राष्ट्रपति निर्वाचनमा टुटेको एमाले–माओवादी गठबन्धन राष्ट्रिय सभा अध्यक्षको निर्वाचनमा जोडिने !
काठमाडौं । आगामी फागुन २० गतेबाट रिक्त हुने राष्ट्रिय सभाका १९ सिटमा बिहीबार निर्वाचन सम्पन्न भएको छ । बिहीबार भएको निर्वाचनमा १९ सिटमध्ये सत्ता गठबन्धनका १८ र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका १ जना उम्मेदवार विजयी बनेका छन् ।
सातै प्रदेशमा साझा उम्मेदवार उठाएर मैदानमा उत्रिएको सत्ता गठबन्धनले कोशी प्रदेशको महिलातर्फ भने अप्रत्याशीत पराजय ब्यहोरेको छ । प्रदेशमा महिलातर्फकी सत्ता गठबन्धनकी साझा उम्मेदवार नेकपा माओवादी केन्द्रकी नेतृ चम्पादेवी कार्कीलाई पराजित गर्दै नेकपा एमालेकी उम्मेदवार रुक्मिणी कोइराला विजयी भएकी छन् ।
उनले ५ हजार ८६ मत प्राप्त गरेकी छन्। प्रतिस्पर्धी माओवादीकी चम्पादेवी कार्कीले ४ हजार ९९२ मत पाइन्। प्रष्ट बहुमत हुँदा पनि सत्ता गठबन्धनले कोशीमा हार भोगेको छ ।
राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनका मतदाताले ‘फ्लोर क्रस’ गर्दा कार्कीले पराजय व्यहोर्नु पर्यो।
स्थानीय तहमा सत्ता गठबन्धनका १७ जना जनप्रतिनिधि र प्रदेशमा तीन जना सांसदले ‘फ्लोर क्रस’ गरेका छन्।
राष्ट्रिय सभा निर्वाचनमा कोशीमा एमाले र राप्रपाले तालमेल गरेका थिए। एमालेका उम्मेदवार विजयी भए पनि राप्रपाका उम्मेदवार भने पराजित हुन पुगे।
राष्ट्रिय सभाका १९ सिटमा निर्वाचन भएको हो। जसमा नेपाली कांग्रेसका १०, माओवादी ५, एकीकृत समाजवादी २ र जनता समाजवादी पार्टीका एक उम्मेदवार विजयी भएका छन् । माओवादीले एक सिट गुमाउँदा एमालेले एक सिट जितेको हो।
सत्ता गठबन्धनले सातै प्रदेशमा आफ्ना साझा उम्मेदवार विजयी गराउन संयुक्तरुपमा अपीलसमेत जारी गरेको थियो । तर, गठबन्धन दलले गरेको निर्णय र दिएको निर्देशनको अवज्ञा गर्दै सत्ता साझेदार दल नेपाली कांग्रेसका ठूलै संख्यामा मतदाताले विपक्षी उम्मेदवार कोइरालालाई मत दिएपछि भने सत्ता साझेदार दलबीचको सम्बन्धमा दरार आउने संकेत देखिएको छ ।
कोशीमा खुल्लातर्फ सत्ता गठबन्धनकै उम्मेदवार नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले चुनाव जित्दा महिलातर्फ आफूहरुको उम्मेदवार पराजित भएको भन्दै माओवादी केन्द्र आक्रोशीत बनेको छ । कोशी प्रदेश माओवादी केन्द्रका अध्यक्ष हर्कबहादुर नेम्वाङले पटक पटक कांग्रेसले धोका दिएको भन्दै सत्ता सहकार्य तोड्ने चेतावनी दिएका छन् । उनले यस विषयमा पार्टीमा निर्ममढंगबाट समीक्षा हुनुपर्ने र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष जोडदार रुपमा कुरा उठाउने बताएका छन् ।
बिहीबारको निर्वाचन परीणामबाट झस्किएको माओवादी र संयमित बनेको नेपाली कांग्रेस अब कसरी अगाडि बढ्छ । सत्ता गठबन्धनको भविष्य के हुन्छ त्यो विस्तारै खुल्दै जाने विषय हो तर, बिहीबारको परीणामले प्रधानमन्त्री प्रचण्ड स्वयं सत्ता साझेदार दल नेपाली कांग्रेससँग झस्किएका छन् । प्रधानमन्त्री प्रचण्ड नेपाली कांग्रेसले पटक-पटक धोका दिएको भन्दै कांग्रेससँगको सहकार्य तोडेर नेकपा एमालेसँग मिल्नेगरी अगाडि बढ्न चाहेका छन् ।
माओवादी केन्द्र निकट स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले नेकपा एमालेसँग निरन्तर संवाद गरिरहेका छन् । पार्टीका दोस्रो तहका नेतामार्फत प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलसँग छलफल गर्ने जिम्मा दिएका छन् । माओवादी केन्द्रमा पनि पछिल्लो समय वामपन्थी दलबीच सकेसम्म पार्टी एकता र नभएपनि सहकार्य गरेर अगाडि बढ्नुपर्ने मत बलियो बन्दै गएको छ । माओवादीमा प्रचण्डपछि शक्तिशाली मानिने नेताद्धय जनादर्न शर्मा र वर्षमान पुन नै पछिल्लो समय एमालेसँग मिल्नुपर्ने पक्षमा पुगेपछि प्रचण्ड दवावमा परेको स्रोतको दाबी छ ।
होला त एमाले-माओवादी सहकार्य ?
