृषि यन्त्र तथा प्रविधिको प्रदर्शन र तालिमका लागि सार्वजनिक–निजी साझेदारीमा राष्ट्रियस्तरको प्रदर्शनी तथा तालिम केन्द्र स्थापना गर्न पनि संघले प्रस्ताव गरेको छ।

संघले कृषि ऐन, २०८१ अनुमोदन गर्न र कृषि यान्त्रीकरण नीति, २०७१ को पहिलो संशोधन प्रक्रिया टुङ्ग्याउन आग्रह गरेको छ भने कम्बाइन हार्भेस्टर आयात गर्दा स्ट्र बेलरसमेत अनिवार्य रूपमा आयात गर्नुपर्ने प्रावधान हटाउनुपर्ने माग पनि ज्ञापनपत्रमा उल्लेख गरिएको बताइएको छ। सबै किसानलाई स्ट्र बेलर आवश्यक नपर्ने भएकाले यस्तो व्यवस्थाले व्यवसायीमाथि अनावश्यक आर्थिक भार थपेको संघको तर्क छ।

विसं २०७१ मा स्थापना भएको नेपाल कृषि मेशिनरी व्यवसायी संघ कृषि यान्त्रीकरण तथा प्रविधि व्यवसायीहरूको छाता संस्था हो। संघले कृषि क्षेत्रमा कार्यरत व्यवसायी तथा उद्यमीका समस्या समाधान, प्रविधिको प्रवर्द्धन र सदस्यहरूको क्षमता अभिवृद्धिका लागि काम गर्दै आएको जनाइएको छ।

यसैबीच, कृषि यान्त्रीकरण तथा प्रविधिको प्रयोग विस्तार गर्ने उद्देश्यले काठमाडौँको भृकुटीमण्डपमा राष्ट्रियस्तरको कृषि यान्त्रीकरण प्रदर्शनी आयोजना हुने बताइएको छ। ‘कृषिमा यन्त्र र प्रविधि: कृषक र राष्ट्रको समृद्धि’ भन्ने मूल नाराका साथ प्रदर्शनी आगामी मंसिर ४ देखि ६ गतेसम्म (नोभेम्बर २० देखि २२, ०२६) सञ्चालन हुने आयोजकले जनाएको छ। प्रदर्शनी आयोजनाका विषयमा पनि नामियाले मन्त्री चौधरीसँग जानकारी आदानप्रदान तथा छलफल गरेको जनाएको छ।

कृषि विभागअन्तर्गतको कृषि यान्त्रीकरण प्रवर्द्धन केन्द्र र नेपाल कृषि मेशिनरी व्यवसायी संघको संयुक्त आयोजनामा हुने प्रदर्शनीमा बागमती प्रदेश सरकारको कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय सहआयोजक रहने बताइएको छ। नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको राष्ट्रिय कृषि इन्जिनियरिङ अनुसन्धान केन्द्र, नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको कृषि उद्यम केन्द्र तथा गाउँपालिका राष्ट्रिय महासंघ नेपाल सहयोगी संस्थाका रूपमा सहभागी हुने जनाइएको छ।

प्रदर्शनी बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने नामियाका सचिव श्रीकृष्ण अधिकारीले जानकारी दिए। प्रदर्शनीमार्फत किसान, कृषि उद्यमी तथा व्यवसायीलाई आधुनिक कृषि यन्त्र, उपकरण र नवीनतम प्रविधिबारे जानकारी उपलब्ध गराउनुका साथै कृषि यान्त्रीकरणको प्रयोग विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको बताइएको छ।

Top Changing Nepal

युट्युब सट्स