काठमाडौँ । साताको दोस्रो कारोबार दिन ‘सोमबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक तिव्र उत्तारचढावसहित सामान्य अंकले बढेर बन्द भएको छ । आईतबार उच्च अंकले बढ्दै पछिल्लो ५ महिनाकै उच्च कारोबार भएको नेप्सेको दोस्रो दिन भने सोही यात्रा टिक्न सकेन ।
सोमबार कारोबार समयको सुरुवातिमा उच्च अंकले नेप्से उकालो लागेपनि दिउसो १२ बजेपछि ओरालो यात्रा तय गरेको थियो । यद्यपी अन्तिम समयमा नेप्से परिसुचक २.४१ अंकले बढेर २७ सय ३० को विन्दुमा पुगेर रोकिएको हो ।
आज अघिल्लो कारोबार दिनको तुलनामा कारोबार रकममा पनि गिरावट आएको छ । कारोबार अवधिभर कुल ३ सय १९ कम्पनीका २ करोड ३७ लाख ७० हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ११ अर्ब ८७ करोड ५९ लाख रुपैयाँ पुगेको छ । यसअघि आईतबार भने कारोबार रकम १२ अर्ब ९५ करोड नाघेको थियो ।
आज कारोबारमा आएकामध्ये १ सय ३७ कम्पनीको सेयरमूल्यमा गिरावट आउँदा ९७ कम्पनीको सेयरमूल्य भने उकालो लागेको छ । आज २ कम्पनीको सेयरमूल्यमा सकारात्मक र २ कम्पनीकोमा नकारात्मक सर्किट लागेको छ ।