तेह्रथुमको धार्मिक एवंम् पर्यटकीय स्थल मार्गा पोखरी
तेह्रथुम । तेह्रथुम जिल्ला नेपालको पूर्वी पहाडी भू-भागमा अवस्थित सुन्दर जिल्ला हो। यही जिल्लाको छथर गाउँपालिको प्रमुख धार्मिक तथा पर्यटकिय स्थल मार्गा पोखरी प्राकृतिक, धार्मिक तथा सांस्कृतिक दृष्टिले अत्यन्तै महत्वपूर्ण स्थलको रुपमा स्थापित भएको छ।
हरियाली वनजंगलले घेरिएको, सधैं सफा र स्थिर जलस्रोत बोकेको, धार्मिक आस्थाले परिपूर्ण र पर्यटकीय रुपमा प्रचुर सम्भावना भएको यो पोखरी अहिले प्रचार-प्रसारको अभावमा ओझेलमा परेको छ।
मार्गा पोखरी छथर गाउँपालिका वडा नं. १ मा पर्छ। आङ्दिमको शिरमा रहेको यो पोखरी कोशी राजमार्ग हुँदै गाडीबाट धनकुटाको सिधुवा बजारदेखि सिधुवा-शुक्रबारे सडकखण्ड हुँदै चारमाने चोक आइपुग्न सकिन्छ। त्यस्तै, छथर गाउँपालिकाको मुख्य केन्द्र शुक्रबारे बजारबाट शुक्रबारे-सिधुवा सडकखण्ड हुँदै चारमाने चोकसम्म करिब ३० मिनेट पैदल हिँडेर वा मोटरसाइकलबाट घुमाउरो कच्ची बाटो हुँदै पोखरीसम्म पुग्न सकिन्छ।
पोखरी वरपरको क्षेत्र हरियाली जंगलले ढाकिएको छ, जसले गर्दा वातावरण शान्त, स्वच्छ र शीतल महसुस हुने गर्दछ। पोखरीसम्म पुग्ने यात्रामा पहाडको रमणीय दृश्य, चराचुरुङ्गीको चिरबिर आवाज र चिसो बतासले यात्रालाई अझ सुखद र अविस्मरणिय बनाउँदछ।
मार्गा पोखरीको प्राकृतिक विशेषता
मार्गा पोखरीको सबैभन्दा उल्लेखनीय पक्ष भनेको यसको पानी कहिल्यै सुक्दैन। वर्षा होस् वा खडेरी, पोखरीमा पानीको सतह स्थिर र शान्त हुन्छ।
पोखरीको पानी क्रिस्टलजस्तो सफा हुन्छ र सतहबाट तलसम्म देखिन्छ। स्थानीय जनविश्वास अनुसार यस पोखरीमा झरेका पातहरू एक विशेष किसिमका चराले सफा गर्छन् भन्ने किम्बदन्ती छ।
यो पोखरीको आकृति गोलाकारजस्तो छ र वरिपरि सानो सानो झाडी तथा रुखहरू छन्। चारैतिरबाट हरियालीले घेरेको यो पोखरी गर्मी समयमा समेत शितलता प्रदान गर्ने स्थानको रुपमा चिनिन्छ। यहाँ आउने जोकोहीलाई शारीरिक थकान हट्नुका साथै मानसिक शान्ति मिल्ने गर्छ।
धार्मिक र सांस्कृतिक महत्व
मार्गा पोखरी केवल प्राकृतिक सम्पदा मात्र होइन, यो स्थानले धार्मिक आस्था र परम्परासँग पनि गहिरो सम्बन्ध राख्दछ। यो पोखरी भगवती देवीको बासस्थानको रुपमा मानिन्छ।
जनैपूर्णिमाको दिन यहाँ ठूलो मेला लाग्ने गर्छ। टाढा-टाढाबाट भक्तजनहरू यहाँ पूजाआजा गर्न, ब्रत बस्न, भाकल गर्न तथा स्नान गर्न आउँछन्। यो क्षेत्रमा शेर्पा समुदायको बाक्लो बस्ती भएकाले पोखरीको नजिकै पूर्वकै पहिलो मालिङ गुम्बासमेत रहेको छ। शेर्पा समुदायको खानपान संस्कार संस्कृति रीतिरिवाज समेत यस क्षेत्रमा हेर्न पाइने गरेको छ।
स्थानीय जनविश्वास अनुसार यस पोखरीमा स्नान गरेमा पापमोचन हुन्छ र सच्चा मनले मागेको वरदान अवश्य पूरा हुन्छ। यसैले धेरै धामी-झाँक्री, साधक तथा साधारण भक्तजनले पनि यहाँ आएर तपस्या, ध्यान र पूजा गर्ने परम्परा रहेको छ।
पर्यटकीय सम्भावना
यो पोखरी केवल धार्मिक दृष्टिले मात्र नभई पर्यटकीय दृष्टिले पनि महत्वपूर्ण सम्भावना बोकेको स्थल हो। पोखरीको वातावरण अत्यन्त रमणीय छ, जसले आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्न सक्छ। पहाडबाट देखिने रमाइला दृश्य, शान्त वातावरण, प्राकृतिक सौन्दर्य र ऐतिहासिकता मिसिएको यो पर्यटकका लागी स्थान एक आदर्श गन्तव्य बन्न सक्छ।
कोशी प्रदेश सरकार र स्थानीय तहले यसलाई पर्यटकीय केन्द्रको रुपमा विकास गर्ने दीर्घकालीन योजना ल्याउन सके यहाँ होमस्टे सञ्चालन, गाइड तालिम, स्थानीय उत्पादनको प्रवर्द्धन, धार्मिक पर्यटनको विकास लगायत विविध कार्यक्रम सञ्चालन गर्न सकिन्छ। यसले स्थानीय अर्थतन्त्रमा सकारात्मक असर पर्दछ।
मार्गा पोखरी तेह्रथुम जिल्लाको एक अनुपम पर्यटकीय र धार्मिक स्थल हो। यसको संरक्षण र प्रवद्र्धनले छथर गाउँपालिकाको मात्र नभइ सिंगो जिल्लाको पहिचान निर्माणमा योगदान पुर्याउन सक्छ ।
यहाँका प्रमुख सुधारका क्षेत्रहरू
-स्थायी संरचना (पैदलमार्ग निमार्ण, धर्मशाला, पार्किङ निर्माण
-विज्ञापन तथा प्रचारप्रसारको अभाव अन्त्य हुनु पर्दछ।
-स्थानीय गाइड तथा होमस्टे व्यवस्थापनको तालिम स्थानीयलाई प्रदान गर्नुपर्ने देखिन्छ।
-पर्यावरणीय संरक्षणका लागि बृक्षरोपण, फोहर व्यवस्थापन गर्नुपर्ने देखिन्छ।
-वार्षिक मेलालाई व्यवस्थित ढंगले आयोजना गर्ने र गराउने कार्यलाई प्राथमिकता प्रदान गर्नुपर्ने देखिन्छ।
मार्गा पोखरी केवल पोखरी मात्र होइन, यो प्राकृतिक वरदान, धार्मिक आस्था र पर्यटन सम्भावनाको त्रिवेणी हो। यसलाई संरक्षित गर्दै विकास गर्ने हो भने छथर गाउँपालिकाको मुख्य आम्दानीको स्रोत बन्नेमा दुईमत छैन। साथै तेह्रथुमको समग्र पहिचान नै पर्यटकिय स्थलको मुख्य केन्द्रको रुपमा प्रस्तुत गर्न सकिन्छ।
सम्बन्धित समाचार
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक
“एलजीको उपहार, मनाऔँ दशैं र तिहार” योजना सार्वजनिक
भारी वर्षा र हिमपातको जोखिम, असोज ९–११ पदयात्रा नगर्न आग्रह
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नाडा र भन्सार विभागविच हालैको वाढीबाट अटोमोवाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट

