काठमाडौँ । आज (मंगलबार) पनि सेयर बजारले ओरालो यात्रालाई निरन्तरता दिएको छ । नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक १२.८१ अंकले घटेर १८४५.५१ विन्दुमा झरेको छ । नेप्से ०.६९ प्रतिशतले घटेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि २.६६ अंकले घटेर ३६२.९६ विन्दुमा झरेको छ ।
कूल २१६ वटा कम्पनीको २१ लाख ५१ हजार ७ सय १४ कित्ता सेयर खरिदबिक्री हुँदा ६४ करोड ३६ लाख ७ हजार ९ सय ७५ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । स्टकका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये आज म्युचुअल फण्ड र होटल तथा पर्यटनबाहेक बाँकी सबै उपसमूहको सेयर घटेको छ ।
आज सोल्टी होटेलको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ३ करोड ७२ लाख १२ हजार रूपैयाँ बराबरको कारोबार भएको हो । मंगलबार २ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेड र सयपत्री हाइड्रोपावरको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । यस दिन पिपुल्स पावर कम्पनी लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै घटेको छ । कम्पनीको सेयरमूल्य ७. ४७ प्रतिशतले घटेर प्रतिकित्ता २ सय १३ रूपैयाँमा झरेको छ ।