त्यसो त २०७४ सालको प्रतिनिधि सभाको निर्वाचनको सम्मुखमा तत्कालीन प्रधानमन्त्री शेरबहादर देउवासँगको सत्ता सहकार्य तोडेर नेकपा माओवादी केन्द्रले एमालेसँग मिलेर चुनाव लडेको थियो भने चुनावपछि दुवै पार्टी एकता गरेर नेकपा बनेको थियो । पार्टी एकताको दुई वर्ष राम्रैसँग चलेपनि तत्कालीन अध्यक्षद्धय प्रचण्ड र केपी शर्मा ओलीको पदीय लुलुप्ता र घमण्डले पार्टी एकता लामो समय टिक्न सकेन् र नेकपा विभाजन भयो । नेकपाको एकता सर्वोच्च अदालतले भंग गरिदिएपछि एमाले र माओवादी आ-आफ्नै अवस्थामा फर्किएका थिए ।
पार्टी विभाजनपछिका साँढे दुई वर्ष एकअर्काको मुखसमेत हेर्न नरुचाएका आोली र प्रचण्ड गत वर्ष मंसिर ४ मा सम्पन्न आम निर्वाचनपछि एकाएक नजिक भए । एमालेकै समर्थनमा गत पुस १० मा प्रचण्ड मुलुकको प्रधानमन्त्री बने । तर, एमाले माओवादीको सहकार्य लामो समय टिक्न सकेन् । प्रधानमन्त्री चयनका बेला बनेको एमाले माओवादी गठबन्धन राष्ट्रपति निर्वाचनमा टुट्यो ।
तत्कालीन अवस्थामा प्रधानमन्त्री र उपराष्ट्रपति माओवादीले लिने राष्ट्रपति र सभामुख एमालेले लिने सहमतिलाई माओवादी केन्द्रले पालना गरेन । एमालेको हातबाट सत्ता र राष्ट्रपति दुवै गुम्यो भने माओवादीले सत्ता जोगाएपनि उपराष्ट्रपति जोगाउन सकेन ।
राष्ट्रपति निर्वाचनमा कांग्रेसँग मिलेर एमालेलाई धोका दिएको भन्दै प्रचण्ड र माओवादीसँग एमाले नेताहरु रुष्ट बनेका थिए । एमालेले प्रचण्डले धोका दिएको आरोप लगाएपनि प्रधानमन्त्री प्रचण्डले भने एमालेलाई विभिन्न अवसरमा सदासयता नै देखाउँदै आएका छन् ।
प्रतिनिधि सभामा रहेका संसदीय समितिका सभापति चयन गर्नेबेला पनि प्रचण्डले नै सदासयता देखाउँदै एमालेलाई तीन समितिको नेतृत्व दिलाएका थिए भने सर्वोच्च र उच्च अदालतमा न्यायाधीश नियुक्त गर्दासमेत एमालेलाई समेटेका छन् । यता एमाले नेताहरु पनि पछिल्लो समय माओवादी पार्टी र प्रधानमन्त्रीसँग नरम देखिँदै आएका छन् ।
बिहीबार सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा पनि प्रचण्ड एमालेलाई समेटेर जाने पक्षमा थिए । तर, एमालेले सत्ता गठबन्धनसँग ६ सिट दावी गरेपछि सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले नमानेपछि प्रचण्डको प्रयासले सार्थकर्ता पाउन सकेन । राष्ट्रिय सभा निर्वाचनमा सहकार्य सम्भव नभएपनि एमाले र माओवादीबीच आगामी दिनमा सहकार्य गरेर अगाडि बढ्ने समझदारी बनेको स्रोतको दाबी छ ।
असंलग्न राष्ट्रहरुको शिखर सम्मेलनमा गत साता युगाण्डा जानुअघि पनि प्रधानमन्त्री प्रचण्डले एमालेसँग निर्णायक छलफल गर्न पार्टीबाट आफ्ना विशेष दूत खटाएको स्रोतको दाबी छ । एमाले र माओवादी दुवै दलमा यसअघिका गल्ती र कमिकमजोरी भुलेर पुनः नयाँ शिराबाट सत्ता सहकार्य अगाडि बढाउनुपर्ने आवाज बलियो बनेको छ ।
प्रधानमन्त्री प्रचण्ड युडाण्डा भ्रमणबाट फर्किएकै भोलिपल्ट पनि एमाले नेता र प्रचण्डबीच सिंहदरबारमा लामो छलफल भएको थियो । एमालेले मंसिरमा गरेको समृद्धिका लागि संकल्प यात्राका क्रममा समेटिएको सुझाव बुझाउन सिंहदरबार पुगेका एमाले अध्यक्ष ओलीसँग् प्रचण्डले करिब १ घण्टा गोप्य वार्ता गरेको स्रोतको दाबी छ । उक्त वार्तामा यसअघिका घटनालाई निर्मम ढंगले समीक्षा गरेर पार्टी एकता नै गर्नेसम्मको छलफल भएको बताइएको छ ।
यता राष्ट्रिय सभा निर्वाचन सम्पन्न भईसकेपछि राष्ट्रिय सभाको नयाँ अध्यक्षलाई लिएर सत्ता गठबन्धनमा दावी सुरु भएको छ । आगामी फागुन २० गतेबाट हालका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना बिदा हुँदैछन् । उनी अध्यक्षबाट बिदा भएसँगै नयाँ अध्यक्ष चयन गर्नुपर्ने हुन्छ । हालसम्म अध्यक्षका लागि माओवादी केन्द्र र नेपाली कांग्रेस दुवैले दाबी गर्दै आएका छन् । कांग्रेसबाट राष्ट्रिय सभामा अध्यक्ष बन्नकै लागि कृष्ण सिटौला राष्ट्रिय सभामा गएको देखिन्छ भने माओवादीले पनि आफ्नो दाबी शसक्त बनाउँदै लगेको छ ।
राष्ट्रिय सभा अध्यक्षको निर्वाचनमा नेपाली कांग्रेसले आफ्नो दाबी नछाडे एमालेसँग मिलेर आफ्नो दललाई जिताउने रणनीति माओवादीले बनाएको स्रोतको दाबी छ । यदि त्यस्तो भएको खण्डमा राष्ट्रपति निर्वाचनमा टुटेको एमाले माओवादी गठबन्धन राष्ट्रिय सभा अध्यक्षको निर्वाचनमा जोडिने देखिन्छ ।
सम्बन्धित समाचार
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
साइमेक्सद्वारा देशभर ‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु, सबै सर्भिस सेन्टरमा लागु
कडा प्रतिबन्धका बिचमा २२ अर्ब डलर कमाउन उत्तर कोरिया सफल
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
पृथ्वी मुनि विशाल परिमाणमा भेटियो सुन, सतहमा फैलाए ५० सेमी बाक्लो तह
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
ट्रेन्डिङ
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
जर्मनीमा अत्याधिक गर्मीले मृत्यु हुनेको संख्या १० हजार नाघ्यो
दक्षिण कोरियामा शताब्दीको सबैभन्दा बढी तापक्रम रेकर्ड, पुग्यो ४२.५ डिग्रि सेल्सियस

