Jankari Kendra
३० आश्विन २०८३, शुक्रबार

टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८३, आश्विन, ३०
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल

नेपाल । एआईबाट सिर्जित कन्टेन्ट पहिचान गर्न, जिम्मेवार प्रयोग बढाउन र डिजिटल सुरक्षा मजबुत बनाउन टिकटकले विभिन्न नयाँ पहल सार्वजनिक गरेको छ। यसअन्तर्गत एआई साक्षरता विस्तार, स्पाम कन्टेन्ट पहिचान गर्ने प्रणालीको परीक्षण र कोलिसन फर कन्टेन्ट प्रोभेनेन्स एन्ड अथेन्टिसिटी (सी२पीए) सँगको सहकार्यलाई थप सुदृढ बनाउने योजना समावेश रहेको जनाइएको छ।

एनएएमएलई र एआई विज्ञ हेनरी अज्डरसँगको सहकार्यमा टिकटकले एआई टुल्सको जिम्मेवार प्रयोगसम्बन्धी गाइड तयार गरेको छ भने नेपालसहित विश्वभर उपलब्ध इन–एप एआई हबमार्फत प्रयोगकर्ताले एआई कन्टेन्ट पहिचान गर्ने, यसको प्रयोग बुझ्ने र जिम्मेवार ढङ्गले प्रयोग गर्नेबारे जानकारी प्राप्त गर्न सक्ने बताइएको छ।

टिकटकका अनुसार सन् २०२५ नोभेम्बरमा सुरु भएको एआई साक्षरता कार्यक्रममा नोफिल्टर र रास्पबेरी पाई फाउन्डेसनलगायतका संस्थाले तयार गरेका सामग्रीले २० करोडभन्दा बढी भ्युज प्राप्त गरेका जनाइएको छ। कम्पनीले यस कार्यक्रममा ४० लाख अमेरिकी डलरभन्दा बढी लगानी गरिसकेको छ र आगामी दिनमा पनि लगानी विस्तार गर्ने योजना बनाएको बताएको छ।

कम्पनीका अनुसार सन् २०२६ को पहिलो तीन महिनामा ८ करोड ६० लाखभन्दा बढी नक्कली अकाउन्ट हटाउनुका साथै कन्टेन्ट क्रिडेन्सियल्स, लेबलिङ टुल्स र नदेखिने वाटरमार्क प्रविधिको प्रयोगमार्फत ३ अर्बभन्दा बढी भिडियोमा एआईबाट सिर्जित कन्टेन्टको लेबल राखिएको जनाइएको छ।

यसैगरी, टिकटकले स्मार्ट स्प्लिट र एआई आउटलाइनजस्ता सिर्जनात्मक टुल्स विकास गर्नुका साथै प्रयोगकर्ताले आफूले हेर्ने एआई कन्टेन्टको मात्रा नियन्त्रण गर्न सक्ने म्यानेज टपिक्स फिचरको परीक्षण गरिरहेको दाबी गरेको छ। यी पहलले एआईको जिम्मेवार प्रयोग, कन्टेन्टको पारदर्शिता र प्रयोगकर्ताको सुरक्षालाई थप मजबुत बनाउने कम्पनीको लक्ष्य रहेको बताइएको छ।

Top Changing Nepal

ट्रेन्डिङ

युट्युब सट्स