काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्म ६ अर्ब २० करोड रुपैयाँ खुद मुनाफा कमाएको छ। अघिल्लो वर्षको समान अवधिमा ६ अर्ब १३ करोड रुपैयाँ नाफा कमाएको बैंकको मुनाफा यस वर्ष १.१० प्रतिशतले वृद्धि भएको हो।
अघिल्लो वर्ष १६ अर्ब ८५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले गत वर्ष १६ अर्ब ७१ करोड रुपैयाँ आम्दानी गरेको छ। कुल आम्दानी भने २० अर्ब ६५ करोड रुपैयाँबाट बढेर २१ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ।
तर बैंकको सञ्चालन नाफा २.७५ प्रतिशत घटेर ८ अर्ब ७७ करोड रुपैयाँमा झरेको छ। प्रतिशेयर आम्दानी (EPS) पनि १६.९९ रुपैयाँबाट घटेर १६.२८ रुपैयाँमा पुगेको छ।
चुक्ता पूँजी ३८ अर्ब ११ करोड रुपैयाँ रहेको बैंकको रिजर्भमा २४ अर्ब १० करोड रुपैयाँ छ। वितरणयोग्य नाफा अघिल्लो वर्षको ५० करोड ६७ लाख रुपैयाँबाट ९६१.६० प्रतिशतले बढ्दै ५ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ।
बैंकको खराब कर्जा ४.१७ प्रतिशतबाट बढेर ४.८७ प्रतिशत पुगेको छ भने प्रतिशेयर नेटवर्थ १७७.६३ रुपैयाँ कायम भएको छ। बैंकले ४ खर्ब ११ अर्ब ७९ करोड रुपैयाँ कर्जा लगानी गरेर ५ खर्ब ५० अर्ब ६२ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ।