काठमाडौं । नेपाल क्रिकेट संघ क्यान ले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालमा हुने त्रिकोणात्मक सिरिजका लागि १४ सदस्यीय टिम घोषणा गरेको छ ।
क्यानले पूर्वकप्तान सन्दीप लामिछानेलाई समेट्दै बिहिबार टिम घोषणा गरेको हो । क्यानले निलम्बन फुकुवा गरेपछि सन्दीप पहिलो पटक राष्ट्रिय टोलीमा परेका हुन् ।
नाबालिगलाई बलात्कारको आरोप लागेपछि क्यानले सन्दीपलाई निलम्बन गरेको थियो । तर, मुद्दाको किनारा नलाग्दै क्यानले निलम्बन फुकुवाको निर्णय गरेको थियो ।
उनीविरुद्ध बलात्कार मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन छ । क्यानले गत भदौ २३ गते सन्दीपलाई निलम्बन गरेको थियो । उच्च अदालत पाटनको आदेशसँगै सन्दीप २० लाख धरौटी बुझाएर पुस २९ गते थुनामुक्त भएका थिए ।
क्यानले घोषणा गरेको टिममा सन्दीप जोरा, कुशल मल्ल र भीम सार्कीले पुनरागमन गरेका छन् । सूर्य तामाङ पहिलोपटक राष्ट्रिय टिममा परेका छन् । नेपाली टोलीको कप्तानी रोहित कुमार पौडेलले गर्नेछन् ।
नेपाल, नामिबिया र स्कटल्याण्ड सम्मिलित सिरिज फेब्रुअरी १४ देखि २१ सम्म हुनेछ । सिरिजको पहिलो खेलमा नेपालले नामिबियासँग खेल्नेछ । जुन खेल फेब्रुअरी १४ मा हुनेछ ।
यस्तै दोस्रो खेल फेब्रुअरी १७ मा स्कटल्याण्डसँग खेल्नेछ । नेपालले फेब्रुअरी १८ मा नामिबियासँग दोस्रो खेल खेल्नेछ । स्कटल्याण्डसँग फेब्रुअरी २१ मा खेल्नेछ ।






